ललितपुरमा भेटियो खाल्डोमा गाडिएको अवस्थामा शव

ललितपुरमा भेटियो खाल्डोमा गाडिएको अवस्थामा शव


जग्गा कारोबारीहरुबीच समस्या परेपछि हत्या गरिएको घटनासँग रहश्य जोडिएको प्रहरीको अनुमान

ललितपुरको गोदावरी नगरपालिका–१२, धापाखेलमा खाल्डो खनेर गाडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । घरको किनारमा खाल्डो खनेर पुरिएको अवस्थामा तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बुको शव फेला परेको हो । उक्त घर मासिक ३० हजार रुपैयाँमा भाडामा लिइएको थियो ।

गत माघ १२ र १३ गते मोरङको धनपालथान गाउँपालिका-७ स्थित उखुबारीमा २ जनाको शव फेला परेको थियो । यससँगै एउटै समूहले मोरङमा दुई जना र ललितपुरमा एक जनालाई मारेको निष्कर्ष प्रहरीले निकालेको छ ।

उखुबारीमा शव फेला परेको घटनाको अनुसन्धानका क्रममा काठमाडौंबाट एक जना पक्राउ परेका थिए । पक्राउ परेका व्यक्तिले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपीसहितको टोली काठमाडौं आएको थियो ।

मोरङ प्रहरीको टोली र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले धापाखेलमा एउटा घर पछाडि खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला पारेको हो ।

मोरङमा फेला परेको शव काठमाडौं बस्दै आएका शम्भु चौधरी र भक्तपुर घर भइ धरान बस्दै आएका ३९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको खुलेको थियो ।

जग्गा कारोबारी उनीहरुबीच समस्या परेपछि हत्या गरिएको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ ।