वृषेशचन्द्र लालले छाडे लोसपा, पुनः दर्ता भएको तमलोपामार्फत राजनीति गर्ने

वृषेशचन्द्र लालले छाडे लोसपा, पुनः दर्ता भएको तमलोपामार्फत राजनीति गर्ने


लामो समयदेखि महन्थ ठाकुर नेतृत्वलाई साथ दिँदै आएका प्रभावशाली नेता वृषेशचन्द्र लाल लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट अलग भएका छन् ।

ठाकुर नेतृत्वको लोसपा नेपाल परित्याग गरेका लालले पुरानो पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) पुनः दर्ता गरेर सोही पार्टीमार्फत राजनीतिक गतिविधि गर्ने भएका हुन् ।

‘लोसपा संस्थागत रुपमा चल्न सकेन, लोसपा मात्रै होइन जसपा पनि संस्थागत रुपमा चल्न सकेको अवस्था छैन, एउटा केपी ओलीको पछाडि लागेको छ भने अर्को पार्टी प्रचण्डको पछिलागेको अवस्था छ,’ लालले भनेका छन्, ‘मधेस आन्दोलनको मर्म र भावनाविपरीत मधेसका नेताहरु सत्ता र कुर्सीका लागि ज्यान फाल्न थालेपछि मधेस आन्दोलनका आन्दोलनकारीहरुको भावनालाई सम्वोधन गर्न लोसपा छाडेको हुँ ।’

उनका अनुसार महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्वको पार्टीले मधेसकेन्द्रित दलको पहिचान गुमाउँदै गएकाले आफू पार्टी छाड्न विवश बनिएको हो ।

‘मधेस आन्दोलनमा सक्रिय साथीहरुको सल्लाहअनुसार तमलोपा निर्वाचन आयोगमा पुनः दर्ता भएको छ, अबको राजनीति म यसैबाट गर्ने निष्कर्षमा पुगेको छु,’ लालले अगाडि भने, ‘स्थानीय तहको निर्वाचनमा उम्मेदवार तमलोपाबाट खडा गर्ने गरी गृहकार्य भइरहेको छ, साथीहरु क्रमशः हामीसँग जोडिँदै जानुभएको छ ।’

उनका अनुसार रघुशंकरलाल कर्णको संयोजकत्वमा निर्वाचन आयोगमा पुनः दर्ता भएको तमलोपमा संविधानसभा सदस्य डा. विजय सिंहलगायतका मधेस आन्दोलनका सारथीहरु रहेका छन्, संगठन बिस्तारका लागि फागुन पहिलो साताबाट तराई मधेसका सबैजसो जिल्लामा औपचारिक कार्यक्रम गर्ने तयारीसमेत भइरहेको छ ।

लाल तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालकातर्फबाट राष्ट्रियसभा सदस्यमा पनि विजयी भएका थिए ।