एमसीसी अनुमोदन गराउने कम्युनिष्ट काइदा !

एमसीसी अनुमोदन गराउने कम्युनिष्ट काइदा !


कम्युनिष्ट नेताहरूले अनुमोदन प्रक्रियामा सहभागिता नजनाउने र एमसीसी अनुमोदन भएलगत्तै त्यसविरुद्ध ‘कडा’ वक्तव्य जारी गर्दै एमसीसी अनुमोदनको विरोध गर्ने योजना बनेको बताइन्छ ।


‘क्रान्तिकारी’ कम्युनिष्टहरूले आफ्नो आत्मरक्षा गर्दै घुमाएर एमसीसी अनुमोदन गराउने भएका छन् । कुनै अप्रत्याशित घटना भएन भने अब एमसीसीको मुद्दा संसद्बाट टुङ्गो लाग्नेछ र, यसको अनुमोदन काङ्ग्रेस र मधेशकेन्द्रीत समूहहरूबाट मात्र गराएर आफूहरूलाई ‘पानीमाथिको ओभानो’ बनाउने प्रपञ्चमा कम्युनिष्ट नेताहरू लागेका छन् । अमेरिकाले विभिन्न च्यानलमार्फत कम्युनिष्ट नेताहरूलाई तर्साएपछि उनीहरू ‘लाइन’मा आएको विश्वास शेरबहादुर देउवा नेतृत्वको काङ्ग्रेस पार्टी र अमेरिकी अधिकारीहरूले गरेका छन् ।

अहिले संसद्मा कुल सङ्ख्या २६९ रहेको छ । २६९ मध्ये एमालेको ९६, काङ्ग्रेसको ६१, माओवादीको ४८, जसपाको १९ र लोसपाको १३ तथा स्वतन्त्र दुई छन् । माओवादी र माधव नेपाल एमसीसी अनुमोदनको प्रस्ताव संसद्मा टेबुल गर्न सहमत भए पनि उनीहरू आफ्नो ‘नाक’ र राजनीतिक भविष्य जोगाउन मतदानमा भाग नलिएर सदन बाहिष्कार गर्ने योजनामा छन् । त्यसपछि अर्को कम्युनिष्ट घटक एमाले पनि नाराबाजी गरिरहने र त्यसैबीच काङ्ग्रेस र मधेशकेन्द्रीत दलका सांसदहरूले (उपस्थितहरूको) बहुमतका आधारमा एमसीसी अनुमोदन गरिदिने छन् ।

सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर सन्देह पैदा भइरहेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरू नै सभामुखको भूमिकालाई लिएर सशङ्कित र हैरान छन् । कम्युनिष्ट नेताहरूले अनुमोदन प्रक्रियामा सहभागिता नजनाउने र एमसीसी अनुमोदन भएलगत्तै त्यसविरुद्ध ‘कडा’ वक्तव्य जारी गर्दै एमसीसी अनुमोदनको विरोध गर्ने योजनासमेत बनेको बताइन्छ ।