गौरको वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको रेणु यादवको प्रष्टोक्ति

गौरको वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको रेणु यादवको प्रष्टोक्ति



भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको स्पष्ट पारेकी छन् । एक विज्ञप्ति जारी गर्दै उनले नागरिकमा भ्रम पर्न गएकोमा दुःख व्यक्त गरेकी छन् ।

आफू आगामी दिनमा सार्वजनिक अभिव्यक्ति दिनमा सचेत रहने उल्लेख गर्दै उनले आफ्नो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको जनाएकी छन् । त्यसप्रति दुःख प्रकट गर्दै मन्त्री यादवले आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्नका निम्ति नभएको बताएकी छन् । वक्तव्यलाई अत्तिरञ्चित नगर्न पनि उनले विज्ञप्तिमार्फत अनुरोध गरेकी छन् ।

मधेस जनविद्रोह, माओवादी जनयुद्ध र जनआन्दोलनको सिलसिलामा आफ्नो ज्यानको आहूति दिने वीर सहिदको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेलाई ‘बलिदानी दिवस’ का रुपमा मनाउँदै आएको मन्त्री यादवको भनाइ छ । जनता समाजवादी पार्टीको भातृसङ्गठन समाजवादी युवा सङ्घले रौतहटस्थित गौरमा श्रद्धाञ्जलीसभाको आयोजना गरेको थियो ।

सो सभामा दिइएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन भएको उनको भनाइ छ । शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढङ्गले अपव्याख्या गरेको विज्ञप्तिमा मन्त्री यादवले उल्लेख गरेकी छन् ।