एमसीसी पास गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच मतभेद जारी छ । यही परिवेशमा आज निर्णायक छलफल गर्ने भन्दै गठबन्धनको बैठक हुँदैछ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका शीर्ष नेताहरूसँग बिहीबार दिउँसो ३ बजे हुने छलफलबाट एमसीसीबारे छिनोफानो हुनेछ । बुधबार एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबल गर्न जोडबल गरिरहेका प्रधानमन्त्री त्यसमा सफल हुन सकेनन् । गठबन्धनमा रहेका दलहरुकै असहयोगपछि एमसीसी जसरी पनि टेबल गर्ने देउवाको योजना सफल हुन सकेन ।
गठबन्धनको एक प्रमुख दल नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा पास गर्न जबर्जस्ती गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ भने अर्को दल एकीकृत समाजवादीले निर्णय गरेको छैन, तर उ पनि संशोधनपछि मात्र पारित गर्नुपर्ने पक्षमा रहेपछि देउवाले निर्णायक छलफल गर्न लागेका हुन् ।
माओवादी केन्द्रको संसदीय दलको बैठकको निर्णयबारे जानकारी गराउन र एमसीसीबारे थप छलफल गर्नका लागि अध्यक्ष प्रचण्ड बुधबार बिहान बालुवाटार पुगे, जहाँ उनले पार्टीको निर्णय र आफ्नो बाध्यताबारे प्रधानमन्त्रीलाई भनेका थिए ।
आफ्नो पार्टीका अधिकांश नेता कार्यकर्ता एमसीसीको विपक्षमा रहेकाले आफूले एक्लै निर्णय गर्न नसक्ने प्रचण्डले देउवासँग बताएका थिए । चुनाव नजिकिएको भन्दै उनले एक वर्षपछि सार्न प्रयास गर्नसमेत देउवालाई आग्रह गरे, तर देउवाले त्यसमा सहमति जनाएनन् ।
तत्काल एमसीसी पास गर्नुपर्ने दबाबमा रहेका देउवाले अमेरिकासँगको सम्बन्धमा समस्या आउने र आगामी दिनमा विश्वस्तरबाट आउने अनुदान, सहयोग रोकिने उनको भनाइ थियो । एक्ला एक्लै भएको भेटबारे दुवै नेताले आफूहरु निकट नेतालाई जानकारी गराएका थिए ।
गठबन्धन सरकारको नेतृत्व गरे सहयात्री दल नै विरोधमा उत्रिँदा आफू समस्यामा परेको देउवाको भनाइ थियो । पार्टीले गठबन्धनमा कुरा नमिले पनि अघि बढ्नु पर्ने दबाब दिइरँदा सहयात्री दलको यस्तो निर्णयले समस्या पर्ने बताए ।
त्यसपछि देउवाले भने, ‘यसरी अघि बढ्न समस्या हुन्छ, गठबन्धनको निर्णायक बैठक बोलाएर निर्णय गरौँ ।’
देउवाको प्रस्तावलाई प्रचण्डले स्वीकार गरे । गठबन्धनमा छलफल गरेर साझा बिन्दू खोजी गर्न सकिने प्रचण्डको विश्वास रहेको बताइन्छ । एमसीसी प्रकरण र नेपालको राजनीतिलाई नियाल्दै आएका विश्लेषकहरु भने बिहीबार हुने छलफलबाट पनि एमसीसीको छिनोफानो हुन नसक्ने दाबी गर्छन् । प्रधानमन्त्री देउवा एमसीसीको पासोमा जसरी परेका छन्, उस्तैगरी प्रचण्डले समेत उनलाई चेपुवामा पारेका छन् । अनेक अमूर्त प्रकारका त्रास पैदा गरेर प्रचण्डले देउवालाई अनिर्णयको बन्दी बन्न विवश पारेका विश्लेषकहरुको बुझाइ छ ।
प्रतिक्रिया