file photo
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको घटनाबाट एमाले अध्यक्ष केपी शर्मा ओली स्तब्ध र क्रुद्ध बनेको भए पनि एमालेकै एकथरी नेता भने यसबाट प्रशन्न हुन पुगेको पाइएको छ । गत सोमबार(फागुन २ गते) नेकपा एमाले संसदीय दलको बैठकमा केही सांसदहरूले महाभियोगको खुलेर प्रशंसा गरे । भीम रावल, घनश्याम भुसाल र झपट रावल लगायतका वक्ताहरूले चोलेन्द्र शमशेर राणा विरुद्ध महाभियोग आउनु आवशयक र उचित भएको बताउँदै त्यसको स्वागत गरे । यस प्रकरणमा एमालेले प्रतिरोधी या प्रतिक्रियात्मक व्यवहार गर्न नहुने धारणा प्रकट गर्दै उनीहरूले अन्य न्यायाधीशलाई महाभियोग लगाउन नहुने सुझाव पार्टी नेतृत्वलाई दिए ।
तर संसदीय दलको बैठकका अधिकाङ्श सहभागीहरूले महाभियोगको विरोध गर्दै पार्टीलाई आवश्यक कदम चाल्न सुझाव दिएका थिए । पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सासदहरूको कुरा सुनिसकेपछि दिएको जवाफले सबैलाई हँसाएको थियो । ओलीले भनेका थिए- तपाईंहरूले योग्यता र क्षमता हेरेर आफ्नो नेता चुन्नुभएको छ उसले उचित समयमा सही र आवश्यक निर्णय लिनेछ ।’
एमालेको संसदीय दलको बैठकमा पाँचवटा कागजमा सांसदहरूलाई सही गर्न लगाइएको थियो । त्यसबाट पाँच जना विरुद्ध महाभियोग प्रस्ताव ल्याउन लागेको स्वतः अनुमान गर्न सकिन्थ्यो । परमादेशबाट सरकार हटाउन र शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न आदेश दिने संवैधानिक अदालतका न्यायाधीशहरू मध्ये चालेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भइसकेको छ । बाँकी चार (मीरा खड्का, दीपक कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई) लाई महाभियोग दर्ता हुने निश्चित भए पनि अर्को एउटा कसका विरुद्ध हुन सक्ला भन्ने प्रश्नमा एमाले सांसदहरूले एक आपसमा पटक-पटक चासो राखेका थिए ।
सपना मल्ल प्रधान र हरिकृष्ण कार्कीसँग एमाले नेतृत्व क्रुद्ध भएकोले तिनकै विरुद्ध महाभियोग लगाउन दस्तखत गराएको हुनसक्ने अनुमान पनि कतिपयले गरेका हुन् । तर एमाले नेतृत्व प्रकाशमान सिंह राउत प्रति ज्यादा असन्तुष्ट भएकोले उनकै विरुद्ध महाभियोग लाग्नसक्ने अनुमान पनि धेरैले गरेका थिए । पारित नहुने स्थिति भए पनि सभामुख विरुद्ध समेत महाभियोगको प्रस्ताव ल्याइनुपर्छ भन्नेमा कतिपय एमाले सांसदहरूले जोड दिँदै आएका थिए ।
प्रतिक्रिया