सभामुखको अर्कै चिन्ता : ‘यिन’ले होइन चीनले भन्नुपर्ने !

सभामुखको अर्कै चिन्ता : ‘यिन’ले होइन चीनले भन्नुपर्ने !


एमसीसी परियोजना मुलुकको विकासका निम्ति नभइ अमेरिकी साम्राज्य विस्तारका निम्ति ल्याइएको भन्ने सापकोटाको भनाइ छ । त्यसैले जस्तोसुकै दबाब आए पनि एमसीसी परियोजनालाई फिर्ता पठाउनेबाहेक अन्य विकल्पमा सोच्नै नहुने धारणा उनले माओवादी पार्टीभित्र पनि राख्दै आएको बुझिन्छ ।


एमसीसी अनुदान अनुमोदनमा अड्चन पैदा गर्न दुई प्रकारका मानिस लागिपरेको पाइएको छ । एकथरी मानिस ती हुन् जो नेपाललाई अति माया गर्छन् र यो विदेशीको खेलमैदान नबनोस् भन्ने चाहन्छन्, अर्काथरी त्यस्ता व्यक्ति पनि एमसीसीविरुद्ध छन् जो देशलाई पर्ने असरबाट भन्दा पनि छिमेकीलाई पर्न सक्ने असरलाई लिएर अति चिन्तित छन् । सभामुख अग्नि सापकोटा पनि त्यस्ता व्यक्तिको कोटिमा पर्छन्, जसलाई देशको भन्दा छिमेकको चिन्ताले सताइरन्छ ।

प्राप्त जानकारीअनुसार सभामुख सापकोटा कुनै पनि अवस्थामा एमसीसी प्रस्ताव अनुमोदनका निम्ति ‘टेबल गर्ने’ पक्षमा छैनन् । प्रचण्डले नै भने पनि आदेश अवज्ञा गर्ने मानसिकता उनले बनाएका छन् । सापकोटाले आफ्नो अति निकटका व्यक्तिहरूसँग ‘मर्न परे त्यसको लागि तयार हुने, तर एमसीसी अनुमोदनको पक्षमा कुनै पनि प्रकारले सहयोग नगर्ने’ बताउँदै आएका छन् । अग्निको विचारमा अमेरिका साम्राज्यवादी मुलुक हो र एमसीसी अनुमोदन गर्दा साम्राज्यवादलाई सहयोग पुग्नेछ, त्यसैले सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने भए पनि उनले निष्पक्षतालाई चुनौती दिँदै एमसीसी अनुमोदनका विपक्षमा हाकाहाकी खडा हुने धारणा प्रकट गर्दै आएका छन् ।

सिन्धुपाल्चोकका अग्नि सापकोटा पहिल्यैदेखि अलिक आक्रामक र आवेगी व्यक्तिका रूपमा चिनिन्छन् । हिंसात्मक युद्धकालमा काभ्रे जिल्लाका अर्जुन लामा नामक व्यक्तिको हत्या गरे÷गराएको आरोप सापकोटालाई लागेको छ र, यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । केही वर्षअघि अमेरिकाको भ्रमणमा जान लाग्दा हत्याको आरोप लागेकै कारण अमेरिकी दूतावासले उनलाई भीसा दिएको थिएन । त्यस घटनापछि सापकोटा अमेरिकासँग निकै क्रुद्ध भएका छन् । आफू एक महान् र सच्चा कम्युनिष्ट क्रान्तिकारी भएकोले ‘साम्राज्यवादी’ले भीसा नदिएको भन्ने बुझाइ सापकोटाको छ । यसकारणले पनि सभामुख सापकोटा अमेरिकाप्रति ज्यादा आक्रामक रहँदै आएका छन् ।

एमसीसी परियोजना मुलुकको विकासका निम्ति नभइ अमेरिकी साम्राज्य विस्तारका निम्ति ल्याइएको भन्ने सापकोटाको भनाइ छ । त्यसैले जस्तोसुकै दबाब आए पनि एमसीसी परियोजनालाई फिर्ता पठाउनेबाहेक अन्य विकल्पमा सोच्नै नहुने धारणा उनले माओवादी पार्टीभित्र पनि राख्दै आएको बुझिन्छ । सम्झौतामा सामान्य सुधार गरेर अनुमोदन गर्न सकिन्छ भन्ने माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको भनाइमा पनि सापकोटा सहमत नरहेको बताइन्छ । एमसीसी परियोजना नै चीनलाई दुःखाउन ल्याइएको हुँदा कुनै पनि स्थितिमा स्वीकार्य नहुने भनाइ सापकोटाको रहँदै आएको छ ।