एमाले सचिवालय बैठकपछि महासचिव पोखरेलले व्यक्त गरे यस्तो आशंका

एमाले सचिवालय बैठकपछि महासचिव पोखरेलले व्यक्त गरे यस्तो आशंका


नेकपा एमालेले सर्वोच्चमा विचाराधीन कतिपय मुद्दा प्रभावित गर्ने गरि प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोगको प्रस्ताव आएको निष्कर्ष निकालेको छ । उसले सर्वोच्चलाई सत्ताको निर्देशनबमोजम चल्ने निरीह निकाय बनाउन खोज्ने काम गठबन्धनले गरेको आरोप लगाएको छ ।

आइतबार बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले राणाविरुद्ध आकस्मिक षड्यन्त्रपूर्वक तरिकाले महाभियोग प्रस्ताव आएको एमाले महासचिव शंकर पोखरलले बताए ।

महाभियोग प्रस्ताव एमाले जनताको दबाबमा घोषणा भएको स्थानीय चुनाव धकेल्ने प्रयासस्वरुप आएको हुन सक्ने आशंका गर्दै उनले भने- ‘सचिवालय बैठकले अत्यन्त गम्भीर षडयन्त्रपूर्ण कदमको रुपमा महाभियोग दर्तालाई लिएको छ, यो अदालतमाथि मात्र नभइ लोकतन्त्रमाथिकै प्रहार, सार्वभौमसत्तामाथिकै प्रहार भएको निष्कर्ष छ ।’

यसले सत्तापक्ष र प्रतिपक्षबीच सुरु भएको छलफल समेत बिथोलिने उनले बताए । राजनीतिक प्रणालीलाई अस्थिर बनाउने उद्देश्यअन्तर्गत यो कदम अघिबढाइएकाले एमालेले गम्भीर ढंगले यसको प्रतिवाद गर्ने उनको भनाइ थियो ।

एमालेले यसैअनुसार निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको उनले जानकारी दिए । एमाले संसदीय दलको बैठक भोलिका लागि बोलाइएको छ ।