मान्छेका लागि पैसा कि पैसाका लागि मान्छे ?

मान्छेका लागि पैसा कि पैसाका लागि मान्छे ?


सम्पन्नता ब्यक्ति, समाज र राष्ट्रका लागि अवश्य नै राम्रो कुरा हो, तर सम्पन्न हुनकै लागि ‘अलेक्जेण्डर द किङ’ हुन खोज्नु जीवनलाई अनुभव गर्नबाट वञ्चित हुनु हो ।

  • बबिता बस्नेत

बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिल एक पटक बीबीसीमा अन्तवार्ता दिन ट्याक्सी चढेर गएछन् । बीबीसी कार्यालयअगाडि ट्याक्सी रोकेपछि आफू ४० मिनेटपछि फर्कने बताउँदै त्यतिबेलासम्म पर्खिन अनुरोध गरेछन् । ट्याक्सीवालाले भनेछ, ‘आज बीबीसीमा विन्स्टन चर्चिलको अन्तवार्ता आउँदैछ, रेडियोमा उनको अन्तवार्ता सुन्नका लागि म चाँडै घर पुग्नुपर्नेछ । त्यसैले माफ गर्नुहोला, म तपाईंलाई पर्खिन सक्दिनँ ।’ त्यतिबेला अहिलेजस्तो टेलिभिजन नभएकाले चर्चिल तिनै हुन् भनेर ट्याक्सीवालाले चिनेन र उनले पनि आफ्नो परिचय दिएनन् । ट्याक्सीवालाले आफ्ना भनाइहरू सुन्न राखेको चाहनाले दङ्ग पर्दै उनले दश पाउण्ड (उठेको भाडा भन्दा निकै बढी) हातमा राखिदिएछन् । त्यतिबेलाको दश पाउण्ड निकै ठुलो रकम थियो । नसोचेको पैसा पाएपछि ट्याक्सीवालाले भनेछ- ‘सर, भाँडमा जाओस् चर्चिल, म तपाईं आउन्जेल यहाँ पर्खिरहेको हुनेछु ।’

यो घटनालाई लिएर चर्चिलले भनेका छन्- ‘पैसाको अगाडि सिद्धान्त मेरैसामु यसरी परिमार्जित भयो, पैसाका लागि यहाँ देश बेचिन्छ, इमान बेचिन्छ, परिवार छिन्नभिन्न हुन्छ, साथीभाइ अलग हुन्छन्, मान्छेहरू मारिन्छन् र मानिसहरू पैसाको दास बन्छन्, बनिरहेका छन् ।’

हो, जिन्दगी बाँच्न पैसाका लागि काम गर्दागर्दै मानिसहरू जिन्दगी बाँच्नै नपाइ मर्ने गर्छन् । मानिसका आधारभुत आवश्यकता पूरा गर्न पैसा चाहिन्छ । तर, जब आधारभुत आवश्यकताहरू पूरा हुन्छन् पहिलाभन्दा स्तरीय जीवन बाँच्नका लागि पैसाका पछाडि दौडिन्छन् । प्राप्तिको कुनै सीमा हुँदैन, त्यही असीमित चाहनाका पछाडि दौडँदा दौडँदै जिन्दगीको यात्रा टुङ्गिन्छ या नटुङ्गिए पनि हलचल गर्नै नसक्ने अवस्थामा पुग्छ ।

पैसा कमाउनकै लागि मानिसले प्रकृतिले सित्तैमा दिएका कति कुराहरू राम्ररी उपभोग गर्नै पाउँदैन् । जाडो महिनामा आनन्दले घाम ताप्न पाउँदैन, गर्मी महिनामा शितल छहारीमा बस्न पाउँदैन । उफ्.. गर्दै उकुसमुकुस जिन्दगीका बीच आनन्दसँग सास फेर्न पाउँदैन । आफन्तसँगको भेटघाट, सामिप्यताबाट वञ्चित हुन्छ । विभिन्न विषयमा चिन्तन गर्ने मानिसहरू पनि पैसा कमाएर जिन्दगी धान्ने झमेलामा फसेर चिन्तन-मननबाट टाढा हुन पुग्छन् । सिर्जना गर्ने मान्छेले आफूले चाहेजसरी निर्धक्क सिर्जना गर्न पाउँदैन । सिर्जनशील मानिसका लागि पैसा कमाउनका लागि समय खेर फाल्नु निकै दुःखलाग्दो कुरा हो । तर ब्यवहारिक आवश्यकताले कस्ता-कस्ता महान् आत्माहरूलाई समेत हातमुख जोड्ने कामका लागि अमूल्य समय खेर फाल्न बाध्य पारिदिएको छ । तथापि, पैसा कमाउनुलाई नै आफ्नो जिन्दगीको सबैभन्दा ठुलो सफलता ठान्ने मानिस यो संसारमा धेरै छन् ।

हामीमध्ये धेरैको बाँच्न सङ्घर्ष गर्दागर्दै अमूल्य समय खेर गइरहेको छ । पैसा कमाउनकै लागि जन्मिएजस्तो गरेर रातदिन काममा घोटिँदा घोटिँदै मानिस बुढो हुन्छ, भइरहेको देखिएको छ । जतिले पैसा कमाउने ठाउँ पाएका छैनन्, त्यस्तो ठाउँ खोज्दाखोज्दै समय बितिरहेको छ । पैसा मान्छेका लागि नभएर मान्छे पैसाका लागि झैँ भइरहेको छ ।

हाम्रो समाजमा पैसाको महत्व कति छ त हामी सबैलाई थाहै छ । पैसा हुँदा र नहुँदा मानिसहरूले गर्ने ब्यवहार कति फरक हुन्छ भन्ने अनुभव पनि हामीमध्ये धेरैले गरेकै छौँ । कसैसँग हुनु र नहुनुले सम्बन्धित ब्यक्तिबाहेक अरुलाई फरक नपर्नुपर्ने हो तर हामीकहाँ आफूलाई भन्दा अरुलाई फरक परिदिन्छ । पैसा हुने र नहुनेलाई हेर्ने दृष्टिकोण नै फरक बनिदिन्छ । आफूसँग नभएको कुरा प्रायः मानिसलाई ठुलो लाग्छ तर आफूसँग जति धेरै भयो त्यति मोह हुने कुरा केही छ भने त्यो पैसा नै हो । परिवारको गाँसबासकै लागि अर्काको देशमा काम गर्न जानुपर्ने बाध्यता भएकाहरूले पैसाका लागि परिवारको साथ, स्वदेशको हावापानी, माटो सबै कुरा छोडेर निरस जीवन बाँचिरहेका छन् । उनीहरूले दुःखले कमाएको रेमिटेन्समा ऐश गर्नेहरू र परदेशको भूमिमा पसिना चुहाउनेहरूबीचको परिवेश अकाश-जमिनको अन्तर छ । यद्यपि विभिन्न पेशा, ब्यवसायका नाममा मानिस यति ब्यस्त छ कि उसलाई खासमा अकाश र जमिनबीचको अन्तर कति छ, त्यो भनेको कतिसम्म हो भनेर सोच्ने फुर्सद पनि छैन । फुर्सद भइहाले पनि मानिसलाई यस्ता कुरामा चासो नै हुँदैन । सडकमा कसैले एकातिर एक हजारका दरले पैसा बाँडिरहेको छ र अर्कोतिर ब्रम्हाण्डको रहस्यका बारेमा जानकारी दिइरहेको छ भनियो भने मानिसको भीड कता बढी होला ? अवश्य नै एक हजारवाला लाइन लामो हुनेछ, पैसाको खासै खाँचो नभएका मानिसहरू पनि ‘पाइहालियो लिउँ न’ भनेर लाइनमा बस्नेछन् । ब्रह्माण्ड या सृष्टिको रहस्यसँग के चासो ? हामीलाई खाने लाउने, टार्ने पुऱ्याउने कुराले यति ‘इन्गेज’ गरिदिएको छ कि एक हप्ता सूर्य उदाएन भने के होला ? पाँच मिनेट हावा चलेन भने कस्तो अवस्था होला ? भनेर सोच्ने समय र रुचि दुवै छैन ।

फलानाका छोराछोरीले त यति पैसा कमाए रे भनेर हाम्रा छरछिमेक र नातेदारकाबीच खुब चर्चा हुने गर्छ । फलानाका सन्तानसँग पैसाचाहिँ खासै छैन तर एकदम शान्तिपूर्ण जीवन बाँचेका छन् रे भनेर कसैले चर्चा गर्दैन । पैसाको अघिल्तिर शान्ति, सन्तुष्टि, आफ्नोपन जस्ता कुराहरू गौण बनिदिन्छन् । हामीमध्ये धेरैको बाँच्न सङ्घर्ष गर्दागर्दै अमूल्य समय खेर गइरहेको छ । पैसा कमाउनकै लागि जन्मिएजस्तो गरेर रातदिन काममा घोटिँदा घोटिँदै मानिस बुढो हुन्छ, भइरहेको देखिएको छ । जतिले पैसा कमाउने ठाउँ पाएका छैनन्, त्यस्तो ठाउँ खोज्दाखोज्दै समय बितिरहेको छ । पैसा मान्छेका लागि नभएर मान्छे पैसाका लागि झैँ भइरहेको छ ।

प्रायः भिडभाड हुने पसलमा मैले उनलाई सधैं पैसा गनिरहेको देखेँ । एकदिन सोधेँ, ‘पैसा गन्दै फुर्सद छैन.. तपाईं त आफन्तका जमघट, समारोहहरूमा जान पनि भ्याउनुहुन्न होला है ?’ आफन्तका विवाह र अन्य समारोहमा जान नपाएको वर्षौं भएको खुलासा गर्दै उनले भने- ‘सधैं यस्तै हुन्छ, खै कसरी भ्याउनु ?’ यसरी कुरा गरेको केही महिनापछि उक्त पसलमा पुग्दा माला लगाएको उनको फोटो भित्तामा झुण्डिएको थियो ।

नेपालगन्जसँग जोडिएको सिमाना रुपैडियामा शान्ति स्टोर नामको एउटा पसल छ । नेपालगन्ज जाँदा प्रायः हामी त्यहाँ सामान किन्न जाने गर्थ्यौं, गर्छौं । कामदारसहित बाबु-छोरा सधैं ब्यस्त हुन्थे । छोरा अनिल पसलमा आउने ग्राहकको खातिरदारी गर्दै कामदारहरूलाई सामान देखाउन भन्थे भने बाबु पैसा लिने र फिर्ता दिने गरिरहेका भेटिन्थे । प्रायः भिडभाड हुने पसलमा मैले उनलाई सधैं पैसा गनिरहेको देखेँ । एकदिन सोधेँ, ‘पैसा गन्दै फुर्सद छैन.. तपाईं त आफन्तका जमघट, समारोहहरूमा जान पनि भ्याउनुहुन्न होला है ?’ आफन्तका विवाह र अन्य समारोहमा जान नपाएको वर्षौं भएको खुलासा गर्दै उनले भने- ‘सधैं यस्तै हुन्छ, खै कसरी भ्याउनु ? फेरि पसलमा आफै बसेजस्तो कहाँ हुन्छ र ?’ यसरी कुरा गरेको केही महिनापछि उक्त पसलमा पुग्दा माला लगाएको उनको फोटो भित्तामा झुण्डिएको थियो । पैसा गन्दागन्दै यो संसारबाट उनले बिदा लिएछन् । कति दिनसम्म उनले पैसा गन्दै गरेको दृष्य र भित्तामा मालासहित झुण्डिएको फोटो आँखा अगाडी आइरह्यो । पसलमा आफू भएजस्तो कहाँ हुन्छ र ? भन्थे तर उनी नहुँदा पनि पसल त्यसैगरी चलिरहेको थियो ।

कहिलेकाहीँ पैसा नहुँदो हो त संसार कति सुन्दर हुन्थ्यो होला जस्तो पनि लाग्छ । पैसा नभएको भए भ्रष्टाचार भन्ने शब्द हुने थिएन र मानिस-मानिसबीच विभेद पनि हुने थिएन । पैसा हुने र नहुनेबीचको दूरी यति धेरै बनाइन्छ कि कहिलेकाहीँ त एक प्रकारको हीनताबोध नै हुन्छ । पृथ्वीमा मात्र होइन अकाशमा पनि पैसाका कारण मानिसले विभेद भोगिरहेका हुन्छन् । पैसा हुनेहरू हवाइजहाजको विजनेश क्लासमा बसेर लक्जरी यात्रा गर्छन् भने ठिकठिकै हुनेहरू इकोनोमी क्लासमा खुट्टा खुम्च्याएर बसिरहेका हुन्छन् । कस्ता-कस्ता विद्वान्हरू इकोनोमीमा र पैसाबाहेक खासै केही नभएकाहरू बिजनेस क्लासको यात्रा गरेको तपाईं-हामीमध्ये कतिले पटक-पटक देखेकै छौँ ।

मानिसको जीवनमा पैसा आवश्यक छ तर पैसाकै लागि दास बन्नबाट सकेसम्म जोगिने कोशिसचाहिँ गर्नुपर्छ । सम्पन्नता ब्यक्ति, समाज र राष्ट्रका लागि अवश्य नै राम्रो कुरा हो, तर सम्पन्न हुनकै लागि ‘अलेक्जेण्डर द किङ’ हुन खोज्नु जीवनलाई अनुभव गर्नबाट वञ्चित हुनु हो । जिन्दगीको छोटो समयमा विभिन्न मुलुकमाथि विजय हासिल गर्न सफल उनले आफ्नो शवयात्रामा दुवै हातहरू खुल्ला गरेर कफन बाहिर निकालिदिनु भनेका थिए रे । उनी संसारलाई सन्देश दिन चाहन्थे- हेर… विश्वविजेता अलेक्जेण्डर द ग्रेट मृत्युपछि खाली हात गयो !