हालसम्म नेपालमा लगाइयो तीन करोड डोज खोप
नेपालमा पछिल्लो २४ घण्टामा थप आठ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २१ हजार ८०८ वटा नमुना परीक्षण गर्दा आठ हजार १७ जनामा कोरोना पोजेटिभ देखिएको हो।
मन्त्रालयका अनुसार १५ हजार ७३६ जनामा पीसीआर परीक्षण गर्दा पाँच हजार ८१६ जनामा र छ हजार ७२ जनामा एन्टिजेन परीक्षण गर्दा दुई हजार २०१ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै देशभर सक्रिय संक्रमितको ९० हजार ५७६ रहेको छ ।
पछिल्लो २४ घण्टामा पाँच हजार २९२ जना डिस्चार्ज भएका छन् भने १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म लगाइयो तीन करोड डोज खोप
नेपालमा बिहीबारसम्म कोरोनाभाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ, जसमा एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरिक्त मात्रा लगाइएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
नेपालमा चार करोड २० लाख ४९ हजार ६४० डोज खोप आएको हुँदा तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएकाले अब एक करोड १५ लाख ७४ हजार ५१ डोज खोप बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा पाँच लाख ५४ हजार ५६६ डोज खोप लगाइएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया