एउटा युगको अन्त्य : लता दिदीलाई फर्केर हेर्दा

एउटा युगको अन्त्य : लता दिदीलाई फर्केर हेर्दा


  • जनक कार्की

‘नैना वरसे रिमझिम रिमझिम..’ लताको यही गीतजस्तै हो यतिबेला करोडौँ संगीतप्रेमीको नयन रिमझिम रिमझिम वर्षिरहेको छ । आवाजको एउटा अखण्डदीप यतिबेला निभेको छ । हार्मोनियमको सूर बेसूर बनेको छ, गिटारको तार चुँडेको छ, तबलाको ताल बेताल भएको छ । एउटा लय विलय भयो । एउटा सुर दूर भयो । एउटा युगको वियोग भयो ।

सरस्वतीको रुपक लतालाई सरस्वतीकै नासो भएकोले होला, सोही दिनमा फिर्ता लिएर गइन् । वसन्त पञ्चमीको दिन नै बेसुरा भयो ।

०००

लता मंगेशकरको जन्म २८ सेप्टेम्बर सन् १९२९ मा मध्यप्रदेशको इन्दोरमा भएको थियो । उनी पण्डित दीनानाथ मंगेशकर र शैवंतीको ठूली छोरी थिइन् । लताका पिता दीनानाथ मराठी संगीतकार, शास्त्रीय गायक तथा रंगमञ्चका कलाकार थिए भने माता गुजराती थिइन् । पण्डित दीनानाथको खास थर हार्डीकर थियो । गोवामा उनीहरू मंगेशीमा बस्ने भएकोले पछि मंगेशकरलाई आफ्नो नयाँ थरको रूपमा स्थापित गराए ।

लताको नाम हेमा थियो । दीनानाथको एउटा नाटक भावबन्धनमा महिला चरित्रको नाम लतिका थियो, सो नाम उनका पितालाई मनपरेपछि हेमाबाट लता नामाकरण गरियो । लताका तीन बहिनी, मीना, आशा, उषा र एक भाइ हृदयनाथ छन् ।

०००

लता किन पाठशाला गइनन् ?

बच्चैदेखि लताको घरमा गीत-संगीत र कलाको माहोलबाट लता आकर्षित भइन् । पाँच वर्षको उमेरदेखि नै लतालाई उनका पिताले संगीतको पाठ पढाउन लागे । पितासँग नाटकमा अभिनय गर्न थालिन् । लता पाठशाला पनि गएकी थिइन् तर पहिलो दिनमै शिक्षकसँग उनको झगडा भयो । लताले आफूसँगै बहिनी आशालाई पाठशाला लिएर गएकी थिइन् । शिक्षकले आशालाई कक्षा कोठामा बस्ने अनुमति दिएनन् । लता रिसाएर त्यसपछि कहिल्यै पाठशाला गइनन् ।

०००

तेह्र वर्षको उमेरदेखि परिवारको बोझ :

सन् १९४२ मा लताको जिन्दगीमा समस्याको पाहाड खडा भयो । उनी केवल १३ वर्षकी थिइन् जब उनको पिताको देहान्त भयो । लतालाई परिवार सम्हाल्न पर्ने बोझ थपियो । नवयुग चित्रपट फिल्म कम्पनीका मालिक मास्टर विनायक, मंगेशकर परिवारको नजिक भएकाले लतालाई उनले गायन र अभिनेत्रीको रुपमा करियर बनाउने अवसर दिए ।

लतालाई अभिनय त्यति मनपर्थेन तर पनि पैसाको अभावको कारण मंगला गौर, माझे बाल, गजभाऊ, बडी माँ, जीवनयात्रा आदि फिल्ममा छोटो भूमिका निभाइन् ।

लताले सदाशिव राव नेवरेकरको मराठी फिल्ममा गाउने अवसर पाइन् सन् १९४२ मा, तर गीत रिलिज भएन । सन् १९४२ मै मंगलामा गीत गाउने मौका पाइन् । सन् १९४३ मा गाजाभाउमा लताले हिन्दी गीत गाइन् ।

सन् १९४५ मा लता मुम्बईमा सिफ्ट भइन् । भिण्डीबजार घरानाका उस्ताद अमन अली खानसँग शास्त्रीय संगीत सिक्न थालिन् । फिल्म ‘बडी माँ’मा भजन गाउने मौका पाइन् । सन् १९४६ ‘आपकी सेवा मे’ फिल्मको ‘पा लागू कर जोरी’ गीतबाट उनी सबैको नजरमा परिन् ।

०००

तालाई गरिएको थियो रिजेक्ट !

वसन्त देसाइ र गुलाम हैदर जस्ता संगीतकारको सम्पर्कमा आएपछि, उनको गायकी र करिअरमा निखारता आउन थालेको थियो । गुलाम हैदर लताको गुरु बने । उनले लतालाई वरिष्ठ निर्माता शशधर मुखर्जीकोमा लिएर गए, त्यतिबेला उनले ‘शहीद’ फिल्म बनाउँदै थिए ।

हैदरले लतालाई सो फिल्ममा गीत गाउनका लागि अवसर दिन अनुरोध गरेका थिए । लताको आवाज सुनेर शशधर मुखर्जीले लताको आवाज मसिनो भएकोले अस्वीकार गरेका थिए । यो सुनेर हैदरले रिसाएर भनेका थिए, ‘आउने दिनमा लता फिल्मी दुनियाँमा छाउने छिन् र त्यतिबेला निर्माता/निर्देशक लतासँग आएर बिन्ती गर्नेछन् आफ्ना फिल्ममा गाइदिनका लागि ।’

गुलाम हैदरले लतालाई सन् १९४८ मा ‘मजबुर’ फिल्मका लागि एउटा गीत गवाए, ‘मुझे कहीं का ना छोडा’… यो गीत उनको सुपरहिट गीतमा स्थान बनाउन सफल भयो ।
गुलाम हैदरले लताको प्रतिभालाई चिनिसकेका थिए । लताले हैदरलाई आफ्नो गडफादर बताउँछिन् ।

०००

मौलिकताको खोजले लतालाई विकर्षित गरायो :

लताले जब पाश्र्वगायनको क्षेत्रमा आफ्नो करिअर बनाउँदै थिइन्, त्यतिबेला नूरजहां, शमशाद बेगम जस्ता गायिकाको बोलबाला थियो । लता उनीहरूद्वारा प्रभावित थिइन् र उनीहरूकै शैलीमा गाउँथिन् । लतालाई महसूस भयो कि यदि अगाडि बढ्नु छ भने आफ्नै शैलीको खोजी गर्नुपर्छ भनेर । उनले आफ्नो आवाजमा मौलिकता खोज्न थालिन् । हिन्दी र उर्दूको सही उच्चारण सिक्नको लागि मेहनत गर्न थालिन् । यहि मौलिकपनले उनलाई युगकै स्वर साम्राग्री बनाएर छोड्यो ।

०००

सन् १९५० देखि १९७०, लताको सुनौलो समय :

सन् १९५० देखि १९७० भारतीय फिल्म संगीतको लागि सुनौलो समय मानिन्छ । त्यतिबेला एकसेएक गायक, संगीतकार, गीतकार र फिल्मकार थिए । सबैले सर्वोत्कृष्ट फिल्म र संगीत रचना गरे । जसमा लताको स्वरले स्थान पायो र सदाबहार गीत-संगीतको जन्म भयो ।

अनिल विश्वास, शंकर जयकिशन, सचिनदेव बर्मन, नौशाद, हुस्नलाल भगतराम, सी. रामचन्द्र, सलील चौधरी, सज्जाद-हुसैन, वसन्त देसाइ, मदन मोहन, खय्याम, कल्याणजी आनन्दजी, लक्ष्मीकान्त प्यारेलाल, राहुलदेव बर्मन जस्ता नामी संगीतकारले मधुर धुन बनाउँदै गए र सबैको पहिलो रोजाइ लता मंगेशकर थिइन् ।

यिनै संगीतकारसँग लताले अनेक यादगार गीत गाउँदै गइन् । गीतको लोकप्रियताले शिखर चुम्न थाल्यो । उनको आवाजको माधुर्यताले आममानिसको मनमा बास पायो । महिला गायिकामा उनको सामुन्ने कोही आएर प्रतिष्पर्धा गर्न सक्ने ठाउँ नै रहेन ।

कति फिल्महरू लताका गीतकै कारण सुपरहिट भए । सरल सहज स्वभावको कारणले लता फिल्म निर्माता, निर्देशक, संगीतकारको पहिलो रोजाइ बन्न थालिन् । प्रत्येक गीतलाई उनी निकै मेहनतका साथ गाउँथिन् ।

हरेक गीतलाई उनले विशेष बनाइदिन्थिन् । चाहे रोमान्टिक गीत होस्, रागमा आधारित गीत, भजन, देशभक्तियुक्त गीत नै किन नहोस् । उनले गाएको गीत, ‘ऐ मेरे वतन के लोंग’ सुनेर तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूको आँखामा आँसु आएको किस्सा सुन्न पाइन्छ ।

दीदार, बैजू बाबरा, उड़न खटोला, मदर इंडिया, बरसात, आह, श्री ४२०, चोरी चोरी, सजा, हाउस नं ४४, देवदास, मधुमति, आजाद, आशा, अमरदीप, बागी, रेलवे प्लेटफार्म, देख कबीरा रोया, चाचा जिन्दाबाद, मुगल-ए-आजम, दिल अपना और प्रीत पराइ, बीस साल बाद, अनपढ़, मेरा साया, वो कौन थी, आए दिन बहार के, मिलन, अनिता, शगिर्द, मेरे हमदम मेरे दोस्त, दो रास्ते, जीने की राह जस्ता सयौँ फिल्ममा लताले मधुर आवाज दिइन् ।

संगीतकार लतालाई कठिनभन्दा कठिन गीत दिन्थे, लताले निकै सहजताका साथ ती गीतहरू गाइदिन्थिन् ।

राजकपूर, विमल राय, गुरुदत्त, मेहबूब खान, कमाल अमरोही जैसे दिग्गज फिल्मकारका पहिलो रोजाइ पनि लता नै थिइन् ।

सन् १९७० मा फिल्म संगीतमा गिराओट आउन थाल्यो । लताले यसबाट आफूलाई सुरक्षित राखिन् । उनका गीतका क्वालिटीले सफलतालाई बचाइराख्यो ।

उक्त समयमा उनले पाकीजा, प्रेम पुजारी, अभिमान, हंसते जख्म, हीर राँझा, अमर प्रेम, कटी पतंग, आंधी, मौसम, लैला मजनू, दिल की राहें सत्यम शिवम सुन्दरम जस्ता यादगार गीत गाइन् ।

०००

सन् १९८० देखि १९९० को दशक :

असीको दशकमा कयौँ नयाँ संगीतकारको आगमन भयो । अनु मलिक, शिवहरि, आनन्द-मिलिन्द, राम-लक्ष्मण जस्ता नयाँ सङ्गीतकारले पनि लतालाइ गीत गवाए ।

सिलसिला, फासले, विजय, चाँदनी, कर्ज, एक दूजे के लिए, आसपास, अर्पण, नसीब, क्रान्ति, संजोग, मेरी जंग, राम लखन, राकी, फिर वही रात, अगर तुम न होते, बडे दिलवाला, मासूम, सागर, मैंने प्यार किया, बेताब, लव स्टोरी, राम तेरी गंगा मैली जस्ता फिल्मका गीत गल्ली-गल्लीमा गुञ्जिरहेका छन् ।

नब्बेको दशकमा लताले गीत गाउन कम गरिन् । उक्त समयमा डर, लम्हेँ, दिलवाले दुल्हनिया ले जाएँगे, दिल तो पागल हे, मोहब्बते, दिल से, पुकार, जुबैदा, रंग दे वसन्ती, १९४२ अ लव स्टोरी, जस्ता फिल्ममा सुपरहिट गाएकी थिइन् । उनी भन्ने गर्थिन्, ‘आजकल संगीतकारहरू उनीसमक्ष राम्रा गीत लिएर आउँदैनन्, राम्रा गीतको प्रस्ताव आए गाउन मलाई कुनै समस्या छैन ।’

लगभग सात दशकसम्म भारतीय फिल्मका गीतमा लताले गीत गाइन् । मधुबालादेखि माधुरी दीक्षितसम्म सबै हिरोइनको लागि उनले आवाज दिइन् । लताको आवाज सबै हिरोइनका लागि सुहाउँथ्यो । एक पटक शाहरुख खानले लताको अगाडि भनेका थिए, ‘कास ! लता दिदीको आवाजमा मेरो लिप्सिङ गराउन पाए..!’

०००

सबैको प्यारी लता :

लता मंगेशकरको सरल र सौम्य स्वभावले गर्दा सबै निर्माता, निर्देशक, संगीतकार, गायक, नायक, नायिकासँग उनको पारिवारिक सम्बन्ध सुमधुर बन्यो । दिलिप कुमार, राजकपुर, देव आनन्द, अमिताभ बच्चन, यश चोपडा, राहुलदेव बर्मन, मुकेश, किशोर कुमार आदिसँग घनिष्ठ सम्बन्ध रह्यो । लतालाई सबैले आफ्नो परिवारको हिस्सा माने ।

०००

लताका केही विवाद :

प्रायः सेतो सारीमा देखिने लताको मन र चरित्र पनि सफा थियो । उनले आफ्नो जीवनकालमा विवादको कमै मात्र सामना गरिन् । एकपटक संगीतकार सचिनदेव बर्मनसँग मनमुटावका कारण पाँच वर्षसम्म बोली बाराबार भयो । त्यस्तैगरी मोहम्मद रफिकसँग रोयल्टीका विषयमा एकमत नहुँदा रफिकसँग केही समय सहकार्य भएन । साथमा रामचन्द्र र ओपी नैयरसँग सानोतिनो मनमुटाव भएको मानिन्छ । लताको आफ्नी बहिनी आशा भोस्लेसँग पनि मनमुटाव भएको थियो, कारण भने आफूलाई नसोधी बिहे गरेकाले ।

०००

लतालाई दिइएको थियो विष :

सन् १९६२ मा लताको हत्याको प्रयास भएको थियो । एउटा बिहान लता उठ्नेबित्तिकै पेटमा पीडा हुन थाल्यो । उनी एक ठाउँबाट अर्को ठाउँसम्म पनि पुग्न नसक्ने स्थिति आयो । लतालाई स्लो पोइजन दिइएको थियो । उनलाई विष कसले दियो भन्ने कुराको शङ्का गरिए पनि प्रमाणको कमीले आजसम्म सो कुरा बाहिर नआएको मानिन्छ ।

०००

ता : प्रेम र विवाह :

लता मंगेशकर आजीवन अविवाहित रहिन् । किशोरावस्थादेखि घर सम्हाल्न पर्ने बाध्यताले उनले यस कुरामा ध्यान दिन सकिनन् ।

उनले प्रेम नगरेकी भने होइनन् तर प्रेम सफल नभएपछि अरु कसैसँग विवाह गरिनन् ।

लताको आफ्ना भाइ हृदयनाथका साथी राज सिंहसँग प्रेमसम्बन्ध थियो । राज सिंह डोंगोरपुर राजघरानाका महाराजको छोरा थिए । उनले आफ्ना मातापितासँग संकल्प गरेका थिए कि उनले कुनै आम नारीसँग बिहे गर्ने छैनन् ।

राज सिंहले आफ्नो संकल्पलाई बचाइराख्न लतासँग बिहे गरेनन् र उनी पनि आजीवन अविवाहित रहे ।

संगीतकार सी. रामचन्द्रले पनि लतासँग विवाहको प्रस्ताव राखेका थिए । रामचन्द्रको व्यक्तित्वबाट लता प्रभावित पनि थिइन् तर रामचन्द्र विवाहित भएका कारणले उनले सो प्रस्ताव अस्वीकार गरिन् ।

०००

सरस्वतीको लक्ष्मी अवतार :

पहिलो गीत गाएको जम्मा २५ रुपैयाँ पारिश्रमिक लिएकी लतासँग आज करिब ३७० करोड रुपैयाँ छ । उनले आफूले गाएका गीतको रोयल्टीको रूपमा वार्षिक ६ करोड प्राप्त गर्छिन् ।
३६ भाषामा करिब ५० हजार गीत गाएकी लताले लगभग हजार वटा फिल्मका निम्ति गीत गाएकी छन् ।

०००

लताले गाएका नेपाली गीत :

लताले केही नेपाली गीत गाएकी छन् । सन् १९६६ मा प्रदर्शन भएको नेपाली चलचित्र ‘माइती घर’मा उनले मविवि शाहले लेखेको गीत ‘जुन माटोमा मेरो..’ बोलको गीत गाएकी थिइन् ।
विसं.२०२१ मा मविवि शाहले नै लेखेको अर्को गीत ‘आकाशैमा तिरमिरे तार…’ मा पनि आवाज दिएकी छन् ।

पछिल्लोपटक रामकृष्ण ढकालसँग ‘बाचुञ्जेल…’ गीत गाएकी थिइन्, जुन गीत एकदम चर्चित पनि भयो ।

त्यस्तै, शम्भुजित बासकोटाले लताको लागि भनेर कम्पोज गरेको गीत ‘एउटा मान्छे मनपर्छ’ भन्ने गीत लताको समय अभावका कारण उनकै बहिनी आशा भोस्लेले गायकी थिइन् । अर्को एउटा गीत ‘सपना हो यो भनेदेखि सपनामै मरूँ’.. यो गीत पनि बासकोटाले नारायण गोपाल र लताको लागि कम्पोज गरेका थिए । फेरि पनि लताको व्यस्तताले गर्दा उनको सट्टामा अनुराधा पौड्याल र नारायण गोपालले सो गीत गाए ।

०००

लतालाई आरोप :

यतीन्द्र मिश्रको किताबअनुसार लताका आदर्शपुरुष विनायक दामोदर सावरकर थिए । प्रसिद्ध लोकशायर साम्भाका अनुसार उनीहरू लतासँग अम्बेडकरमा आधारित गीतमा स्वर दिनको लागि अनुरोध गर्न गएका थिए तर लताले अस्वीकार गरिन् । साम्भाका समुहले भनेजति शुल्क तिर्न तयार थिए ।

यसैले भारतीय प्रगतिशील विचारकहरूले लतालाई दलित, मजदुर र शोषित वर्गका विषयमा असहयोग गरेको आरोप लगाउँदै आएका छन् ।

लताले सन् २०१३ मा मोदी प्रधानमन्त्री बनेको हेर्न चाहेको कुराले पनि मोदीविरोधि पक्षले उनको भत्सर्ना गरेका थिए ।

लताले अयोध्यामा राम मन्दिर निर्माण सुरुवात हुँदा ट्वीट गरेर भनेकी थिइन्, ‘कयौँ राजाहरूको, कयौँ पिँढीको र समस्त विश्वका रामभक्तको अधुरो सपना आज साकार हुँदैछ..’

यो ट्वीटले पनि विरोधीहरूको मन दुखाएको थियो ।

पप गायिका रिहानाले जब भारतमा किसान आन्दोलनको ध्यान दुनियाभर खिचाउने अभियान थालिन्, लताले रिहानाको अभियानलाई असमर्थन गरेको देखिन्छ ।

लता एकदम राम्रो गायिका भए पनि उनको समाजिक विषयमा कुनै सरोकार नभएको, समाजको लागि कुनै आदर्शवान काम नगरेको, विचारहीन व्यक्तिको आरोप लगाउँदै आएका छन्, प्रगतिशील विचारकले ।

०००

लताले फेब्रुअरी ६ तारिख २०२२ आइतबार बिहान ८ः१२ मा ९२ वर्षको उमेरमा अन्तिम स्वास फेरिन् । उनी करिब एक महिनादेखि कोरोना संक्रमणको कारण आइसियुमा भेन्टिलेटरको सहयोगमा अस्पताल भर्ना थिइन् ।

उनको मृत्युको कारण मल्टिपल अर्गान फेलिएर भनेर अस्पतालले जानकारी दिएको छ ।

लग जा गले कि फिर
ये हसीं रात हो न हो
शायद फिर इस जनम
में मुलाकात हो न हो
लग जा गले से’

हो उनले गाएको यो गीतजस्तै अब फेरि लताको भौतिक शरीरसँग हाम्रो भेट हुने छैन न त उनको अँगालो नै प्राप्त हुनेछ । उनको देह नभएपनि उनले गाएका पचास हजार गीतसँग हाम्रो भेट भइरहने छ । उनका स्वरले हाम्रो हृदयलाई आँगालोमा बेरिरहने छ ।

उनका लागि गुलजारले लेखेको एउटा गीत यतिबेला एकदम सान्दर्भिक बनेको छ, ‘नाम गुम जायेगा, चेहरा ये बदल जाएगा, मेरी आवाज ही पेहेचान हे ।’

हो यो नाशवान शरीरमा जन्म लिएपछि नाम, धन सम्पत्ति सबै बिलाएर जान्छन् तर मान्छेको कर्म भने सधै जीवित रहन्छ । उनको आवाजलाई कसैले मार्न सक्दैन, रोक्न/छेक्न सक्दैन । सायद मानव अस्तित्व रहँदासम्म उनको आवाज उनको पहिचान बनेर यो धर्तीमा गाइरहने छ । लता दिदीको भौतिक शरीरलाई अलविदा… !