राष्ट्रिय सभामा ७ सिट गुमाउँदा पनि एमाले नै ठूलो दल

राष्ट्रिय सभामा ७ सिट गुमाउँदा पनि एमाले नै ठूलो दल


राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा एक सिटबाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ । पदावधि सकिन लागेका १९ राष्ट्रिय सभा सदस्यका लागि सात वटा प्रदेशमा निर्वाचन भएको थियो ।

निर्वाचन भएका १९ सदस्य मध्ये एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४∕४ र कांग्रेसका ३ सदस्यको आगामी २० फागुनमा पदावधि सकिँदैछ ।

आजको निर्वाचनमा नेकपा एमालेले सकिन लागेको आफ्नो कोटाको ८ मध्ये १ सिट मात्र जोगाएको छ भने बाँकी ७ सिट गुमाएको छ । एमालेले गुमाएको सात सिट गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पाएका छन् । यति हुँदा पनि राष्ट्रिय सभाको ठूलो दल भने एमाले नै कायम रहने छ ।

राष्ट्रिय सभामा अब कांग्रेसले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले १∕१ र जसपाले एक सिट बढाएका छन् भने राष्ट्रिय जनमोर्चाले पनि एक सिट पाएको छ । तर पनि राष्ट्रिय सभाको ठूलो दल भने एमाले नै रहने छ ।

राष्ट्रिय सभामा एमालेका २४ सिट छन् । आजको मतपरिणाम पछि ७ सिट गुमाउँदा पनि एमालेको १७ सिट हुन जान्छ । राष्ट्रिय सभामा दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र हो । आजको जितसँगै उसको १५ सिट पुगेको छ भने कांग्रेसको १० सिट पुगेको छ । त्यस्तै, एकीकृत समाजवादीको ८ र जसपाको ३ सिट तथा राजमोको एक सिट हुनेछ ।