फेरि चुक्यो नेपाली काङ्ग्रेस

फेरि चुक्यो नेपाली काङ्ग्रेस


-वीरेन्द्रमणि पौडेल
नेपालको हकमा अन्तर्राष्ट्रिय राजनीतिक प्रमाणपत्र नेपाली काङ्ग्रेसले पाएको छ । मुलुकभित्र एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी ठूलो सावित भए पनि उसलाई लोकतन्त्रको ठेकेदार महाशक्तिशाली अमेरिकाले अहिलेसम्म आतङ्ककारी बिल्लाबाट मुक्त गरेको छैन । संविधानसभामा तेस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी एमालेका स्वर्गीय सादा नेता मनमोहन अधिकारीले सन् १९९३ अगस्ट ९ तारिखका दिन अमेरिकामा गएर एमालेको रातो झण्डा र हँसिया-हथौडाको चिह्न ट्रेडमार्क मात्रै भएको र आफूहरू पूर्णरूपले प्रजातन्त्रवादी भएको उद्घोष गरे । तर, अमेरिकीहरूले पत्याइदिएनन् । मनमोहनको कुरालाई हाँसेर टारिदिए । अमेरिकीहरूले त्यतिबेला रातो झण्डा र हँसिया-हथौडा हटाउन सक्छौ भन्ने प्रश्न गर्दा मनमोहनले यतिजाबो सामान्य कामका लागि लामो समय नलाग्ने बताएर नेपाल फर्किए । तर, नेपाल कम्युनिस्ट पार्टी एमालेले त्यो सर्त्कर्म आजसम्म गर्न सकेन वा चाहेन । त्यतिबेला झण्डा फेर्ने उद्घोष गर्ने मनमोहन अधिकारी बितेको पनि लामै समय बितिसक्यो । यो कोणबाट हर्ेदा एमालेले पनि विश्व लोकतान्त्रिक राजनीतिको प्रमाणपत्र पाएको छैन ।
दुई ठूला कम्युनिस्ट पार्टीहरूले विश्व राजनीतिक प्रमाणपत्र पाएकै छैनन् । सिर्फनेपाली काङ्ग्रेस पार्टीले पाएको छ तर दर्ुभाग्य ! यो बूढो पार्टी देश र जनताको सवालमा चुक्छ, पटक-पटक चुक्छ । ०४८ सालको संसदीय आमनिर्वाचनमा आफ्नै पार्टीका इमानदार नेता कृष्णप्रसाद भट्टराईलाई जानीजानी योजनाबद्ध ढङ्गले हराउने काम गरेको थियो । नेपाली काङ्ग्रेस पहिलोपटक त्यसरी चुकेको थियो । त्यो पहिलो चुकाइले नेपालको राजनीति गलत दिशातर्फ मोडियो । गिरिजाप्रसाद कोइराला शक्तिशाली निर्वाचित प्रधानमन्त्रीमात्रै थिएनन् । प्रभाव र भूमिकाका हिसाबले सिङ्गो नेपाली काङ्ग्रेस पार्टी थिए । उनले भारतसँग टनकपुर सन्धि गरेर आए तर सहमति मात्रै हो भनेर सम्पूर्ण नेपाली जनतालाई ढाँटे । गिरिजाप्रसाद अर्थात् नेपाली काङ्ग्रेसले ढाँटेको कुरा अदालतले सन्धि नै हो भनेपछि नेपाली जनताले थाहा पाए । यहाँनेर पनि नेपाली काङ्ग्रेस चुक्यो । ‘लाउडा एयर’ काण्डमा गिरिजाप्रसाद अर्थात् नेपाली काङ्ग्रेसलाई अख्तियारले बयान दिनका लागि बोलायो । तर, गिरिजाप्रसादले अख्तियार जान नामञ्जुर गरे र मजस्तो ‘महापुरुष’लाई बयान माग्ने त्यो अख्तियार को हो ? भन्ने चुनौती दिएर कानुनको खिल्ली उडाए । गिरिजाप्रसादको तर्फबाट कानुनको खिल्ली उडाइनु एकप्रकारले नेपाली काङ्ग्रेस चुकेकै थियो । सभापति भएका बखत गिरिजाप्रसाद एक्लै सिङ्गो काङ्ग्रेस पार्टी थिए । भन्नलाई प्रजातान्त्रिक पार्टी भनिन्थ्यो तर गिरिजाप्रसाद अधिनायकवादी थिए । उनको अगाडि परेर बोल्न पाइन्नथ्यो । बोल्दा उनलाई मन पर्ने कुरा मात्र बोल्नुपथ्र्यो । उनी एकप्रकारले श्रीपेचविनाका सन्की राजा थिए । हो गिरिजाबाबु, हुन्छ गिरिजाबाबु भन्नेहरू राजनीतिमा उनको कृपाले टिक्थे । असन्तुष्टि व्यक्त गर्नेहरू पाखा लगाइन्थे । अधिनायकवादी चरित्रकै कारण उनले लामो समयसँगै राजनीतिमा बिताएका गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई राजनीतिबाट पाखा लगाए । गान्धीवादी चिन्तन बोक्ने विद्वान् दीनबन्धु अर्याललाई गिरिजाप्रसादले पार्टीमा टिक्नै दिएनन् । पार्टीबाट बाहिरिन बाध्य पारे । जगन्नाथ आचार्य र कुवेर शर्माहरू पनि यसै मेसोमा पाखा लगाइए । सयौँ इमानदार नेता, कार्यकर्ता गिरिजाप्रसादको अधिनायकवादी जाँतोमा पिसिए । असल कार्यकर्ता पलायनलाई राष्ट्रिय नोक्सानी भन्न सकिन्छ भने नेपाली काङ्ग्रेसको यो अर्को चुकाइ थियो ।
विशेषताको आधारमा नाम र परिचय स्थापित भएको हुन्छ । गुणमा बस्छ, पखेटा छ, उड्छ र पानी निहुरिएर उठाउँछ, आकाशतिर फर्किएर घुटुक्क निल्छ । त्यसैले कुनै चरालाई ढुकुर भनिन्छ । चुस्ने आखिर रगतै हो । कचौरामा राखिदिएको रगत चुस्दैन । रगत चुस्न उसलाई छालाले ढाकेको जीवको शरीर नै चाहिन्छ । त्यसैले यसलाई लामखुट्टे भनिन्छ । न ढुकुरले आफ्नो विशेषता बदल्छ न त लामखुट्टेले । यदि ढुकुरले आफ्नो विशेषता बदलेर मानिस जसरी ठमठम हिँड्छ भने, पानी निहुरिएरै पिउँछ भने ढुकुर ढुकुर हुन सक्दैन र यसको अन्त्य हुन्छ । छालामा टेकेर सुँढ भित्र छिराएर रगत नचुसी लामखुट्टेले कचौराको रगतमा बसेर चुस्छु भन्न थाल्यो भने लामखुट्टे रगतमा डुबेर मर्छ । मरेको लामखुट्टेलाई लामखुट्टे भनिँदैन ।
नेपाली काङ्ग्रेस पार्टी जे-जस्तो रूप, रङ्ग र ढाँचामा चले पनि उसले बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रलाई आफ्नो आदर्श मानेर चलिरहेको थियो । स्वदेश र विदेशमा उसलाई यही विशेषताका कारण नेपाली काङ्ग्रेस पार्टी भन्थे र राजनीतिक दलको प्रमाणपत्र दिएका थिए । तर, काङ्ग्रेसले आफ्नो परिचय गणतन्त्रसँग साट्यो र काङ्ग्रेस काङ्ग्रेस नरहेको प्रमाण दियो । आफ्नो सक्कली परिचय उधारोमा बेचेर राष्ट्रपति पद सस्तैमा किन्न चाहेको थियो काङ्ग्रेसले । तर, प्रचण्डहरू राजा ज्ञानेन्द्रजस्ता झुक्किने खालका कच्चा खेलाडी थिएनन् । हाताहाती लिए र उधारोको अवधि लम्ब्याउँदै लगे र हिस्स पारिदिए । काङ्ग्रेसको आँटिला खालका अधिनायकवादी खम्बा गिरिजाप्रसाद भौतिक रूपले ढलेपछि विशेषता गुमाएको नयाँ गणतन्त्रवादी नेपाली काङ्ग्रेस ‘वल्लो घाट न पल्लो तीर’को अवस्थामा पुग्यो । नेपालको पुरानो पार्टी, लोकतन्त्र पक्षधर, मानव अधिकार र प्रेस स्वतन्त्रताको हिमायती पार्टी नेपाली काङ्ग्रेस हर्ेदाहर्ेर्दै आज संसद्मा दोस्रो हुन पुग्यो र अरू पार्टीको निगाहबिना सरकारमा पाइलै टेक्न नसक्ने अवस्थामा पुग्यो । यसरी नेपाली काङ्ग्रेस पार्टी पटक-पटक चुक्दै आएकोमा अहिले एकपटक फेरि नेपाल बन्द गरेर नराम्ररी चुक्यो ।
मानव अधिकारको रक्षामा प्रतिबद्धता व्यक्त गर्ने राजनीतिक दलले नेपाल बन्दजस्तो सर्वाधिक अलोकप्रिय र जनविरोधी काम गर्दैन तर नेपाली काङ्ग्रेसले होसै गुमाएर नेपाल बन्द गर्‍यो । चुक्दै-चुक्दै सबै खोलिएर एउटा लँगौटीमात्रै बाँकी थियो यसपटकको बन्दले बाँकी रहेको त्यो लँगौटी पनि फुस्कियो । नेपालका थुप्रै राजनीतिक दल जनतालाई आशा र आश्वासन बाँड्छन् । पूरा गर्दैनन् । ‘सपनामा करोड रुपैयाँ दिने भगवान्भन्दा शक्तिखोरका नाङ्गा चेपाङलाई कठ्याङ्ग्रिँदो जाडोमा एउटा स्विटर दिने व्यक्ति उच्च हुन्छ ।’ नेपाली काङ्ग्रेसले कम्तीमा नक्कली सपना बाँडेको थिएन । नेपाली जनतालाई प्रत्यक्ष आहत हुने काम गरेको थिएन । तर, यसपटक बन्द आयोजना गरेर आफ्नो बचेखुचेको इज्जत पनि रित्यायो ।
नेपाली काङ्ग्रेस चितवनका कार्यकर्ता शिव पौडेललाई बन्दी जीवन व्यतित गरिरहेको अवस्थामा जेलभित्रै आक्रमण भयो । उपचारका क्रममा उनको ज्यान गयो । जेलभित्रको कैदीमाथि आक्रमण हुनु ज्यादै निन्दनीय कार्य हो । सबै नेपालीले निन्दा गर्नुपर्छ । दोषीलाई कानुनी कारबाही हुनुपर्छ । अर्कोपटक यस्तो गल्ती कसैले नदोहोर्‍याओस् भन्नाका खातिर दोषी प्रमाणित सुरक्षाकर्मीहरूलाई बर्खास्तै गर्नुपर्छ । मृतकका परिवारलाई उचित क्षतिपर्ूर्ति दिनुपर्छ । कानुन मान्न हिचकिचाउनेहरूलाई कानुनको शासनका पक्षधरले कानुनको पालना गर्न लगाउने हो । आफैं गैरकानुनी काम गर्ने वा अस्वाभाविक बाटो हिँड्ने होइन । नेपाली काङ्ग्रेस लाखौंलाख नेपाली जनताको आस्थाको धरोहर हो । यो लडखडाउँदा र गलत बाटो हिँड्दा देशलाई माया गर्ने र सक्कली लोकतन्त्रवादीहरूको छाती चिरिन्छ । नेपाली काङ्ग्रेस अब नचुकोस् भन्नेहरू धेरै छन् । काङ्ग्रेसले गर्नुपर्ने काम थुप्रै छ । दुई-चार रुपैयाँ कमाउन सकिने आशामा साउदी अरेबिया पुगेका युवाहरूमध्ये १५१ जनाको शव त्यही देशका विभिन्न अस्पतालमा बेवारिसे अबस्थामा छन् । ती लासलाई नेपाल ल्याउन काङ्ग्रेसले पहल गर्नुपर्छ । रियादस्थित नेपाली राजदूतावासको आँगनमा बलात्कारपश्चात् फ्याँकिएकी नेपाली चेलीलाई न्याय दिलाउन पहल गर्नुपर्छ । काङ्ग्रेसका केन्द्रीय नेताहरू सानेपामा आएर एउटाले अर्काको मुख हेरेर फर्किने मात्रै होइन, पार्टी सरकारमा नभए पनि जनता र राष्ट्रको हितमा बोल्नुपर्छ, लोकतान्त्रिक आचरणको परिधिभित्र रहेर लगातार बोल्नुपर्छ । लोकतान्त्रिक परिपाटीमा रमाउन चाहना राख्नेहरू आफ्नो विचार र सिद्धान्तमा अडिक रहन सक्नुपर्छ । धेरैपटक चुक्यो काङ्ग्रेस । नेपाल बन्दको आह्वान गरेर फेरि एकपटक गजबैले चुक्यो । कामना गरौँ अब कहिल्यै नचुकोस् । जनहितमा काम गर्दै काङ्ग्रेस पार्टीले गुमाएको छवि प्राप्त गर्दै जाओस् । सफलता प्राप्तिका लागि सभापति सुशील कोइरालालाई शुभकामना !