‘मुकाम’ बुटवलमा, तर प्रदेश स्थापना दिवस दाङमा मनाउँदै लुम्बिनी सरकार

‘मुकाम’ बुटवलमा, तर प्रदेश स्थापना दिवस दाङमा मनाउँदै लुम्बिनी सरकार


लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा अझै सबै मन्त्रालय सरिसकेका छैनन् । दुई वटा मन्त्रालय सरे पनि मन्त्री र कर्मचारी बुटवलमै बस्छन् । पूर्वाधार नबनिसकेकाले दाङको देउखुरीमा मन्त्रालय सार्न समस्या छ । तर, लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय सरिनसक्दै दाङमा प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको छ ।

तीन दिनसम्म विभिन्न कार्यक्रम गरी दाङमा स्थापना दिवस मनाउने निर्णय गरिएको लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए ।

अहिलेसम्म प्रदेशका सबै काम कारवाही अस्थायी राजधानी बुटवलबाटै भरहेका छन् । तर प्रदेश सरकारले हालसम्म सञ्चालन भैरहेको क्षेत्र छाडेर प्रदेश स्थापना दिवस मनाउन दाङको देउखुरी रोजेको हो ।

मन्त्री शर्माका अनुसार फागुन १ देखि ३ गते सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो । मन्त्रालयहरु सरिनसकेको भए पनि प्रदेशको स्थायी राजधानी दाङ तोकिएकाले दाङमै स्थापना दिवस मनाउने निर्णय गरिएको उनले जानकारी दिए ।

कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राख्दा स्थापना दिवसमा प्रतिकात्मक कार्यक्रम गरिने उनले बताए । प्रदेश सरकारले यसपटक झाँकीसहितको प्रदर्शनको कार्यक्रम भने नगर्ने भएको छ । स्थानीय तहबाट पनि स्थापना दिवसमा सहभागिता नगराइने मन्त्री शर्माले बताए । स्थापना दिवसकै अवसरमा प्रदेश सरकारले घोषणा गरेका विभिन्न पदक सीमित संख्यामा सहभागी गराएर वितरण गर्ने तयारी छ ।