चुनावी प्रतिष्पर्धाको विरुद्ध प्रचण्ड !

चुनावी प्रतिष्पर्धाको विरुद्ध प्रचण्ड !



माओवादी केन्द्रले आफ्नो विधानमा पार्टीको आन्तरिक नेतृत्व चयनका निम्ति प्रतिष्पर्धा गर्न पाउने व्यवस्था गरेको भए पनि पार्टीअध्यक्ष प्रचण्ड उक्त प्रावधानको विरुद्ध देखिएका छन् । गत असोजमा सम्पन्न अखिल क्रान्तिकारीको बाइसौँ अधिवेशनमा प्रतिनिधिहरूले चुनावी प्रतिष्पर्धाको माग गरेका थिए । तर प्रचण्डले आन्तरिक प्रतिष्पर्धालाई रोक लगाउँदै पञ्चासिंह महर्जनलाई अध्यक्ष तोकिदिएका थिए ।

केहीअघि चितवनमा आयोजित प्रेस सेण्टरको राष्ट्रिय सम्मेलनमा पनि विष्णु सापकोटा जुगललाई प्रचण्ड स्वयम्ले अध्यक्ष तोकिदिएका हुन् । गत भदौ महिनामा माओवादी केन्द्रको चर्चित तथा विवादास्पद भातृसङ्गठन वाइसिएलको भेला भएको थियो । उक्त सङ्गठनको नेतृत्व लिन आकाङ्क्षीहरू धेरै अग्रसर भएका थिए, तर प्रचण्डले सुमन देवकोटालाई संयोजक र सुवोध सेर्पालीलाई सह-संयोजक तोक्ने काम गरे । प्रचण्डको यस्तो व्यवहारप्रति धेरैको असन्तुष्टि भए पनि त्यो प्रकट हुन सकेन ।

पार्टीविधानमा आन्तरिक प्रतिष्पर्धालाई खुला गरिएको भए पनि चुनावले पार्टी सङ्गठनलाई कमजोर बनाउँछ भन्ने विश्वास प्रचण्डमा रहेको देखिन्छ । त्यसैले उनी प्रतिष्पर्धात्मक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने अवधारणाको विरुद्ध रहँदै आएका छन् । केन्द्रीय पदाधिकारी चयन पनि चुनावी प्रक्रियाबाट हुने कुरामा शङ्का छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवलगायतका पदहरूको पूर्ति प्रचण्डले कसरी गराउने हुन् यो चासो र प्रतीक्षाको विषय बनेको छ ।