केपी-शेखरबीच बालकोटमा भेटवार्ता, के भयो कुराकानी ?

केपी-शेखरबीच बालकोटमा भेटवार्ता, के भयो कुराकानी ?



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि नेपाली कांग्रेसका नेता शेखर कोइराला बालकोट पुगेका छन् ।

उनी ओलीसँगको भेटवार्ताका लागि मंगलबार साँझ बालकोट पुगेको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग भेट गरेका थिए ।

ओली र कोइरालाबीच पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको बताइएको छ ।

पछिल्लो समय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि जोडबल गरिरहेका बेला कांग्रेस नेताहरुले सक्रियता बढाएका छन् ।

त्यस्तै एमालेले प्रतिनिधिसभा निरन्तर अवरुद्ध गर्दै आएको विषयमा पनि दुई नेताबीच कुरा भएको थियो । थपलियाका अनुसार दुई नेताबीचको छलफल सकारात्मक रहेको छ ।