आज भारतमा ७३औँ गणतन्त्र दिवस मनाइँदै

आज भारतमा ७३औँ गणतन्त्र दिवस मनाइँदै


राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भारतलाई शुभकामना

छिमेकी मित्रराष्ट्र भारतका लागि आजको दिन एतिहासिक दिन हो । भारतले आज ७३औँ गणतन्त्र दिवस मनाइरहेको छ । आजकै दिनदेखि भारतको संविधान कार्यान्वयनमा आएको थियो ।

भारतले ब्रिटीश सम्राज्यबाट स्वतन्त्रत भएको उपलक्ष्यमा हरेक १५ अगस्टमा स्वतन्त्र दिवस मनाउँछ भने संविधान लागू भएको दिन अर्थात् २६ जनवरीमा गणतन्त्र दिवस मनाउँछ । सन् १९५० देखि हरेक वर्ष विभिन्न सांस्कृतिक र सैन्य झाँकीसहित २६ जनवरीमा भारतले गणतन्त्र दिवस मनाउँदै आएको छ ।

सन् १९४७ मा भारत स्वतन्त्र भएको थियो । स्वतन्त्र भएको केही दिनमै अर्थात २९ अगस्टमा स्वतन्त्र भारतका लागि संविधानको मस्यौदा तयार गर्न एउटा समिति गठन भएको थियो । सोही वर्षको ४ नोभेम्बरमा समितिले संविधानको मस्यौदा तयार पारेर संविधान सभामा पेस गरेको थियो । संविधानलाई अन्तिम रुप दिन झन्डै दुई वर्षसम्म संविधान सभाको अनगिन्ती बैठक बसेको थियो ।

मस्यौदमा वृहत छलफल र केही परिमार्जनपछि सन् १९५० को २४ जनवरीमा संविधान सभाका ३०८ सदस्यहरुले सम्झौताको एउटा मूल पाठमा हस्ताक्षर गरेका थिए । मूल पाठ अंग्रेजी र नेपाली दुई भाषामा थियो । त्यसको दुई दिनपछि सो संविधान कार्यन्वयनमा आएको थियो । सोही दिन डा. राजेन्द्रप्रसादले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो कार्यकाल सुरु गर्नुभएको थियो ।

सन् १९५० मा औपचारिक रुपमा ग्रहण गरिएको भारतको संविधानले व्रिटीश उपनिवशेकालीन गभर्मेन्ट अफ इन्डिया एक्ट, (सन् १९३५)लाई औपचारिक रुपमा विस्थापित गरेको थियो । संविधान कार्यान्वयनसँगै भारत संक्रमणकालबाट सार्वभौमसत्ता सम्पन्न गणतान्त्रिक देश बनेको थियो ।

राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको शुभकामना

भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उहाँको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।

भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा ‘आजादीका अमृत महोत्सव’का रूपमा मनाइन लागेकामा राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज पठाउनुभएको सन्देशमा उहाँको सुस्वास्थ्य र सुखको कामनाका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्नुभएको छ । सन्देशमा प्रधानमन्त्री देउवाले सामाजिक, आर्थिक विकासमा भारतले हासिल गरेको उल्लेखनीय उपलब्धि तथा प्रविधि र नवप्रवर्तनमा गरेको प्रभावकारी प्रगतिको प्रशंसा गर्नुभएको छ । प्रधानमन्त्रीले आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

त्यसैगरी परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्ना भारतीय समकक्षी डा एस जयशङ्करलाई पठाउनुभएको सन्देशमा उहाँका साथै भारतका जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । मन्त्री खड्काले दुई देशबीचको न्यानो र मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास पनि सन्देशमा व्यक्त गर्नुभएको छ ।