क्याम्पस प्रशासनको ‘मनोमानी’विरुद्ध दमक बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित

क्याम्पस प्रशासनको ‘मनोमानी’विरुद्ध दमक बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित


त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस दमक बहुमुखी क्याम्पस झापाका विद्यार्थी आन्दोलित भएको छन् । गरिब तथा जेहेन्दार विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति दुई वर्षदेखि क्याम्पसले नदिएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

क्याम्पस प्रशासनले मनोमानी ढंगले क्याम्पस चलाएको भन्दै नेकपा (एस)को अनेरास्ववियु, राप्रपाको राप्रविसंघ र विप्लवका नेकपाको अखिल क्रान्तिकारीले चार दिनयता क्याम्पसमा आन्दोलन गर्दै आएको छ । विद्यार्थी संगठनले क्याम्पसमा कालो झण्डा राख्ने, नाराजुलुसलगायतका कार्यक्रम गरिरहेको विद्यार्थी नेता संजय राईले बताए । उनका अनुसार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी लगाउने कार्यक्रमसमेत छ ।

समयमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नभएर खाली भएको मौका छोप्दै क्याम्पस प्रशासनले छात्रवृत्ति रकम वितरणमा रोक लगाएको स्ववियु दमक क्याम्पसका निवर्तमान कार्यवाहक अध्यक्ष रोशन भण्डारीले बताए । ‘अन्तिम पटक स्ववियुको पहलमा बाँडिएको थियो । त्यसपछि बन्द छ । यो क्याम्पस प्रशासनको लापरबाही हो । क्याम्पस प्रशासनले कोरोनाले बाँडिन भन्छ,’ उनी भन्छन्, ‘विद्यार्थीबाट शुल्क उठाउन कोरोना हुने । छात्रवृत्ति वितरणमा कोरोना लाग्ने ?’

उनका अनुसार स्वतन्त्र विद्यार्थी युनियन क्रियाशील हुँदा क्याम्पस प्रशासनले विद्यार्थी कल्याण कोषबाट ५४ लाख रुपैयाँ कागज गरेर सापटी लगेको छ, तर हालसम्म प्रशासनले त्यो कोषमा जम्मा गरेको छैन ।

‘विद्यार्थीले तिरेको शुल्कबाट अहिले पनि विद्यार्थी कल्याण कोषमा गइरहेको छ । त्रिविको नियमावलीमा पनि छात्रवृत्ति दिनुपर्ने अनिवार्य छ । तर, क्याम्पसले त्रिविको नियमावली नै मिच्यो,’ उनी भन्छन्, ‘यो क्याम्पसमा कुनै महँगा कलेज पढ्न सक्ने विद्यार्थी पढ्दैनन् । वर्षभरि खेती गरेर आएको पैसाले पढाउनेका छोराछोरी पढ्छन् । यहाँ पढाएर अन्य क्याम्पसमा लगानी गर्नेले कसरी बुझ्छन् यो पीडा ? समस्या समाधान नगर्ने भए क्याम्पस प्रमुखले राजीनामा दिनुपर्छ ।’

क्याम्पसमा दुई वर्षअघि स्ववियुको पहलमा दातृ निकाय आइओएमबाट बस ल्याइएको थियो । तर, बस क्याम्पसले हालसम्म सञ्चालन गर्न नसक्दा विद्यार्थीले समस्या झेल्नुपरेको स्ववियुका निवर्तमान कोषाध्यक्ष सुनिल धिमाल बताउँछन् । ‘सार्वजनिक बस रोक्दैनन् । टाढाटाढाबाट आउने विद्यार्थीलाई समस्या हुन्छ,’ उनी भन्छन्, ‘क्याम्पस प्रशासनले बस चलाउँदैन ।’

क्याम्पस प्रशासनले बस कर्मचारी र प्राध्यापकको पिकनिकका लागि मात्र प्रयोग गर्ने गरेको उनी बताउँछन् । ‘क्याम्पसले बस मर्मतका लागि मासिक खर्च गरिरहेको छ । पिकनिकमा पनि लगेर गएको छ,’ उनी भन्छन्,‘विद्यार्थी बोक्दैन । विद्यार्थी बोक्दा यहाँका सरहरूको लगानी रहेको नजिकको निजी क्याम्पसमा विद्यार्थी घट्ने चिन्ता छ, उहाँहरूलाई । निजी क्याम्पसका बस विद्यार्थीको घर-घरमा पुग्छ । हाम्रो छैन ।’

यद्यपि क्याम्पस प्रशासनले भने एउटा मात्र बस भएकाले सञ्चालन गर्न नसकिएको जनाएको छ । ‘विद्यार्थी धेरै छन् । एउटा बसले धान्न सक्दैन । चारतिर जान पनि सक्दैन,’ क्याम्पस प्रमुख डा। नेत्रबहादुर बुढाथोकीले भने, ‘त्यसकारण बस चलाउन सकेका छैनौँ ।’

क्याम्पस प्रमुख बुढाथोकीले कोरोनाका कारण दुई वर्षदेखि छात्रवृत्ति बाँड्न नसकिएको बताए । ‘विद्यार्थीको आन्दोलनलाई वार्ताको माध्यमबाट समाधान गर्छौँ,’ उनले भने ।