पूर्वमन्त्री योगेश भट्टराई र बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगरबीच एकतिर आरोप-प्रत्यारोप जारी रहेकै अवस्थामा आलेनेतृत्वको मन्त्रालयले ‘अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र छानबिन समितिलाई इमेलमार्फत निवेदन दिन’ सूचना जारी गरेको छ ।
भट्टराई मन्त्री रहेको बेला कोरोना महामारीका क्रममा मन्त्रालयले उपलब्ध गराएको अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा असुल गरेर यात्रुलाई पीडा दिएको भन्ने चर्चा बेला–बेला अझै चल्ने गर्छ । यसै परिवेशमा सोबारे हालसम्म पनि गुनासो आइरहेको भन्दै तत्कालीन अवस्थामा चार्टर उडानमा बढी हवाई भाडा तिरेका यात्रुले आफ्नो पीरमर्का खुलाई पुनः गुनासो गर्न सक्नेगरी मन्त्रालयको आधिकारिक इमेल ठेगाना [email protected] मा पठाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
कोभिड-१९ को सङ्क्रमणको पहिलो चरणमा नेपाल सरकारबाट बन्दाबन्दीको घोषणा भएपश्चात् अलपत्र परेका व्यक्तिलाई स्वदेश फकार्उन सहजीकरण गर्ने क्रममा अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानको व्यवस्था भएको थियो । सोपश्चात् यात्रु प्रस्थान हुँदा लाग्ने हवाइभाडा सम्बन्धित एयरलाइन्सबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको हवाइभाडा दरभन्दा बढी लिएको भनी प्राप्त भएका विभिन्न गुनासोका आधारमा गुनासोको सम्बोधन गरी छानबिन गर्न मन्त्रालयले हवाइभाडा दर छानबिन समिति, २०७८ गठन गरेको थियो ।
उक्त समितिले थप छानबिन गर्नुपर्ने भनी सिफारिस गरिएका विषयमा सम्बन्धित निकायलाई स्पष्टीकरण सोध्न र थप छानबिन गर्न यस मन्त्रालयमा पुनः छानबिन समिति गठन भएको मन्त्रालयले जनाएको छ ।
नेकपा एमालेका नेता भट्टराई र नेकपा (एस)सम्बद्ध आलेबीच जारी आरोप-प्रत्यारोपकै बीच मन्त्रालयले उल्लिखित सूचना जारी गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
प्रतिक्रिया