योगेशले प्रायश्चित गरुन्, आलेले निरन्तरता दिउन् !

योगेशले प्रायश्चित गरुन्, आलेले निरन्तरता दिउन् !


पैसाका लागि राष्ट्रका महत्वपूर्ण धरोहरहरू विनिमय गर्दै जाने हो भने विवेक गुमाउँदै गरेका नेतृत्वलाई आखिर जनताले किन निर्वाचित गर्नु ?
  • श्याम क्षेत्री, जापान

नारायणहिटी सङ्ग्रहालयमा क्यान्टिन सञ्चालन मिलोमतोमा भएको ठहर गरी सरकारी प्रतिवेदन सार्वजनिक भएको सन्दर्भ चर्चामा रहेकै बेला पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न सरकारी छानबिन समितिले सिफारिस गरेको छ । सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा व्यापार प्रयोजनका लागि सम्झौता हुनु गलत भएको ठहर गर्दै समितिले मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ । साथै उक्त सम्झौता खारेज गर्न पनि सुझाव दिइएको छ ।

हालका मन्त्री प्रेम आलेको निर्देशनमा गठित समितिको उक्त सुझावले अघिल्लो सरकारका पर्यटनमन्त्री योगेश भट्टराईको कार्यकालमा भएका गलत कार्यको उजागर गरिदिएको छ । तीर्थयात्रीलाई सर्वसुलभ रूपमा खान र बस्न सहज होस् भनेर भारत सरकारले बनाइदिएको ‘नेपाल–भारत मैत्री धर्मशालामा ‘होटल आनन्द’ सञ्चालन गर्न दिँदासमेत ठेक्का सम्झौतामै मिलेमतो गरेको समेत प्रतिवेदनले देखाएको छ ।

नारायणहिटीमा जस्तै धर्मशाला सम्झौतामा समेत बतास समूहसँग मात्रै मिल्ने मापदण्ड बनाएर ठेक्का दिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । सम्झौताको मापदण्ड नै बतासलाई दिने गरी कायम गरेपछि ‘सेटिङ’मा ठेक्का दिइएको समितिले औंल्याएको छ । यसअघि मन्त्री आलेको चरित्र जे-जस्तो रहेको भए पनि अहिले भने उनी जनहितका कार्यमा केन्द्रित रहेको चर्चा हुन थालेको छ । मन्त्री आलेले जनतालाई साक्षी राख्दै यस्ता कर्मलाई निरन्तरता दिन सकुन् भन्ने आमचाहना मुखरित भइरहेको छ ।

त्यसो त उनको चरित्रलाई लिएर पूर्वमन्त्री योगेश भट्टराईले तमाम आरोप लगाएका थिए । त्यसपछि मन्त्री आलेले पनि सार्वजनिक माध्यमबाटै योगेशलाई चुनौती दिए । पूर्वमन्त्री र बहालवाला मन्त्रीबीचको जुहारी सञ्चारमाध्यममा चलिरहँदा सार्वजनिक भएको प्रतिवेदनले मन्त्री आलेको नियत राम्रै रहेको दर्शाइरहेको छ । नबिराउनु नडराउनु भन्ने नेपाली उखान यतिबेला मन्त्री आलेका लागि सार्थक हुन पुगेको छ । सामान्य नागरिकको नजरमा समेत मन्त्री आले जनहितकारी हुन पुगेका छन् । उनको यो छबि कति टिक्छ वा टिक्दैन प्रतीक्षाकै विषय भएको छ ।

सवाल उठ्न सक्छ- मन्त्री योगेशका कार्यकालमा राम्रा काम पनि त भएका छन् । ती सबैलाई पन्छाएर दुई ठेक्कासम्बन्धी विवादका विषयलाई मात्र आधार बनाइनु पूर्वाग्रह हो । अवश्य ! सत्यका नाममा सपथ खाएका मन्त्रीहरूले सत्यको पक्षपात गर्नुपर्ने हुन्छ, तर यहाँ सपथकै उपेक्षा वा अवहेलना गरिएकोले उनले गरेका राम्रा काम छोपिन पुगेका हुन् । त्यसले पक्कै पनि उनलाई पाठ सिकाएको हुनुपर्छ । राम्रै राजनीतिक पृष्ठभूमिबाट आएका पूर्वमन्त्री भट्टराईको अबको राजनैतिक यात्रा के हुने ? यसबारे चिन्ता उठ्नु स्वभाविक पनि हो ।

महाकाली सन्धीपश्चात विवेकको उच्च चेतसँगै उदाएका एक युवा पद र प्रतिष्ठा प्राप्त गरेसँगै यति प्रलोभनमा पर्लान् भन्ने नागरिकले शायदै सोचेको थिए । सामान्य बालकले पनि बुझ्न सक्ने विषयमा समाजलाई गुमराहमा पारेर राष्ट्रका धरोहर निहीत स्वार्थका लागि जथाभावी रूपमा निजी व्यापारीको पोल्टामा पार्न खोज्नु पक्कै पनि उचित होइन ।

योगेश भट्टराईले मिडियासँगको कुराकानीमा ‘सङ्ग्रहालयमा क्यान्टिन चलाउन नदिनु भन्ने कुन अनुसन्धानले भनेको छ ?’ भनी प्रतिप्रश्न गरेका छन् । सामान्य विवेकले पनि देख्ने कुरालाई अनुसन्धानको हवाला दिएर चुनौती दिन खोज्नु आफैमा शर्मनाक विषय हो । पैसाका लागि राष्ट्रका महत्वपूर्ण धरोहरहरू विनिमय गर्दै जाने हो भने विवेक गुमाउँदै गरेका नेतृत्वलाई आखिर जनताले किन निर्वाचित गर्नु ?

एउटा निर्वाचित जनप्रतिनिधिले पक्कै पनि के सही वा के गलत छुट्टाउन सक्नुपर्छ । यतिबेला उठेको सवाल नै यही हो । सामान्य विवेकलाई समेत अघिल्लो सरकारले बन्धकमा राखिदिएको उजागर हुन पुग्दा मन्त्री आलेका निर्णय एकपछि अर्को गर्दै प्रशंसनीय बन्न पुगेका हुन् । उनले कुनै चामत्कारिक काम गरेका भने होइनन् भनेर नागरिकले बुझेका पनि छन् ।

विगत जे-जस्तो भए पनि यतिबेला सरकारमा मन्त्री रहेका प्रेम आले मगरले चालेका कदम एकपछि एक गर्दै सही देखिँदै गएका छन् । मन्त्री आलेले आफ्ना कामको बयान आफ्नै मुखले गर्नुनपर्ने भएको छ । नेपाली जनताले खोजेको नेता यस्तै हुन् भन्ने सन्देश उनको कार्यशैलीबाट प्रवाहित भइरहेको छ । सहीलाई सही र गलतलाई गलत मानेर भविष्यका लागि सही नजीर स्थापित गरिदिन सकियोस्, आलेको कार्यशैलीले यही अपेक्षा उजिल्याएको छ ।

यतिबेला नारायणहिटी सङ्ग्रहालय र पशुपति धर्मशाला प्रकरणले सरकारप्रति नागरिकमा निभ्नै लागेको आशालाई सञ्चार गरिदिएको स्वीकार गर्नैपर्छ । मन्त्री आलेको कदमलाई नागरिक समाज, मिडिया, उद्योग वाणिज्य जगतले गुण र दोषका आधारमा सर्मथन गर्दै जानुपर्छ । किनकि देश यतिबेला स्वार्थी समुहको चङ्गुलमा जिकडिन पुगेको छ, त्यस्ता समुहलाई मन्त्री आलेका कदमले आघात पुगेको छ । पूर्वमन्त्री योगेशजीले पनि त्यसरी नै बुझ्दा उचित हुनेछ ।

०५१ सालअघि आफू अरु नै दलमा आवद्ध रहेको र नौमहिने मनमोहन अधिकारीको कार्यकालपछि एमालेमा समाहित हुन आएको भनी मन्त्री आलेले त स्वीकार गरिसकेका छन् । आखिर राम्रो काम गर्नुपर्छ भन्ने प्रेरणा त उनै योगशको पार्टीबाट नै आलेले लिएका रहेछन् । त्यसैले योगेशल मन्त्री आलेका यतिबेलाका कदममा आपत्ति जनाउनुको सट्टा बाध्यता र विवशतावश गरिएका कार्यको प्रायश्चित गर्दै आलेलाई सघाउन सकुन् ! मन्त्री आलेले पनि योगेशको कार्यकालमा भएका राम्रा कामलाई जश दिँदै अधुरा कामलाई अघि बढाउन सकुन् !! परदेशी नेपालीका तर्फबाट दुवैलाई शुभकामना !