राष्ट्र बैंक र आइएफसीबीच ‘साइकोमेट्रिक स्कोरिङ सोलुसन’सम्बन्धी समझदारी

राष्ट्र बैंक र आइएफसीबीच ‘साइकोमेट्रिक स्कोरिङ सोलुसन’सम्बन्धी समझदारी


नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि समझदारी भएको छ ।

वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी नयाँ ढङ्गले प्रस्तुत हुने साइकोमेट्रिक स्कोरिङले प्रणालीलाई थप प्रविधिमैत्री बनाई सहज, सरल र जोखिममुक्त कर्जा प्रवाहलाई प्रवद्र्धन गर्ने अपेक्षा लिइएको छ ।

व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनका रूपमा डिजिटल वित्तीय सेवालाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त नवप्रवर्तन विधिको परीक्षण चरणका लागि आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारी र आइएफसी नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

जापान सरकार र संयुक्त अधिराज्य (बेलायत) सरकारसँगको साझेदारीमा नेपालको वित्तीय प्रणालीमा उक्त विधि दुई वर्षको अवधिका लागि परीक्षण गर्न लागिएको हो । समझदारीबमोजिम सो विधिमार्फत लघु तथा खुद्रा कर्जा लिने व्यक्ति तथा लघु, साना र मझौला उद्यमलाई औपचारिक वित्तीय सेवाको दायरामा ल्याउने आशा गरिएको छ ।

यसले बैंक तथा वित्तीय संस्थालाई सम्भावित ऋणीको व्यक्तित्व र मनोवैज्ञानिक विशेषताको तथ्याङ्कीय विश्लेषणका आधारमा जोखिम प्रोफाइल तयार गर्न सक्षम बनाई औपचारिक वित्तीय सेवामा समाहित हुन सेवाग्राहीलाई ऋण उपभोग गर्न आकर्षित र सरल बनाउने अपेक्षा गरिएको छ । यसबाट विगतमा वित्तीय सेवाको पहुँच नपुगेका सेवाग्राहीमा वित्तीय सेवा विस्तारमा समेत सहज हुने विश्वास लिइएको छ ।