अपाङ्गता भएका भूपू सैनिकहरूलाई गणतन्त्र दिवसको अवसरमा सहयोग-सामग्री प्रदान

अपाङ्गता भएका भूपू सैनिकहरूलाई गणतन्त्र दिवसको अवसरमा सहयोग-सामग्री प्रदान



भारतको ७३औँ गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासको रक्षा प्रभागले ‘आजादीका अमृत महोत्सव’अन्तर्गतको कार्यक्रमका रूपमा धरानस्थित पेन्सन वितरण कार्यालयको तत्वावधानमा भारतीय सेना तथा आसाम राइफल्सका भूपू सैनिकका लागि धरानमा ‘Mobility Aid Distribution Camp’ को आयोजना गऱ्यो । यो शिविर भारतीय सेनाका भूपू सैनिकहरुको कल्याणका लागि दूतावासको रक्षा प्रभागले चालेका थुप्रै प्रयासहरुमध्येकै एक भएको बताइएको छ ।

यस शिविरमा ३२ जना दिव्यङ्गजन (अपाङ्गता भएका) भूपू तथा तिनका परिवारका सदस्यहरूलाई ह्वीलचेयर तथा वैसाखी प्रदान गरिएको थियो । उमेरसम्बन्धी अशक्तता/दुर्बलता र अन्य स्वास्थ्य समस्याबाट पीडित भूपू सैनिक तथा तिनका परिवारका सदस्यहरूलाई पेन्सन डक्युमेन्टेसन क्याम्प तथा ऱ्यालीमार्फत पहिचान गरिएको थियो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थोपेडिक्स विभागले स्वास्थ्य परीक्षणमा सहयोग गरेको थियो । यस किसिमको मोबिलिटी एडले पीडितहरूको शारीरिक क्रियाकलापमा सघाउँदै तिनलाई समाजसँग जोड्न मद्दत गर्ने विश्वास लिइएको छ ।

महामारीको समयमा आफ्ना भूपू सैनिक तथा समाजको हित हुने काम गर्न तथा उनीहरूको समस्या निराकरण गर्न दूतावास (रक्षा प्रभाग)ले विविध उपाय अपनाइरहेको दाबी गरिएको छ । समयमै पेन्सनको भुक्तानी, भर्चुअल आइडेन्टिफिकेसन, डिजिटलाइजेसन, रक्तदान शिविर, रासन वितरण, मास्क तथा स्यानिटाइजरको वितरण, स्थानीय प्रशासनलाई सहयोग, ह्वीलचेयरको वितरण, धेरै भन्दा धेरै क्षेत्रहरु समेट्न नयाँ डक्युमेन्टेसन ऱ्याली जस्ता विभिन्न कार्य प्रभागले गर्दै आएको छ ।