‘पात्र र प्रवृत्तिको आधारमा सत्याग्रहीलाई उपेक्षा गरिनु घोर अपराध’

‘पात्र र प्रवृत्तिको आधारमा सत्याग्रहीलाई उपेक्षा गरिनु घोर अपराध’


तारा बरालको आमरण अनशन नाजायज छ भने सरकारले कानूनी कार्वाही गरोस्, जायज भएमा माग पूरा गर्नेतर्फ पहल गरोस्, नत्र सहज मृत्युबरणका लागि इन्जेक्सन लगाइ मारिदेओस् भन्ने हृदयविदारक सन्देशले हाम्रो मथिङ्गल घुम्दैन भने हाम्रा मानवियता मरिसकेको रहेछ भनेर बुझ्नु जरुरी छ ।
  • जयराम बिडारी

परापूर्वकालको कथा-प्रसङ्गबाट यो लेखनी आरम्भ गर्दैछु । एक दिन सत्य र झुटको भेट भएछ । अनेक प्रसङ्गका बातचीत हुँदै गर्दा झुटले सत्यलाई भनेछ- ‘आज बडो रमाइलो अनि घमाइलो दिन छ, सँगै खेलौँ !’ हुन पनि त्यसदिन अद्भुत रमाइलो नै थियो । दुवैले धेरैबेर प्रकृतिमा डुल्दै खेल्दै रमाए । डुल्दाडुल्दै मध्यदिनमा उनीहरू एउटा इनारनेर पुगे । झुटले सत्यलाई फकाएछ- ‘उखर्माउलो गर्मी छ; इनारमा पसौँ र मज्जाले नुहाऔँ ।’ दुवैले सबै लुगा फुकाले र सर्वाङ्ग नग्न भएर इनारभित्र डुबुल्की मारे । केहीबेर इनारमा नुहाएपछि झुट पोखरीबाट एक्कासी बाहिर निस्क्यो र सत्यका सबै लुगा लगाएर अनि आफ्नो लुगा पनि लिएर भाग्यो । झुटले आफ्ना लुगा लगाएर हिँडेको चाल पाएपछि सत्य आफ्नो लुगा भेट्टाउन इनारबाट बाहिर निस्केर झुटलाई खोज्न लागिप¥यो, तर भेट्टाउन सकेन, बरु नाङ्गै हिँडिरहेको सत्यलाई देखेर दुनियाँले नाक खुच्याए, दुत्कार,े निन्दा–चर्चा गरे र सत्यतर्फ हेर्दैनहेरी अर्कोतिर मुन्टो बटारे । बिचरो सत्य आफ्नो लाज जोगाउन फेरि उही पोखरीमा फर्केर लाज लुकाउनको निम्ति पानीभित्र गायब भयो । हो, त्यसबेलादेखि नै सत्यको भेषमा झुट संसारभर घुमेको घुम्यै छ ।

दुनियाँमा आजकल सर्वाधिक रुचिको विषय पनि के हो भने समाजसापेक्ष झुट सर्वप्रिय छ नाङ्गो सत्य दुत्कारिएको छ । ठीक यही प्रसङ्गसँग मेल खाने आजको अवस्थामा एक असल समाजचिन्तकलाई यो समाजले पागलको उपनामले विभुषित गरिदिन्छ । नेपाली साहित्याकाशका महाकवि तथा दार्शनिक राजनीतिज्ञ रुपचन्द्र बिष्ट यसका प्रतिनिधिपात्रका रूपमा परिचित छन् ।

यो देशको भाग्य र भविष्य मतिहीन अनि गतिहीन नेताहरूले शासन-सत्ता सञ्चालन गरेकाले जीवनप्रतिको जीजीविषामा तुषारापात हुँदैछ । यो लेख कुनै अनशनकारीप्रतिको अनुराग र विरागको आग्रह र पूर्वाग्रह अनि दुराग्रहको निमित्त तैयार पारिएको सामग्री होइन न त कुनै निकायप्रतिको प्रतिशोध नै हो । तर नेपालमा बुद्धि बेचेर बाँच्ने कतिपय ब्यक्तिहरू अराजकताको कारखाना जस्तै भएका छन् भन्दा फरक पर्दैन ।

हाम्रा विचार हरू पनि समय क्रमसँगै विषाक्त भएका छन् । अर्थात्, हाम्रासामु देखिएका अत्यन्त समय–सान्दर्भिक र जल्दोबल्दो विषयबस्तुहरूलाई हामी सवब मिलेर प्रसारित गर्नैपर्छ ताकि कुम्भकर्णे निन्द्रामा मस्त रहेका सम्बन्धित सरोकारवालासम्म ती आवाज पुग्नुपर्छ र, तिनको निन्द्रा भङ्ग हुनुपर्छ भन्ने हामी सबैको सामूहिक अभियान हुनुपर्ने हो, तर त्यस्तो देखिएको छैन । आजकल दलविहीन मानिस बुद्धिजीवी नै कहलिँदैनन्, जो दलविहीन या स्वतन्त्र उभिएको हुन्छ उसको आवाज कसैले बुझ्दैनन्, सुन्दैनन् । सामाजिक अभियन्ता तारा बरालको सम्बन्धमा अहिले त्यस्तै देखिएको छ ।

हुन त चर्चित पात्र गोविन्द केसी पनि कुनै दनविशेषमा आवद्ध देखिँदैनन्, तर उनका जायज–नाजायज माग राज्यले छिटो सुन्छ, उनको मागलाई सम्बोधन गर्छ । त्यसको तुलनामा यो समाजले गंगामायाको आवाज सुन्नु आवश्यक ठान्दैन, साथै पति गुमाइसकेकी तारा बराल आफ्ना दुई सन्तानलाई अलपत्र छाडेर यो राज्यका हितका खातिर कुनै पनि राष्ट्रघाती सम्झौता गरिनु हुन्न, नागरिकता विधेयक खारेजी, देशले धान्न नसक्ने सङ्घीयता खारेजीलगायत सर्वोच्च अदालतको गतिरोध अन्त्यलगायतका प्रमुख मागसहितको निम्ति आफ्नो जिउज्यानको परवाह नगरी ८० दिनदेखि अनसनरत ‘विराङ्गना’ तारा बरालका बारेमा न मूलधारका कुनै मिडियाले विषय उठान ग¥यो न हिजो कालो टीका धारण गरेर ‘हामी यहाँ छौँ’ भन्ने अभियन्ताहरूले नै यस विषयमा दबाब दिन आवश्यक सम्झेका छन् । त्यसैले पनि हाम्रो सम्वेदनशीलता मरेको देखेर मिडियाकर्मी हुँ भनेर हिँड्ने कैयन यस पङ्क्तिकार जस्ता मानिसलाई मानवीय सम्बेदनशीलता मरेको देखेर आत्मग्लानी हुनुपर्छ कि झैँ लागिरहेको छ !

हामीकहाँ अनशन सङ्ख्याका आधारमा अनि अनशनकारीका आधारमा कृत्रिम भावुकतामा बहकिने नेपाली समाजको चरित्र पनि उदेकलाग्दो छ । डा. गोविन्द केसीको अनशनमा प्रमुखताका साथ आवाज उठाउने मूलधारका मिडिया अनि सँगसँगैै भावुकतामा बहकिने नेपाली समाजलाई गंगामाया र उनका स्वर्गीय पति नन्दप्रसाद अधिकारीको प्रसङ्गले किन भावुक बनाउँदैन ? गंगामायाले आफ्नो पुत्र गुमाएबापत अनशनकै क्रममा आफ्नो पतिसमेत गुमाउन पुगिन् । के हिन्दु परम्परानुसार उनले आफ्ना पतिको सगदसहित अन्तिम संस्कारसमेत गर्न नपाउने विषयबस्तु र मागका आधारमा भन्दा पात्र र प्रवत्तिका आधारमा सत्याग्रहीलाई उपेक्षा गरिनु हुँदैन । सत्याग्रहीलाई मृत्युश्ययामा राखेर वार्तालाई बेवास्ता गरिनु पनि हुँदैन । सरकारका लागि हरेक नागरिक समान हुनु पर्दछ । सरकार नागरिकहरूको अभिभावक हो । अभिभावकलाई सन्तानले केही अपेक्षासहित माग गर्छन् तर अभिभावक अफ्नो सन्तानको मग पूरा नगरी छिमेकीको सन्तानको माग पूरा गरिदिन्छ भने त्यस्तो आवारा बाबु (सरकार)के काम ? भन्ने जनगुनासो सर्वत्र रहिआएको छँदैछ । यसमा सरकारले ब्यक्तिविशेष र दबाबका आधारमा विषयबस्तुलाई कम र बढि महत्व दिनु पनि हुँदैन भन्ने जनस्तरमा ब्यापक चर्चा चल्ने गरेको देखिन्छ ।

नागरिक स्तरमा एमसीसी रुचाइएको विषय होइन जसरी महाकाली सन्धी रुचाइएको थिएन । नागरिक एमसीसी पास गरिनु हुन्न भनेर आमरण अनशन बसिरहेको छ सरकार आफ्नो नागरिकको आवाजलाई बेवास्था गर्दै माथिको प्रसङ्गअनुसार (छिमेकी) अर्थात् विदेशीको हित हुने गरी राष्ट्रिय स्वाभिमान गुम्ने गरी एमसीसी पास हुन नसके सरकार छाड्ने घुर्की लगाइरहेछ भने आमनागरिकले सरकारलाई संस्कारी वा आवारा कसरी बुझ्लान् ? यो गम्भीर चासो र चिन्ताको विषय हो ।

गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको २०६१ साल जेठ २४ का दिनमा माओवादीले हत्या गरेका थिए । हत्याका आरोपीहरू छविलाल पौडेल, जानुका पौडेल, पर्शुराम पौडेल र भीष्मराज पौडेलविरुद्ध चितवन जिल्ला अदालतमा २०७० साल चैत्र ३० देखि मुद्दा चलिरहेको छ । राजनीतिक संरक्षणका आधारमा मुद्दा फैसलामा ढिलाइ गरिएको गंगामायाको आरोप रहिआएको छ । आमरण अनशनकै क्रममा नन्दप्रसाद अधिकारीको मृत्यु भइ उनको शव शिक्षण असपतालमा परिरहेको अवस्था छ भने मुख्य आरोपीहरूले कानूनी सजाय नपाउन्जेल नन्दप्रसाद अधिकारीको सद्गत नगर्ने अडान गंगामायाको रहिआएको भए पनि उनले समेत मानवाधिकारीहरूको खास साथ/सहयोग नपाइरहेको अवस्था विदितै छ । नागरिक समाज, मानवाधिकार तथा कुनै अभियन्ताहरूले आजकल गंगामायालाई चिन्दैनन्, उनको आवाज गुमनामप्रायः छ ।

गोविन्द केसीको अनशन शुरु भएको पाँच दिनपछि लेखेर र बोलेर नथाक्ने नेपाली मिडिया, नागरिक समाज, विभिन्न राजनैतिक दल तथा अभियन्ता हरू यतिबेला कुन दुलोमा विलुप्त भए ? तिनका आवाज आज तारा बरालको अनशनका क्रममा धिमा मात्र होइन नसुनिने विषय भइरहेको विडम्बनापूर्ण अवस्था छ । अनशनका लागि पनि लैङ्गिक असमानताको यो ज्वलन्त उदाहरण होइन भनेर कसरी भन्न सकिन्छ ? यसमा मानवाधिकार आयोगको निरीहतालाई कसरी बुझ्ने ? द्वन्द्वका समयमा समेत निर्भीक रुपमा कार्य सम्पादन गर्ने मानवअधिकार आयोग यतिबेला तारा बरालको अनशनका क्रममा किन आफ्नो निरीहता प्रकट गरिरहेछ ? यो गम्भीर चासोको विषय भएको छ ।

रुस र युक्रेनको तनाव कम गर्नका लागि सडकमा निस्कन सक्ने कथित अधिकारवादीलाई तारा बराल जस्ती एउटी नारी अढाइ महिना अघिदेखि यो देशको हितका खातिर आमरण अनशनमा बसिरहेको कुराले छुँदैन भने यिनका अधिकार कर्म केका लागि लक्षित छ भन्ने कुरा हामीले बेलैमा बुझ्नु जरुरी छ । तारा बरालको आमरण अनशन नाजायज छ भने सरकारले कानूनी कार्वाही गरोस्, जायज भएमा माग पूरा गर्नेतर्फ पहल गरोस्, नत्र सहज मृत्युबरणका लागि इन्जेक्सन लगाइ मारिदेओस् भन्ने हृदयविदारक सन्देशले हाम्रो मथिङ्गल घुम्दैन भने हाम्रा मानवियता मरिसकेको रहेछ भनेर बुझ्नु जरुरी छ ।

यो देशमा जनताको सरकार छ भनेर नागरिकले निर्धक्क रूपमा कसरी बुझ्ने ? जबकि एक नागरिक देशका लागि मृत्यु शै्ययामा छटपटाइरहेको छ सरकार नागरिक समाज मिडिया अनि अभियन्ता भनिनेहरू त्यसबाट बेखबर छन् भने नागरिक सरकारको उपस्थिति मान्न सकिने अवस्था रहँदैन । त्यसैले पनि समाजसापेक्ष झुट सर्वप्रिय छ, सत्य दुत्कारिएको छ । यो समाजको एक नागरिक तारा बरालको जीवनरक्षाको निमित्त सबै सरोकारवाला निकायले समयमै उनको मागलाई यथासक्य सम्बोधन गर्ने पहल गरोस् र, उनको जीवनरक्षा गरोस् भन्ने अपेक्षा गरौँ ।