प्रधानमन्त्रीले संसद् बैठक स्थगित गराएर आफ्नो बदनाम गराएको प्रचण्डको आरोप

प्रधानमन्त्रीले संसद् बैठक स्थगित गराएर आफ्नो बदनाम गराएको प्रचण्डको आरोप


प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित गरेको भए पनि आरोप भने आफूलाई लागेको भन्दै नेकपा माओवादी अध्यक्ष प्रचण्डले गुनासो गरेका छन् ।

‘जनयुद्ध दिवस’को अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा बैठक आफनो आदेश र निर्देशनमा नभइ प्रधानमन्त्रीको आग्रहमा स्थगित गरिएको खुलासा गरेका हुन् ।

‘कतिसम्म दुषप्रचार गरियो भने सदनको बैठक प्रचण्डको निर्देशनमा पहिला ६ दिन अनि अहिले १० दिन स्थगित गरिएको भनेर झुटो प्रचार गरियो, प्रचण्डलाई बदनाम गराउन अझै पनि लागिरहेका छन्,’ प्रचण्डले भने, ‘सञ्चारमन्त्रीले प्रधानमन्त्री र मेरैअगाडि सभामुखलाई फोन गरेर बैठक स्थगित गराउन लगाउनुभयो, प्रचारचाहिँ मैले गरेको भनेर आयो ।’

सशस्त्र युद्ध शुरु गरेदेखि नै माओवादी आन्दोलन र नेतृत्वलाई बदनाम गराउन लागिपरेकाहरुको त्यो क्रम अझै नरोकिएको प्रचण्डको भनाइ थियो ।

‘जनयुद्ध सुरु गर्दादेखि नै आन्दोलन र नेतृत्वलाई कमजोर पार्ने अनेक षडयन्त्र भएका थिए, नेतृत्वलाई सम्पुर्ण रुपमा सखाप पार्ने भनेर टाउको काट्ने र झोलामा ल्याउने कुरा देख्यौँ, भोग्यौँ तर जनताको त्याग र बलिदानको प्रतिवद्धताअनुसार परिवर्तनको कारक बन्न हामी सफल भयौँ,’ प्रचण्डले भने, ‘अहिले पनि नेतृत्वलाई बदनाम गराउन संघर्ष भिन्न रुपमा जारी छ, यो परिवर्तन उपलब्धि उल्टाउन नेतृत्वलाई के गरी बदनाम गराउन र सखाप पार्न सकिन्छ भनेर लागिरहेका छन, एउटा वर्ग यही अभियानमा छ ।’