संवैधानिक राजतन्त्र र हिन्दु राज्य कायम गरेरै छोड्ने पूर्वमन्त्री बस्नेतको दाबी

संवैधानिक राजतन्त्र र हिन्दु राज्य कायम गरेरै छोड्ने पूर्वमन्त्री बस्नेतको दाबी


राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री हरिबहादुर बस्नेतले संवैधानिक राजतन्त्र र हिन्दु राज्य बनाएरै छाड्ने दाबी गरेका छन् । कूल जनसंख्या मध्ये झण्डै ८० प्रतिशत हिन्दु धर्मप्रति आस्था राख्ने नागरिक भएको नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिए ।

गृहजिल्ला उदयपुर पुगेका पूर्वमन्त्री बस्नेतले होटेल वल्ड दरबारमा आयोजित संक्षिप्त पत्रकार भेटघाटका क्रममा उनले उक्त कुरा बताएका हुन् । उनले लोकतन्त्रमा आफ्ना एजेन्डा लिएर जनताका माझ जान पाउने कि नपाउने भन्ने प्रश्न गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको मूल एजेन्डा भनेकै संवैधानिक राजतन्त्र र हिन्दु राज्य भएको उनको दाबी छ । ‘हामी हाम्रा एजेन्डा लिएर जनतासामु जानेछौँ । त्यसपछि दुई तिहाइ मत ल्याएर यो देशलाई संवैधानिक राजतन्त्र र हिन्दुराज्य बनाउँछौँ । हामीलाई किन निर्वाचन आयोगले तगारो हाल्न खोजेको ?,’ उनले प्रश्न गरे ।

बस्नेतले नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउने र राजतन्त्र हटाउने काम नेपालीले नभएर युरोपेली युनियनले गरेको आरोप लगाए । एमसीसी पास नगर्दा मुलुकको अर्थतन्त्र ठप्प पार्ने धम्की दिनु युक्तिसंगत नभएको उनको धारण थियो । अहिले शासन गर्ने राजा नभएर संरक्षक वा आस्थाको रूपमा राखिने राजा राप्रपाले चाहेको बस्नेतको भनाइ छ । पूर्वमन्त्री बस्नेतले एक थरिले एमसीसी पास गर्दा र अर्को थरिले नगर्दा राष्ट्रवादी हुने भन्ने कुरो गर्नु नै काइते भएकाले जनताको काम गरेर राष्ट्रवादी हुनुपर्ने धारणा राखे ।

अरू पार्टीमा देखिएको सर्वसम्मत चयन प्रक्रियालाई व्यङ्ग्य गर्दै अहिले सबैभन्दा प्रजातान्त्रिक पार्टीको रूपमा राप्रपा देखिएको बस्नेतको दाबी छ । उनी आगामी सङ्घीय निर्वाचनमा उदयपुरको १ नम्बर क्षेत्रबाट राप्रपाको तर्फबाट उम्मेदवारी दिने तयारीमा छन् ।