प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता टेबुल नहुने भएको छ ।
उक्त प्रस्तावलाई कार्यसूचीमा राख्ने/नराख्ने विषयमा सभामुख अग्नि सापकोटाको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता गठबन्धनभित्रै दुई थरी मत आएपछि आज पेस नगर्ने स्थिति बनेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताहरुले यस प्रकारको राष्ट्रिय विषयमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लाई सहमति नलिई अघि नबढ्ने विगतको अभ्यासलाई ध्यानमा राखेर निर्णयमा पुग्नुपर्ने बताउनुभएको थियो । प्रतिपक्षलाई विश्वासमा लिएर नजाँदा लोकतन्त्र ‘डिरेल’ हुने उहाँहरुको तर्क थियो ।
नेपाली कांग्रेसतर्फबाट गृहमन्त्री बालकृष्ण खाण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू लगायतले सो प्रस्ताव पेस गर्नुपर्ने अडान राख्नुभएको थियो । बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) भने अनुपस्थित रहेको थियो ।
यस क्रममा प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा. दमन सिह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया