‘माओवादी’को अधिवेशन फगत औपचारिक मञ्चन !

‘माओवादी’को अधिवेशन फगत औपचारिक मञ्चन !


माओवादीको आठौँ महाधिवेशन र श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञका झाँकीहरू उस्तै-उस्तै देखिए । महाधिवेशनको पुराणवाचकको भूमिकामा अध्यक्ष प्रचण्ड देखा परे भने श्रवण गर्ने भक्तहरूको भीडमा महाधिवेशन प्रतिनिधिहरू । भजन-कीर्तन पनि राम्रै भयो महाधिवेशनमा ।
  • ई. महेन्द्र पराजुली

२०७८ मङ्सिर २५ गते प्रदेशहरूको सम्मेलनको औपचारिक रूपमा भर्चुअल उद्घाटन गर्दै ने.क.पा. (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले ने.क.पा. (एमाले) को हालै सम्पन्न दशौँ महाधिवेशनप्रति तिखो व्यङ्ग्य गर्दै ‘तपाईं-हामीले एमाले नामको महाधिवेशन पनि देख्यौँ, मैले त पञ्चऱ्यालीभन्दा अरू देखिनँ । त्यहाँ न कुनै विचार, न कुनै बहस, न कुनै विधि, न कुनै पद्धति ! निरङ्कुशता, विचारशून्यता र विचारहीनताको अधिवेशनका रूपमा गयो त्यो, दुनियाँले यस्तै देख्यो’ भन्दै एमाले महाधिवेशनको खिल्ली उडाउँदै हुर्मत नै लिए । माओको १२९औँ जन्मदिन डिसेम्बर २६ तारिखको साइत जुराएर पुस ११ मा उद्घाटन गरी १७ मा समापन गरेको माओवादीको आफ्नै आठौँ महाधिवेशन पनि ने.क.पा. (एमाले) को दशौँ महाधिवेशनभन्दा खासै भिन्न र फरक देखिएन । केही मुद्दामा बाहेक हुबहु फोटोकपी नै थियो भन्छन् राजनीतिक विश्लेषकहरू । ने.क.पा. (एमाले)का अध्यक्ष कमरेड केपी शर्मा ओलीले पञ्चऱ्यालीको अभ्यास गरे भने ने.क.पा. माओवादी (केन्द्र) का अध्यक्ष प्रचण्डले त गाउँफर्के चरित्र देखाएर अर्को मानक पनि थप गरे, आफ्नो महाधिवेशनमा ।

पुस ११-१३ सम्म निर्धारण गरिएको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्मेलन सुरु हुने अघिल्लो दिन मात्र आठौँ राष्ट्रिय महाधिवेशनमा रुपान्तरण गऱ्यो माओवादीले । पुस ११-१५ सम्मका लागि तय गरिएको महाधिवेशन लम्बिएर सातौँ दिनमा समापन भयो । २०६९ माघमा हेटौँडामा सम्पन्न ने.क.पा. (माओवादी केन्द्र) को सातौं राष्ट्रिय महाधिवेशनसम्म माओवादीका नेता-कार्यकर्तामा ‘विद्रोहको राप र ताप’ बाँकी नै थियो । सातौँ महाधिवेशनको त्यो ‘उन्माद र उमङ्ग अनि रौनक’ आठौँमा भने सुस्ताएको देखियो । २०६४ को पहिलो संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएसँगै माओवादीमा जितको दम्भ सुरु भयो । युद्धको धङ्धङी बाँकी नै थियो । माओवादीले पहिलो पटक सरकारको नेतृत्व गर्ने अवसर पाएपछि उसको यात्रा ओह्रालो लाग्न थाल्यो । त्यसपछि उसको धरातल क्रमशः खस्कँदै गयो । टुटफुटको पीडा भोग्दै पछिल्लो समय आकारको हिसाबले खुम्चिँदै गएको मात्र होइन, राजनीतिक शक्तिका हिसाबले पनि कमजोर हुँदै गएको छ ने.क.पा. (माओवादी केन्द्र) । अब २०६४ को अवस्थामा पुनरागमन गर्न असम्भव त छ नै, उसलाई बचेखुचेको आफ्नो शाख जोगाउन पनि अन्य पार्टीको भर पर्नुपर्ने, बैशाखी टेक्नुपर्ने अवस्था सिर्जना भएको छ ।

राज्यको सामाजिक तथा आर्थिक संचरना बदल्दै श्रमजीवी किसान र मजदुरहरूको जीवनस्तर उकास्ने आकर्षक नाराको बिगुल फुक्दै बिद्रोहमा भाग लिन सर्वसाधारण विशेषगरी तल्लो वर्गका सोझा जनतालाई रुमानी सपना बाँडेको माओवादीको राजनीतिक यात्रा चाँडै नै १०वर्षे विद्रोहमा परिणत भयो । १०वर्षे विद्रोहका दिनमा अङ्गभङ्ग भएका कतिपय घाइते अझै पनि अपाङ्गतायुक्त कष्टकर जीवन जिउन बाध्य छन् भने लाखौँ नेपाली बिस्थापित हुँदा हजारौँले ज्यान गुमाएका छन् । बन्दुकको नालबाट परिवर्तन असम्भव भएपछि माओवादी संसदीय राजनीतिमा फर्कन बाध्य भयो । ने.क.पा. (माओवादी केन्द्र)लाई आरोप लाग्ने गरेको छ, उसले न आफ्नो धरातल टेक्यो न त आकाश नै चुम्न सक्यो । बदलामा आफ्नो सिद्धान्त मात्रै नभएर वर्गलाई समेत भुल्दै धरातल नै छोड्दै गयो । त्यति मात्र होइन, आफूले उछालेका नारालाई पनि तिलाञ्जली दिँदै गयो । उसले सशस्त्र द्वन्द्वका बेला उठाएका धेरैजसो एजेण्डा स्थापित भए पनि त्यसले स्वामित्व भने लिन सकेन ।

माओवादीको आठौँ महाधिवेशन र श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञका झाँकीहरू उस्तै-उस्तै देखिए । महाधिवेशनको पुराणवाचकको भूमिकामा अध्यक्ष प्रचण्ड देखा परे भने श्रवण गर्ने भक्तहरूको भीडमा महाधिवेशन प्रतिनिधिहरू । भजन-कीर्तन पनि राम्रै भयो महाधिवेशनमा । ‘रोमान्टिक सपना’ बुन्ने र देखाउने बहुप्रतिभा भएका विशिष्ट कालिगढ प्रचण्ड क्रमभङ्ग गर्न पनि पारङ्गत मानिन्छन् । चटक देखाउन त माहिरै छन् । उनको भनाइ र गराइमा एकरूपता भेटिँदैन, बिहान, दिउँसो र बेलुका छुट्टाछुट्टै हुन्छन् । नाराको मार्केटिङ गर्न खप्पिस उनले महाधिवेशनमा प्रस्तुत गरेको ४५ पृष्ठ लामो राजनीतिक दस्तावेजमा आगामी बाटोका रूपमा ‘तीन स’- ‘सडक’, ‘सदन’ र ‘सरकार’को मोर्चाबाट अघि बढ्ने उल्लेख गर्दै ‘आज राष्ट्रिय राजनीतिदेखि कम्युनिष्ट आन्दोलन र पार्टीमा समेत देखापरेका समस्याहरूको प्रमुख र चुरो कारण विचारको विकास र स्पष्टताको अभाव हो भन्ने तथ्यलाई आत्मसात गर्नु पर्दछ’ भनि आत्मालोचना गर्दै विगतका कमी-कमजोरी, गल्ती अनि आफूले गरेको बेइमानीको पनि स्वीकार गरेका छन् ।

प्रचण्डले प्रस्तुत गरेको ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक दस्तावेज अपूरो मात्र होइन कार्यान्वयन हुनेमा समेत शङ्का व्यक्त गर्दै दस्तावेजमा समावेश गरिएका कतिपय भावी योजनामाथि नै प्रश्न उठाए महाधिवेशन प्रतिनिधिले । नेताहरूले आम्दानीको स्रोत खुलाउनुपर्ने, अपारदर्शी रूपमा सम्पत्ति आर्जन गर्नेमाथि छानबिन गरि उनीहरूलाई कारवाहीको दायरामा ल्याउनुपर्ने जस्ता मागसमेत उठे पनि यो मुद्दालाई सम्बोधन गरिएन । प्रचण्डको आलिशान जीवनशैलीमाथि पनि प्रश्न उठाए प्रतिनिधिले । २६ वर्षदेखि अनवरत रूपमा माओवादीको नेतृत्व गरेका प्रचण्ड पार्टीका स्वघोषित अध्यक्ष बन्दै आएका छन् । ०४६ सालमा ने.क.पा. मसालको महामन्त्री, २०४८ सालमा ने.क.पा. (एकताकेन्द्र) को महामन्त्री, २०५१ सालमा पार्टीको नाम परिवर्तन गरि ने.क.पा. (माओवादी) को महामन्त्री हुँदै २०५७ देखि माओवादीको अध्यक्ष भएका थिए उनी । २०६९ सालमा भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चयन भएका उनी २०७० सालमा भएको एकता महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका थिए ।

ने.क.पा. माओवादी (केन्द्र) का उपल्लो तहका नेताहरूको सरल र सहज तरिकाले व्यवस्थापन गर्ने नाममा मौजुदा विधानमा संशोधन गरी यसअघि १ सय ७९ जनाको केन्द्रीय कमिटी रहेकोमा त्यसलाई बढाएर २ सय ९९ सदस्यीय केन्दीय कमिटी बनायो माओवादीले । केन्द्रीय कमिटीमा १५ पदाधिकारी रहने नयाँ व्यवस्था समेत ग¥यो । ने.क.पा. (एमाले) अध्यक्ष कमरेड खड्गप्रसाद ओलीभन्दा एक कदम अघि बढ्दै नेतृत्व चयनको मुद्दामा कमरेड प्रचण्ड भने झनै अनुदार भएर प्रस्तुत भए । ओलीले महाधिवेशनको बन्दसत्रमा आफूले प्रस्ताव गरेका नाममा चित्त नबुझ्ने जो-कोहीले पनि कुनै पनि पदमा प्रतिस्पर्धा गर्न सक्ने बाटो खोलिदिँदै घोषित प्यानलविरुद्ध उम्मेदवारी दिनेलाई मत नदिन उर्दी जारी गरे पनि प्रचण्डले भने निर्वाचनको विधि र पद्दतिमाथि नै बन्देज लगाउँदै प्रतिस्पर्धा गर्न नदिएर उम्मेदवार बन्नबाट वञ्चित गरे इच्छुक महाधिवेशन प्रतिनिधिलाई । प्रचण्डले कार्यकर्ताको नजरमा नभएर नेतृत्वको नजरमा परेका, नेतृत्वकै वरिपरि घुम्ने सबैजसो उनै पुरानै अनुहार आफ्नो स्वविवेकमा चयन गरेका २ सय ३६ केन्द्रीय सदस्यहरूले फेरि पनि प्रचण्डलाई नै अध्यक्षको ताजपोशी गरेपछि ने.क.पा. (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको औपचारिक मञ्चनको पर्दा बन्द गरियो ।