स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा सरकार रहेको पोखरेलको आरोप

स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा सरकार रहेको पोखरेलको आरोप


नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धन सरकार स्थानीय तहको निर्वाचनतर्फ जान नचाहेको टिप्पणी गरेका छन् । सुनसरीको धरानमा शनिबार आयोजित प्रेस चौतारी सुनसरीको २४औँ स्थापना दिवसको अवसरमा उनले स्थानीय सरकारलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा गठबन्धन सरकार लागेको आरोप लगाए ।

निर्वाचन आयोगले ४ जेठमा चुनाव गर्न सरकारलाई सिफारिस पठाए पनि कुनै वास्ता नगरेको भन्दै लोकतन्त्रविरोधी काम नगर्न उनले सरकारलाई चेतावनी दिए । उनले भने, ‘आयोगले एक प्रकारको सम्झौता गरी ४ जेठमा चुनाव गराउन निर्देशन दिएको छ । संसद्ले बनाएको कानुनले त झन् दुई महिनाअगावै चुनाव गर्ने प्रावधान राखेको छ । त्यसको त अवज्ञा भएको छ नै आयोगको समेत बेवास्ता गरेको छ ।’

महासचिव पोखरेलले एमालेको बढ्दो लोकप्रियता देखेर परमादेशबाट केपी ओली सरकार हराउने खेल भएको र त्यसको पीडा मुलुकले अहिले भोग्नु परेको उल्लेख गर्दै भने, ‘सरकार सरकार जस्तो छैन, संसद् संसद् जस्तो छैन, अदालत अदालत जस्तो छैन । यस्तो किन भयो भन्दा यो मुलुकलाई गलत बाटोमा लैजाने खेल हो ।’

साथै उनले छिमेकी देश भारतले सीमानाका लिपुलेक, लिम्पियाधुरा सडक बनाउन अघि बढ्दा पनि सरकारले कुनै चासो नदिनुले गठबन्धन सरकार जनताको हितविपरीत चलिरहेको पुष्टि भएको प्रतिक्रिया दिए ।