टेलिफोन वार्ता भाइरल बनेपछि मन्त्री आलेको सचिवालयले भन्यो- ‘मन्त्रीविरुद्ध षड्यन्त्र भयो’

टेलिफोन वार्ता भाइरल बनेपछि मन्त्री आलेको सचिवालयले भन्यो- ‘मन्त्रीविरुद्ध षड्यन्त्र भयो’


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा उनीसम्बद्ध दलका नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका हुन् ।

सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन् ।

मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तररूपमा ब्ल्याकमेल गर्ने, उनलाई उत्तेजित तुल्याउने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले खेद प्रकट गरेको हो ।

पछिल्लो समय लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आम जनसमुदायलाई आग्रह गरिउको छ । नेता आले समाजवादीमा आवद्ध भएपछि उनविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक-पटक मानसिक तनाव दिने र अश्लिल शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुःख व्यक्त गरेको छ ।

ज्ञातव्य छ, यतिबेला मन्त्री आले र एक पुरुषबीच भएको टेलिफोन वार्ताको अडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त टेलिफोन वार्तामा मन्त्री आलेले पटकपटक अश्लील शब्द प्रयोग गरेका सुन्न सकिन्छ ।