file photo
अमेरिकाले गम्भीर रुपमा लिने र यसको प्रभाव देशमा नराम्रो पर्ने देउवाको तर्क
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार एक्लाएक्लै वार्ता भयो । प्रतिनिधि सभाको आजको बैठकमा एमसीसी टेबल गर्न प्रधानमन्त्री देउवाले जोड गरिरहँदा माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी पास गर्न खोजिए सरकारबाट बाहिरिने निर्णय गरेपछि दुई नेताबीच भेटवार्ता भएको थियो ।
एक्लाएक्लै भएको भेटपछि नेताहरुले आफूहरु निकटका नेताहरुलाई छलफलबारे जानकारी गराएका थिए ।
प्रचण्डले पार्टीमा अधिकांश एमसीसीको विपक्षमा रहेकाले परिमार्जन नगरि एमसीसी पास गर्न नसक्ने अवस्थामा आफू पुगेको बताएपछि प्रधानमन्त्री देउवाले जसरी पनि पास गर्नुको विकल्प नभएको जवाफ फर्काएका थिए ।
गठबन्धनभित्र नै विरोध देखिएपछि आफू समस्यामा परेको भन्दै देउवाले दुःखेसो पोखेको स्रोतको भनाइ छ ।
‘गठबन्धन बनाइयो तर तपाईंहरुले नै विरोधमा निर्णय गर्नुभयो यसले समस्या पर्यो’- देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
अमेरिकाले यसलाई गम्भीर रुपमा लिने र यसको प्रभाव देशमा नराम्रो पर्ने देउवाको तर्क थियो ।
वैदेशिक सहायता, अनुदानमा रोकावट आउने भन्दै यसले दीर्घकालीन रुपमा समस्या पर्ने र सरकार पनि अफ्ट्यारोमा पर्ने देउवाको भनाइ थियो ।
‘अमेरिकाले असहयोग गर्दा विश्व बैंक, मुद्राकोष, एशियाली विकास बैंक लगायत प्राप्त हुने कुराहरु हुँदेनन्’ देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘भारत लगायतका देशले पनि सहयोग नगर्ने अवस्था बन्न जान्छ।’
देउवाले बारम्बार भने, ‘तपाईंले सरकारको बाध्यता बुझिदिनु पर्यो ।’
सरकारले विकास निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने भएकाले एमसीसी पास गर्नुको विकल्प नभएकोमा देउवाको जोड थियो । आफ्नो पार्टीले एमसीसी पास गर्ने निर्णय गरिसकेकाले प्रधानमन्त्री र पार्टीसभापति भएपछि त्यसको कार्यान्वयनमा लाग्नुैपर्ने बाध्यता रहेको पनि उनले सुनाए ।
‘तपाईं पार्टीका कारण गर्न नसक्ने भएपछि मैले पनि त पार्टी निर्णयअनुसार अघि बढ्नुपर्ने हुन्छ’- देउवाले प्रचण्डलाई यसो पनि भन्न भ्याए ।
देउवाले प्रचण्डलाई एमसीसीको विपक्षमा मतदान गरेपनि सरकारमै बस्न र गठबन्धन कायम गर्न सकिने प्रस्ताव पनि गरेको स्रोतको दाबी छ, तर प्रचण्डले विपक्षमा मत दिएपछि नैतिकताको आधारमा सरकार र गठबन्धनमा रहन नमिल्ने तर्क गरेका थिए ।
दुई जनाबीच कुनै ठोस निर्णय नभएपछि गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्मालाई बैठकमा बोलाइएको थियो । खाण उपस्थित भए पनि धेरैबेरसम्म अर्थमन्त्री उपस्थित नभएपछि चार जनाबीचको बैठक भने हुन नसकेको स्रोतको भनाइ छ । त्यसपछि नेताहरुबीच भोलिका लागि गठबन्धनको बैठक बोलाउने सहमति जुटयो ।
प्रतिक्रिया