एमालेका सांसदमध्ये क-कसले गरेनन् खाली कागजमा हस्ताक्षर ?

एमालेका सांसदमध्ये क-कसले गरेनन् खाली कागजमा हस्ताक्षर ?


अत्यन्त तरल बन्न पुगेको वर्तमान राजनीतिक माहोलमा आवश्यक पर्न सक्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले खाली कागजमा आफ्ना सांसदहरुको हस्ताक्षर गराएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा हस्ताक्षर संकलन गरिएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

‘सम्पूर्ण सांसदहरुको हस्ताक्षर गरेर राखेका छौँ, आवश्यक परेको ठाउँमा यसलाई उच्चस्तरीय नेतृत्वमा छलफल गरेर अगाडि बढाउने कुरा हुन्छ’, प्रमुख सचेतक भट्टराईले भनेका छन् ।

तर, एमालेका पाँच सांसदले भने उक्त खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । सांसदहरू भीम रावल, घनश्याम भुसाल, झपटबहादुर रावल, पवित्रा निरौला खरेल र दीपकप्रकाश भट्टले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । खाली कागजको फाइलमा हस्ताक्षर गर्न अस्वीकार गरेकामध्ये भीम रावलले लिखितरुपमा नै असहति राखेका थिए भने अन्य चारले लिखित प्रतिक्रियाविना हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

हस्ताक्षर गर्न अस्वीकार गरेका सांसद झपट रावलले प्रयोजन थाहा नपाएका कारण हस्ताक्षर नगरिएको अभिव्यक्ति दिए । उनले प्रतिशोधको राजनीति गर्न नहुने भन्दै चित्त नबुझेको कुरा जनतामा भन्नुपर्ने प्रतिक्रिया जनाए ।

सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले आइतबार प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि त्यसको काउन्टरमा अन्य चार न्यायाधीशविरुद्ध एमालेले महाभियोग दर्ता गर्न सक्ने चर्चा यतिबेला ब्याप्त छ ।