मदरसामा पृथ्वीनारायणको माग

मदरसामा पृथ्वीनारायणको माग



बर्दियाको सदरमुकाम गुलरियामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक स्थापना भएपछि जिल्लाका इस्लामकर्मीहरूमा अनौठो किसिमले सकारात्मक सन्देश पुगेको पाइएको छ ।

यतिबेला मुस्लिम अगुवाहरूले मदरसाहरूमा नेपालको झण्डा, पृथ्वीनारायण शाहको तस्बिर र उहाँका दिव्योपदेश राख्नका लागि माग गरेका छन् । मुसलमान बालबालिकाहरूमा आफ्नो राष्ट्रनिर्माताप्रतिको सम्मानभाव विकास गर्न दिब्योपदेश र पृथ्वीनारायण शाहको तस्बिर हरेक मदरसामा राख्न आवश्यक भएको उनीहरूको भनाइ छ ।

गत पुष २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीका अवसरमा बर्दियाको गुलरियामा निर्माण भएको पृथ्वीको शालिक पूर्व प्रदेशप्रमुख डा. राजेश अहिराजबाट अनावरण भएको थियो । अनावरणका क्रममा समावेशिताको अवधारणा ल्याउने प्रथम व्यक्ति पृथ्वीनारायण शाह भएको स्पष्ट गर्दै अहिराजले नेपालको एकीकरणमा मुसलमानहरूको योगदानको चर्चा गरेका थिए ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा मुस्लिम समुदायबाट महत्वपूर्ण सहयोग हासिल गर्नुभएको ऐतिहासिक तथ्य स्मरण गराउँदै पूर्व प्रदेशप्रमुख अहिराजले नेपाल एकीकरण कार्यमा पश्चिम नेपालमा बसोबास गर्ने मुस्लिम समुदायको अहम् भूमिका रहेको बताए । युद्धका क्रममा तत्कालिक मुस्लिम समुदायले हतियार बनाउने र हतियार चलाउन तालिमसमेत दिएर राष्ट्रनिर्मातालाई सघाएको सन्दर्भ उनले उल्लेख गरे ।

मुस्लिमहरूबाट लडाइँमा महत्वपूर्ण सहयोग पुगेको कुरा पृथ्वीनारायण शाहको दिव्योपदेशमा समेत उल्लेख छ । डा. अहिराजले यसबारे जानकारी गराउँदा शालिक अनावरण कार्यक्रममा सहभागी मुस्लिमजनहरू अत्यन्त प्रभावित एवम् खुशी भएका थिए ।

हातहतियारको व्यवस्थापनमा मुसलमानहरूबाट पृथ्वीनारायणलाई भएको सहयोगका बारेमा बताउँदा कार्यक्रममा सहभागी इस्लामकर्मी युवाहरूले ताली बजाएर खुशी जाहेर गरेका थिए । त्यस कार्यक्रमपश्चात उनीहरूले पृथ्वीनारायणप्रतिको भ्रम हटेको बताउँदै उनका तस्बिर तथा दिब्यवाणीका पुस्तक माग गर्न थालेका हुन् ।

नेपाल एकीकरणको सन्दर्भसँग जोडिएको आफ्नो इतिहासबारे डा. अहिराजबाट जानकारी पाएपछि गुलरियास्थित मदरसा ‘असरफिया मदउदल उलूम प्रा.वि.’का प्रधानाध्यापक महम्मद इसहाक खाँ लगायतले बर्दियाका ६७ वटै मदरसाहरूमा पृथ्वीनारायण शाहको तस्बिर, राष्ट्रिय झण्डा र दिब्योपदेशका एक-एक प्रति पुस्तक राख्ने उदघोष गरेका थिए । यसका लागि स्थानीय समाजसेवी देवकमल पौडेलले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।