एनआरएनएको निर्वाचन-प्रक्रिया सकारात्मक रुपले अघि बढेको सचिव जोशीको धारणा

एनआरएनएको निर्वाचन-प्रक्रिया सकारात्मक रुपले अघि बढेको सचिव जोशीको धारणा


  • विशेष प्रतिनिधि

प्रतिनिधि-विवादका कारण निर्धारण गरिएको मितिमा प्रक्रिया सुरु हुँदै अल्झिँदै आइरहेको गैरआवासीय नेपाली संघको निर्वाचनप्रक्रिया पछिल्लो समय कुमार पन्त नेतृत्वको कार्यसमितिले सहमतिको प्रयास गर्दै प्रमुख संरक्षक नेतृत्वको समितिमार्फत विवादका विषयहरुलाई एकमुस्ट निराकरण गर्दै उचित निकास निकाली तोकिएको मितिमा निर्वाचन गराउने भनि दिएको म्यान्डेटसँगै उक्त समिति निर्वाचनमा केन्द्रित रहेर आफ्ना क्रियाकलाप गर्दै अघि बढिरहेको संरक्षक समितिका एक सदस्यले बताएका छन् ।

विगतमा परराष्ट्र मन्त्रालयको पत्र, अदालती प्रक्रियालगायतको कारण निर्वाचन संघले तोकेको मितिमा नसकेता पनि अब यसबाट टाढा भएर जाँदा वैधानिक संकट खडा हुने भएको कारण पनि गैरआवासीय नेपाली संघमा पछि थपिएको ६ महिने कार्यकालभित्रै निर्वाचन सम्पन्न गरी नयाँ कार्यसमितिले आफ्नो कार्यभार सुरु गर्नुपर्ने बाध्यतात्मक अवस्थामा आएको गैरआवासीय अभियन्ताहरुको बुझाइ रहेको देखिएको छ।

यसैबीच संघका वर्तमान सचिव तथा आगामी कार्यकालका लागि महासचिवका उम्मेदवारसमेत रहेका गौरी जोशीले निर्वाचनबाट भाग्न अब कसैलाई छुट नभएको, साथै जे-जति प्रक्रिया हुन्छन् ती सबै विधानअन्तर्गत रहेर गरिनुपर्ने प्रस्ट पारेका छन् । विधानअन्तर्गत रहेर गरेका काममा भोलि कसैले वैधानिक प्रश्न उठाउन नसक्ने र संघ सम्पूर्ण नेपालीको साझा घर भएको उल्लेख गर्दै जोशी अगाडि भन्छन्, ‘आजसम्म हामीले संघको लागि ठुलो समय खर्च गरिसक्यौँ, यसबीचमा जे-जति बहस तथा विवादहरु सतहमा देखिए ती सबैको कारण भनेको सबैले मान्ने निर्वाचनका साथै सबै अटाउने गैरआसीय नेपाली संघ भनेर नै हो ।’

जोशी भन्छन्, ‘अब पनि हामी गम्भीर भएनौँ भने संघको अस्तित्वमाथि गम्भीर प्रश्नचिन्ह उठ्ने देखिन्छ । आजसम्म संघको विश्वसनियतामा परेको क्षतिलाई पूर्ति गर्न पनि निर्वाचन प्रक्रियामा जानुपर्ने हुन्छ र यसबाट दायाँबायाँ हुँदा कसैको पक्षमा नहुने र निर्वाचन नै त्यो समाधान हो जो वैधानिक पनि र सर्वमान्य पनि । म सदैव प्रष्ट छु कि ‘संघको विकल्प फगत संघ नै हो ।’

निर्वाचन, मात्र प्रक्रियाको रुपमा लिएर अगाडि बढ्न सम्पूर्ण उमेद्वारलाई आग्रह गर्दै जोशी भन्छन्, ‘यहाँ हारजित भन्दा पनि जित्नेले बढी जिम्मेवारी र हार्नेले कम जिम्मेवारी भन्ने बुझाइले काम गर्न सकियो भने यहाँ कसैको न जित हुन्छ न हार नै । म सम्पूर्ण गैरआवासीय नेपाली बुबाआमा दाजुभाइदिदीबहिनीहरुलाई आग्रह गर्दछु कि निर्वाचनमा भाग लिएर सबैले आफ्नो जिम्मेवारी निभाऔँ !’

आजसम्म संरक्षक समितिले गरेको काममा सन्तुष्ट र निर्वाचन तोकिएको समयमै हुनेमा जोशी ढुक्क देखिए ।