- संजय मिश्रा, रौतहट
पछिल्लो केही महिनादेखि रौतहटमा संगठित एक गिरोहले जंगली निलगाईको शिकार गरी हरिणको मासु भनी झुक्याएर बिक्री गर्दै आएको रहस्य खुलेको छ ।
गिरोहले खोलाकिनारमा निलगाई मारेर हरिणको मासु भनि झुक्याइ प्रतिकिलो एक हजार रुपैयाँको दरले मासु बेचेको रहस्य खुलेको हो ।
दिउँसो–दिउँसो आफूलाई नेता र समाजसेवी भनाउने केही आपराधिक तत्वसहितको एक गिरोहले रातको समयमा निलगाई मारेर हरिणको मासु भन्दै बिक्री गरेको रहश्योद्घाटन भएको हो ।
हरिणको मासु रातो रंगको हुने र निलगाईको मासु पनि झट्ट हेर्दा उस्तै देखिने भएकाले गिरोहले झुक्याएर निलागाईको मासु बेच्दै आएको चन्द्रनिगाहपुरका एक स्थानीयले नाम प्रकाशित नगर्ने शर्तमा बताए ।
जिल्लाको उत्तरी भेग कटहरिया नगरपालिका १ हर्षाहादेखि वडा नं. २ झौवा, भसेढवासम्म लालबकैया नदीकिनारमा राति राति उनीहरुले निलगाई मारेर रातारात चन्द्रनिगाहपुर लगेर हरिणको मासु भन्दै प्रतिकिलो एक हजारको दलले पटक पटक बिक्री गरेको गाउँलेहरुको दाबी छ ।
एउटा वयश्क जवान निलगाईको तौल सय देखि दुई सय किलोसम्म हुने गर्दछ।
एउटा निलगाई मारेर हरिणको मासु भनी झुक्याएर त्यस्तो गिरोहले २ लाख रुपैयाँसम्म कमाउने गरेको कारण निलगाई मार्न पल्किसकेको जानिफकार स्थानीयको दाबी छ ।
एकैरातमा डेढ-दुई लाख रुपैयाँको कमाई हेरेर उनीहरुले निलगाई मार्न लाइसेन्सी बन्दुकको प्रयोग गर्ने गरेको पनि स्थानीयहरु बताउँछन् ।
राति ८-९ बजे हर्षाहा, झौवा, भसेढवा भन्दा पश्चिम लालबकैया नदीकिनारमा पिकअप गाडीमा लाइसेन्सी बन्दुक लिएर ५-७ जना मानिस गएर उखुघारी, काँसघारीछेउमा रहेको निलगाईलाई मार्छन् ।
सबैजना मिलेर निलगाईको खुट्टा, टाउको काटेर, छाला छिलेर त्यहीँ छेउछाउमा खाल्टो खनेर गाड्छन् । बाँकी मासु सोही पिकअप गाडीमा लोड गरी रातारात चन्द्रनिगाहपुरलगायत वरपर जिल्लाका बजारमा हरिणको मासु भनेर प्रतिकिलो हजार रुपैयाँको दरले बिक्री गर्ने गरेको गाउँलेहरुको दाबी छ ।
पछिल्लो समय निलगाईले किसानले लगाएको बालिनाली सखाप पारेको कारण निलगाईको अवैध सिकार भएको देखेर पनि गाउँले किसानहरु मौन बसेका छन् ।
निलगाई मार्नु एकातर्फ आफैमा अपराध हुँदै हो, अर्कोतर्फ उक्त अपराधिक समुहले आर्थिक प्रलोभनमा परेर निलगाईलाई हरिणको मासु भनेर बिक्री गरी हिन्दु धर्ममाथि प्रहार गरिरहेको जानकारहरुको बुझाइ छ ।
गत असार–साउनदेखि हालसम्म झन्डै एक दर्जन निलगाई मारेर उनिहरुले चन्द्रनिगाहपुरलगायतका स्थानमा लगी बिक्री गरिसकेको खोलाकिनारका बासिन्दाहरुले बताए ।
एक साताअघि मात्र गोली लागेर घाइते भएको एउटा निलगाई जंगलबाट उद्वार गरी डिभिजन वन कार्यालय रौतहटले उपचारको लागि गाडीमा राखेर पर्सा बन्यजन्तु आरक्ष आधाभार पठाएको थियो ।
यसरी सिकारीको गोली लागेर निलगाई घाइते भएको घटनाले चोरी सिकारी भइरहेको पुष्टि गरेको छ ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले निलगाई मार्नु कानुनी अपराध भएको बताए । निलगाई संरक्षित जनावर भएकाले त्यसको चोरी शिकारी गर्नेलाई प्रकृति हेररे ६ महिनादेखि ३ वर्षसम्म सजाय हुन सक्ने प्रमुख यादवले जानकारी दिए ।
निलगाईको अवैध शिकार त्यसमाथि हरिणको भनेर मासु बिक्री गर्नु दोहरो अपराध भएकाले त्यस्ता गिरोहलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन स्थानीय प्रशासन गम्भीर हुनुपर्ने सचेत सरोकारजनहरुको माग रहेको छ ।
प्रतिक्रिया