सापटी रकम फर्काउँछु भन्दै सांसदद्वारा होटलमा बोलाएर बलात्कार

सापटी रकम फर्काउँछु भन्दै सांसदद्वारा होटलमा बोलाएर बलात्कार


बलात्कार मुद्दा दर्ता, पीडकका आफन्तले दिए धम्की !

मुगुका सांसद मोहन बानियाँविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेले बलात्कार मुद्धा दर्ता गरेको छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं. ३७२ मा मुद्दा दर्ता भएको छ ।

बानियाँले लिएको ऋण फिर्ता गर्छु भनेर नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको महिलाले जाहेरीमा उल्लेख गरेकी छन् । यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले बहालवाला सांसदको हकमा सभामुखबाट अनुमति लिनुपर्ने भन्दै मुद्दा दर्ता गर्न मानेको थिएन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले सांसद बानियाँविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिँदै भने, ‘सांसदविरुद्धको मुद्दा दर्ता भइसक्यो । अब अनुसन्धान अघि बढ्छ ।’

यसैबीच सांसद मोहन बानियाँले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी जुम्लाकी उक्त महिलाले असुरक्षित महशुस गरेको बताएकी छिन् । आरोपी बानियाँका आफन्तले निरन्तर धम्की र प्रलोभन देखाउन थालेपछि असुरक्षित महशुस गरेको उनको भनाइ छ ।

जाहेरी दिएको भोलिपल्ट सांसद बानियाँका ज्वाइँले भेटेरै भोलि बिहान १० बजे तपाईंको लिएको २५ लाख रुपैयाँ दिन्छौँ, जाहेरी फिर्ता लिनुस् भनेको उनको भनाइ छ । पीडित महिलाले आफूले जाहेरी दिइसको र निकै पीडित बनेकोले अब जाहेरी फिर्ता नहुने बरु जे गर्छ कानुनले गर्छ भनी जवाफ दिएको बताएकी छन् । जाहेरी फिर्ता लिन आग्रह गर्दै सांसद बानियाँकी छोरीले समेत फोन गरेर प्रलोभन देखाएको उनको भनाइ छ ।

बानियाँको छोरा मदन बानियाँले जाहेरी दिएकै दिन जाहेरीले केही फरक नपर्ने भन्दै धम्की दिएको समेत उनले बताइन् । पीडित महिलाले थपिन्, ‘म जाहेरी बोकेर जिल्ला प्रहरी कार्यालय जाँदै थिएँ, बानियाँका छोराले तपाईंले जाहेरी दिँदैमा कुनै असर पर्दैन, यस्ता करणी घटना कैयौँ ब्यहोरिसक्यौँ, यसको कुनै तुक छैन भने ।’ बानियाँका आफन्तहरूले पटक पटक फोन गरेर र भेटेरै समेत धम्की दिइरहेको उनले जिकिर गरिन् ।

पीडित महिलाले एक साता अगाडि सामाजिक सञ्जालमा ज्यान जोखिममा रहेको जनाएका थिइन् । उनले लेखेकी थिइन्, ‘म मरेँ भने सांसद बानियाँकै कारणले मर्नेछु । उहाँ नै जवाफदेही हुनुहुनेछ ।’

यसपछि घटना दबाउन कर्णाली प्रदेशका सांसद दानसिंह परियार सक्रिय बनेका थिए । उनले पीडित महिलालाई धम्क्याउनेदेखि प्रलोभन देखाएर जाहेरी फिर्ता लिन समेत दबाब दिइरहेको महिलाको भनाइ छ । जाहेरी दिँदाको दिनमा पनि सांसद परियार बाँके आएको उनले बताइन् । उनले महिलालाई जाहेरी कसरी दर्ता हुन्छ, हामी पनि हेर्छौं भन्दै धम्क्याएका थिए । लेनदेनको विषयमा पनि मिलापत्र गर्न पटक पटक दबाब दिँदै आएको पीडित महिलाले बताइन् ।

पटक पटक लिएको रकम फिर्ता गर्न आग्रह गरेपछि सांसद बानियाँले २५ लाख रुपैयाँको चेक दिएका थिए । राष्ट्रिय बाणिज्य बैंकको चेक रहेको खातामा पैसा थिएन । चेक बाउन्स भएको छ । त्यही बाउन्स चेकसमेत सांसद परियारसहितको टोलीले खोसेको थियो । पीडित महिलाले सांसद बानियाँले जाहेरीमा नेपालगन्जस्थित अप्सरा होटलमा बलात्कार गरेको खुलाएकी छिन् । उनले भनिन्, ‘बानियाँले लिएको रकम फिर्ता गर्ने भन्दै बोलाएर बलात्कार गरे ।’

  • दिलमाया शाही, जुम्ला