सपनाले छुट्याउँछ राजनीतिकर्मीलाई

सपनाले छुट्याउँछ राजनीतिकर्मीलाई


-हरदम कोइराला
राजनीतिकर्मीहरूलाई अनेक ढङ्गले वर्गीकरण गरेर बुझ्न सकिन्छ, यहाँ त्यस्तै एकप्रकारले वर्गीकरण गरेर उनीहरूलाई बुझ्ने प्रयास गर्नु उपयुक्त ठानिएको छ । सबै राजनीतिकर्मी देश बनाउने कुरा गर्छन्, बाटो जसले जस्तो बनाए पनि, आदर्श जसले जस्तो बोके पनि, माओ त्से तुङ या महात्मा गान्धी जसलाई जसले प्रेरणाको स्रोत बताउने गरेको भए पनि सबैले आफ्नो लक्ष्य देशसेवा र उद्देश्य समृद्ध मुलुक बताउने गरेका छन् । इतिहासदेखि वर्तमानसम्म नेपालले अनेका आकारप्रकारका राजनीतिकर्मीहरूको ‘सेवा लिने’ मौका पाएको छ । यसबीचमा अनेकले आफ्नो जीवनमा भारी परिवर्तन ल्याएका छन् र भविष्य सुधारेका छन्, तर देशको भविष्य जहाँको त्यहीँ या अझ अँध्यारो देखिँदै छ, किन –
औपचारिक शिक्षा आर्जनमा पछाडि परेका मानिसको ठूलो सङ्ख्या राजनीतिक क्षेत्रमा देखिन्छन् र आफैं पछाडि परेका उनीहरूबाटै देश अगाडि बढाइने आशा राख्नुपर्ने विडम्बनापूर्ण अवस्था नेपाली जनताले व्यहोरिरहेका छन् । आफूलाई योग्य बनाउने या आफ्नो समीक्षा गर्ने तत्परता राजनीतिकर्मीहरूले लिएको महसुस जनताले गर्न पाएका छैनन् । सत्तामा नपुग्दा एउटा भाषा बोल्ने व्यक्ति पुगेपछि अर्कै भाषा बोल्न थाल्छन्, ती कुनै पनि राजनीतिक दलका या स्वतन्त्र राजनीतिकर्मी हुन् तिनले दर्शाएको व्यवहारमा तात्विक अन्तर भेटिँदैन । यर्सथमा सबै राजनीतिकर्मी समान देखिएका छन् ।
एउटा राजनीतिकर्मी भन्नेबित्तिकै उसले देश बनाउने सपना देखेकै हुन्छ भन्ने विश्वास यहाँ गरिन्छ । तर, जनविश्वास जुनप्रकारले बनेको भए पनि यहाँका राजनीतिकर्मीहरूमा देशको सपना पूरा गर्नेभन्दा आफ्नो सपना पूरा गर्ने चाहना मजबुत देखिन्छ । महाथीर मोहम्मद या ली क्वान यु या देङ सियाओ पिङ आदि जोसुकै हुन् यिनले देशको सपना पूरा गर्ने सामर्थ्य देखाएका हुन् । नेतृत्वले त्यस्तो सामर्थ्य प्रकट गर्दा सम्बद्ध मुलुकको उत्थान पनि हुन पुग्यो । पछिल्लो दशकमा ब्राजिलले हासिल गरेको उपलब्धिलाई पनि तात्कालिक राष्ट्रपति लुला दि सिल्भाको योगदान मानिन्छ ।
राजनीतिकर्मी योग्य भइदिँदा कायापलट गर्न सकिन्छ भन्ने कुराको दृष्टान्त छिमेकी मुलुक भारतको गुजरातका नरेन्द्र मोदी र बिहारका नितिस कुमारले पनि प्रस्तुत गरेका छन् । तर, दु:खपूर्वक भन्नुपर्छ- नेपालका महान् क्रान्तिकारी-भ्रान्तिकारी, उदारवादी, अनुदारवादी, प्रजातन्त्रवादी कसैले पनि बिहारका नितिस कुमारको जति क्षमता प्रस्तुत गर्न सकेका छैनन् । त्यसैले राजनीतिकर्मीहरूलाई देशको सपना पूरा गर्ने र बाबु-आमाका सपना पूरा गर्ने दुई श्रेणीमा विभाजन गरेर हर्ेन-बुझ्न सकिन्छ ।
हरेक व्यक्तिका पिता-माता आफ्ना सन्तान ठूलो, प्रतिष्ठित, धनाढ्य, शक्तिशाली र सर्वमान्य भएको हर्ेन चाहन्छन् । दशैंमा टीका थाप्दा र अन्य अवसरमा आशीर्वाद दिँदा पनि हरेकका माता-पिताले त्यस्तै चाहना प्रकट गरेका हुन्छन् । त्यसैले नेपाली राजनीतिकर्मीहरू जो जहाँका भए पनि उच्च पद प्राप्त गरेर बाबु-आमाको सपना पूरा गर्ने प्रयास सधैं गरिरहेका हुन्छन् । छोरा प्रधानमन्त्री हुँदा माधव नेपालका पिता मंगलकुमार र प्रचण्डका पिता मुक्तिराम मात्र होइन बाबुराम भट्टराई र शेरबहादुर देउवाका पिताजीहरूले पनि औधी गौरवान्वित महसुस गरे र छोराहरूले पनि उच्च पद प्राप्त गरेर आफू पुत्र हुनुको स्वाद पिताजीहरूलाई चखाए । तर, माता-पिताको सपना पूरा गर्न सक्रिय राजनीतिकर्मीहरूको समान विशेषता के हुँदोरहेछ भने उनीहरू अति उच्च पदमा पुग्नचाहिँ सक्ने, त्यहाँबाट र्फकँदा रित्तै र्फकने ! उनीहरूमा पद प्राप्तिको मार्ग, तौरतरिका र कला भरिपूर्ण देखिन्छ, तर जिम्मेवारी पाइसकेपछि के गर्ने भन्ने विषयमा चाहिँ उनीहरू ज्ञानशून्य हुँदारहेछन् । पदमा पुग्ने, दैनिक काम गर्ने, अघिपछि सुरक्षाकर्मीको पल्टन लिएर झण्डा टाँगिएको मोटरमा कुद्नुको मज्जा लिने र निश्चित समयावधिपछि रित्तै वा भरी झोला लिएर घर र्फकने, अनि पूर्वप्रधानमन्त्री या मन्त्रीको पदावली जोड्ने गर्दारहेछन् यिनले । यस्ता मानिस पदमा पुग्नुलाई निकै ठूलो उपलब्धि ठान्छन्, पद ग्रहणपछि गर्ने कामबारे भने शून्य बराबर । माधवकुमार नेपाल, शेरबहादुर देउवा, प्रचण्ड र झलनाथ खनालहरूले उच्च पदमा पुगेर मातापिताकै सपना पूरा गरेका हुन् भन्न उनीहरूको कार्यकालले नै सहयोग पुर्‍याएको छ । डा. बाबुराम भट्टराईले पनि अहिलेसम्म बाबु-आमाकै सपना पूरा गरेको मात्र देखिएको छ । देशको सपना पूरा गर्न राजनीतिमा होमिएकाहरूसँग देश निर्माणको सुस्पष्ट कार्यदिशा, नीति र कार्यक्रम हुन्छ, उनीहरू पदलाई साध्य प्राप्तिको साधन मात्र बनाउन चाहन्छन् । पद कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा उनीहरूको ज्ञान कमजोर देखिए पनि प्राप्त गरिसकेको अवस्थामा के-के गर्नुपर्छ भन्नेबारेमा भने उनीहरू सुस्पष्ट हुन्छन् । पद प्राप्तिको विषयमा आवश्यक ‘ड्रि्री’ हासिल गर्न नसकेका कारण योग्य राजनीतिकर्मीहरू नेपालको सन्दर्भमा पछाडि परेका या पारिएका छन् । दुर्भाग्यवश त्यस्ता व्यक्तिहरू नेपाली राजनीतिको उच्च कार्यकारी तहमा अहिलेसम्म पुग्न सकेका छैनन् र तत्काल पुग्ने स्थिति देखिएको पनि छैन । पद प्राप्तिको खेलमा लाग्दा देश छुट्ने र देश बनाउने काममा केन्द्रित रहँदा पद छुट्ने नियति नेपाली राजनीतिकर्मीहरूले व्यहोरिरहेका छन् । देश बनाउने दृष्टिकोण, प्रतिबद्धता र इमानदारी भएका राजनीतिकर्मी नीति निर्माण तहको केन्द्र भागमा नपुगेसम्म यस मुलुकले समृद्धि प्राप्त गर्ने आशा नराख्नु नै वेश हुन्छ, तर यस्ता मानिस कहिले शीर्ष भागमा पुग्लान् ?