बीपीको पदचाप छोड्नुको पीडामा काङ्ग्रेस

बीपीको पदचाप छोड्नुको पीडामा काङ्ग्रेस


अन्तरपार्टी विग्रहले तीव्रता पाइरहेको परिवेशबीच नेपाली काङ्ग्रेसले ३६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने झारा टार्‍यो । यस अर्थमा झारा मात्र टार्‍यो कि अघि-अघि मेलमिलाप दिवसलाई काङ्ग्रेसले एउटा पर्वकै रूपमा भव्यता प्रदान गरी मनाउँदै आएकोमा यसपटक त्यस्तो भव्यताको किञ्चित अंशसम्म पनि कतै देखिएन । बीपी कोइरालाद्वारा प्रतिपादित या निर्देशित मार्गमा चल्ने कर्मलाई पछिल्लो चरणमा काङ्ग्रेसले जानिँदो-नजानिँदो किसिमले उपेक्षा गर्दै आएको अनुभूति नगरिएको त होइन । मन लगाएर मेलमिलाप दिवस आयोजना गर्ने, यस दिवसको महत्त्व र सान्दरि्भकता बुझ्ने/बुझाउने कर्मप्रति उपेक्षाभाव या झारा टार्ने प्रवृत्ति दर्शाउन थालेबाट यस पार्टीको अन्तरहृदयबाट सो दिवसप्रतिको हार्दिकता विलुप्त भइसकेको सन्देह पनि पैदा भएकै हो । गत शनिबार देशव्यापी रूपमा एकता र मेलमिलाप दिवस मनाउँदाको स्वरूपले उक्त आशङ्कालाई सत्य सावित गरिदियो ।
कतिपय काङ्ग्रेसजन ठान्दा हुन् कि युग कहाँबाट कहाँ पुगिसक्यो, यस्ता पुरातन नारा एकोहोरो बोकेर कहिलेसम्म हिँड्ने !- सधैं बीपीको नाम र काम भजाएर मात्र काङ्ग्रेसको गति कसरी सप्रन्छ !- त्यसैले परिवर्तन र परिमार्जनको सन्देश दिनकै लागि पनि काङ्ग्रेसले नवीन संस्कारको विकास गर्नुपर्छ ! हो, थोत्रा-पुराना प्रवृत्तिसँग लिसोजस्तो टाँस्सिएर कुनै दल, समूह या व्यक्तिले आफूलाई समयको गतिसँग समाहित तुल्याउन पनि सक्दैन । समय र विकास-प्रविधिको उन्नतिअनुरूपको ढाँचामा आफूलाई ढाल्न सक्नर्ैपर्छ । तर, यसरी चिन्तन-मन्थन गर्दैगर्दा कुन कुराको महत्त्व के छ, कतिबेला कसको अनुशरण गर्ने वा कसलाई कतिबेला तिरस्कार गर्ने भन्ने सवालमा पनि विचार पुर्‍याउन सक्नुपर्छ । जहाँसम्म बीपीले अङ्गीकार गरेका राष्ट्रिय एकता र मेलमिलाप नीतिको प्रश्न छ, उनले सो नीति तात्कालिक परिस्थितिका आधारमा अख्तियार गरेका भए पनि त्यसको सान्दरि्भकता अहिले झन् बढ्न पुगेको छ । उनका यस्तै दूरदर्शितापूर्ण सोच एवम् कदमहरूकै कारण बीपी सबैका नेताका रूपमा स्मरणीय बन्न पुगेका हुन् । फगत बीपीको व्यक्तित्वलाई बढाइचढाइ गर्नका लागि यसो भनिएको होइन । यथार्थमा बीपीलाई बढाइचढाइ प्रस्तुत गर्नुपर्ने आज आवश्यक पनि छैन ।
वास्तवमै मुलुकप्रति काङ्ग्रेसको जिम्मेवारी यतिबेला दोहोरो-तेहेरो छ, तर एकोहोरो जिम्मेवारी निर्वाहमा पनि ऊ चुकिरहेको छ । मुलुकलाई परिवर्तनको दिशा या प्रजातन्त्र प्रदान गर्ने आन्दोलनका प्रत्येक मोडमा आफूलाई हरतरहले होम्दै आएको पार्टी आज अस्तित्वरक्षाकै निम्ति सोच्नुपर्ने परिवेशबाट गुज्रँदै छ । अरूलाई डोर्‍याउनुपर्ने दलको हैसियत आज पिछलग्गुको जस्तो प्रतीत हुँदै छ । तथापि, यो किन र कसरी भइरहेको छ भन्ने प्रश्नमा घोत्लिने फर्ुसद काङ्ग्रेस नेतृत्वसँग सायद छैन । आपसी स्वार्थकै लागि लडभीडमा उत्रन भने काङ्ग्रेसीहरूसँग जति पनि समय छ । काङ्ग्रेसले आफूलाई चिन्न नसक्नुको परिणति हो यो ।
लोकतन्त्रको चर्का कुरा गर्दै नेपाली-नेपालीबीच विवाद र झगडा चर्काउने र नेपाललाई पङ्गु सावित गर्ने अनि अस्तित्व नै समाप्त पार्ने चाल कहीँकतैबाट चलिरहेको आशङ्का हरसचेत देशभक्त नेपालीले यतिबेला गरिरहेका छन् । यस्तै अपारदर्शी दुष्प्रयत्नलाई सबल बन्न सघाउने प्रकृतिका व्यवहार राजनीतिक दलहरूबाट भइरहेका छन् । नेपाली काङ्ग्रेस पनि यसबाट अछुतो छ भन्न नसकिने आधारभूमि तयार हुन पुग्नु विडम्बनाको विषय हो । जातीयता, क्षेत्रीयता र साम्प्रदायिकताले यस्तरी फँणा उठाइरहँदा त्यसलाई छेक्न काङ्ग्रेसका तर्फबाट खासै प्रयत्न हुन नसक्नु उसको अहम्माथि कठोर प्रहार हो । राष्ट्रिय एकता र मेलमिलापको मर्मभन्दा ठीक विपरीत यस्ता दुष्प्रवृत्ति मुलुकमा मौलाउनुको एउटा अर्थ त समसामयिक नेपाली राजनीतिमा नेपाली काङ्ग्रेस पछि पर्‍यो भन्ने पनि लाग्छ । अर्थात्, काङ्ग्रेसले आफ्नो सान्दरि्भकता गुमाउन पुगेकै हो त भन्ने सवाल यतिबेला पैदा हुन्छ । बीपीका पदचापलाई छोड्दै बाटो बदल्नुको अभिशाप नेपाली काङ्ग्रेस झेल्दै छ र अझ कति झेल्नुपर्ने हो पत्तो छैन ।