श्रीमान्-श्रीमती मिलेर हार्डवयर व्यवसायीको निर्मम हत्या

श्रीमान्-श्रीमती मिलेर हार्डवयर व्यवसायीको निर्मम हत्या


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासीको रामग्राम-९ जोकवारमा फेला परेको शव हत्या गरी फालिएको पुष्टि भएको छ । कपिलबस्तु सुद्धोधन गाउँपालिका वडा नम्बर-१ उच्डीहवा घर भइ काठमाडौं महानगरपालिका वडा नम्बर १२ असनमा हार्डवयर तथा भाँडा पसल गर्दै आएका वर्ष ३५ का विजय चौधरीको ६ जना मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका ६ जनालाई प्रहरीले परासीमा पत्रकार सम्मेलन गरी सो कुरा सार्वजनिक गरेको हो । हत्याका मुख्य योजनाकारको रुपमा रामग्राम रामग्राम-५ ड्राइभर टोल बस्ने वर्ष ३७ का राजु साह भनिने मन्जुर आलम देवान रहेका छन् ।

मन्जुर आलम र उनकी श्रीमती वर्ष ३५ की हदिदुन नेसाले प्लास्टिकको डोरीले कसेर हत्या गरी रामग्राम-९ जोकवारको सडकछेउको नालीमा फालेको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिएका छन् । उक्त हत्या अभियोगमा काठमाडौंका २९ वर्षीय तलत अली खान, रौतहट गजुराका ३१ वर्षीय जितबहादुर श्रेष्ठ, रामग्राम नगरपालिका वडा नम्बर २ बस्ने शारदा देवी केवट र निजका श्रीमान वसन्त कुमार सहनी पक्राउ परेका छन् । पत्रकार सम्मेलनमा प्रहरीले निजहरुबाट बरामद भएको १७ लाख ३३ हजार ५ सय नगद, विभिन्न ब्रान्डका मोवाइल, सरकारी कार्यालयका छापहरु, हत्यामा प्रयोग गरिएको प्लास्टिकको डोरीलगायतका सामान सार्वजनिक गरिएको थियो ।

मृतक विजय चौधरी माघ १० मा काठमाडौंबाट आफ्ना ८ जना साथीसँग जग्गाको बैना गर्ने भनी भैरहवा आएर होटलमा बसेका थिए भने माघ ७ गते भैरहवामा रहेको यती होटलनजिक चिया पसलमा विजय चौधरी, तलत अली खान, राजु साह भन्ने मन्जुर आलम देवानबीच भैरहवामा भेट भएपछि सोही दिन २० लाख लिएर विजय चौधरी र मन्जुर आलम देवान परासी आएको उनीहरुले बयानका क्रममा प्रहरीसमक्ष बताएका छन् ।

पत्रकार सम्मेलनमा जग्गाको बैनापट्टा गर्ने भनी विजय चौधरी, राजु साह भन्ने मन्जुर आलम देवान भैरहवाबाट परासी आएका विजय चौधरीको ७ गते राति आफ्नै घरमा मन्जुर आलम देवान र श्रीमती हदिसुन नेशालाई प्रयोग गरेर हत्या गरेका थिए । मन्जुर आलम देवानले आफू बसिरहेको घर ऋणमा राखेको र श्रीमतीको नाममा समेत विभिन्न सहकारी र समुहबाट ऋण लिएको हुँदा उक्त ऋण तिर्न विजय चौधरीको हत्या गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको डिएसपी शाहीले जानकारी दिए ।

मृतक विजय चौधरीसँग रहेको २० लाखमध्ये १५ लाख ३३ हजार ५ सयको झोला मन्जुर आलमको दिदी रामग्राम नगरपालिका २ बस्ने शारदादेवी केवटलाई राख्न दिएको उक्त झोला निजको श्रीमान् वसन्तकुमार सहनीले रामग्राम नगरपालिकास्थित एक मोबाइलपसलमा राख्न दिएको र २ लाख सहनीको घरबाट प्रहरीले बरामद गरेको पत्रकार सम्मेलनमा बताइएको थियो । हत्याका मुख्य योजनाकार आलम दम्पतिलाई प्रहरीले महेसपुर नजिकबाट पक्राउ गरेको र पैसाकै प्रलोभनमा हत्या भएको देखिएको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी गराए । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मनोज कुमार यादवले गैरकानुनी कार्य गर्ने जो–कोहीलाई पनि कानुनी दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको प्रतिक्रिया दिए ।