आइतबारदेखि म्याग्दीका प्राकृतिक तातोपानी कुण्ड र शिक्षण संस्था खुल्ने

आइतबारदेखि म्याग्दीका प्राकृतिक तातोपानी कुण्ड र शिक्षण संस्था खुल्ने


तातोपानी कुण्डमा डुबेर उपचार सेवा लिन पाइने

कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर ओमिक्रोन सङ्क्रमणका कारण म्याग्दीमा बन्द रहेका सबै क्षेत्र फागुन १ गतेदेखि खुला गरिने भएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आइतबारदेखि नियमित सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले जनाएको छ ।

शुक्रबार बसेको डिसिएमसीको बैठकले कोरोनाको जोखिम कायमै रहे पनि लामो समयसम्म बन्दलाई निरन्तरताभन्दा जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालनासहित खुल्ला गर्ने निर्णय गरिएको संयोजक एवम् प्रजिअ चिरञ्जीवी रानाले बताए । ‘कोरोनाको जोखिम अझै टरेको छैन्, सेवा सुचारु गरे पनि मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्छ’, प्रजिअ रानाको भनाइ छ । जिल्लाभित्र खोपको पहुँचमै नपुगेका तथा दोस्रो र बुस्टर डोज नलगाएकालाई अनिवार्य खोप अभियानमा सहभागी हुनसमेत अपिल गरिएको छ ।

त्यस्तै समूहमा खेलिने खेलमा भने क्षमताको जम्मा २५ प्रतिशत मात्रै उपस्थितमा सञ्चालन गर्न पाइने भएको छ । खुल्ला गरिएको क्षेत्रका साथै सरकारी, वित्तीय तथा भीडभाड हुने होटेल, रेष्टुरेन्ट तथा सार्वजनिक क्षेत्रमा सेवा लिन भने सेवाग्राहीले अनिवार्य खोप लगाएको कार्ड देखाउनुपर्ने जनाइएको छ ।

यसैबीच बेनी नगरपालिका-४ मा रहेको प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकालाई कुण्डमा स्नान गर्न पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतको सिक्किम राज्यबाट समेत नियमित आउने भएकाले जनस्वास्थ्यको पालनालाई अनिवार्य गरिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो । अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोग निको नभएकाले ३० हजारभन्दा बढी बिरामी वार्षिक रुपमा तातोपानीमा स्नान गर्न आउँछन् ।