सोमबार देशभर ७४७ सङ्क्रमित थपिए, आठ जनाको मृत्यु

सोमबार देशभर ७४७ सङ्क्रमित थपिए, आठ जनाको मृत्यु



सोमबार नेपालमा थप ७४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ६९६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७३ हजार ५४१ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३७ हजार ६७७ रहेको छ । पछिल्लो समय थप दुई हजार ३१९ सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणमुक्त हुनेको सङ्ख्या अब नौ लाख ४० हजार ९०२ पुगेको छ । यो दर ९६ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९०० पुगेको छ भने पछिल्लो २४ घण्टामा थप आठ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो समय दुई लाख १६ हजार ११८ ले खोप लगाएको मन्त्रालयले जनाएको छ । हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ७३९ रहेको छ भने अहिले होम आइसोलेशनमा १९ हजार ९३० रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा ८०९, आइसीयुमा १७८ र भेन्टिलेटरमा ३४ जनाले उपचार गराइरहेका छन् ।