प्रधानमन्त्रीको जिल्ला-सदरमुकाम : पानी परे हिलाम्मे घाम लागे धुलाम्मे !

प्रधानमन्त्रीको जिल्ला-सदरमुकाम : पानी परे हिलाम्मे घाम लागे धुलाम्मे !


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरा जिल्लालााई प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला भनेर पनि चिनिने गरेको छ । पटक-पटक गरी पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाको गृहजिल्लाका सडकको अवस्था भने दयनीय छ । सडकहरू दिनानुदिन बिग्रिँदै गएका छन् तर मर्मत–सम्भार गर्ने दायित्व बोकेको निकाय भने निकम्मा सावित भइरहेको छ ।

डडेल्धुरा जिल्ला सदरमुकामअन्तर्गत महाकाली राजमार्गमा खाल्टैखाल्टा परेका छन् । खाल्टाखुल्टी पुर्न सडक डिभिजन कार्यालयले माटो प्रयोग गरेकोले वर्षा हुँदा हिलाम्य र घाम लागे धुलाम्मे हुने गरेको छ । सडक आफैमा साँघुरो छ, त्यसमाथि जिल्ला सदरमुकामको राजमार्गअन्तर्गत बागबजारदेखि कीर्तिपुरसम्म कयौँ ठाउँमा खाल्टैखाल्टा छन् । खाल्टाखुल्टीमा पुरिएको माटोका कारण हल्का मात्र वर्षा भए पनि सडक सतह पूरै चिप्लो बन्ने गरेको छ, जसले गर्दा दुर्घटनाको जोखिम उच्च हुन पुग्छ ।

डडेल्धुरा जिल्ला सदरमुकाम भएर जाने सुदूरपश्चिमको प्रमुख राजमार्गमा खाल्टाखुल्टीले यातायातका साधनलाई आवागमनमा सकस पारेको छ । सडक साँघुरो छ, त्यसमा पनि खाल्टाखुल्टी भएकाले दुर्घटनाको जोखिम बढिरहेको छ । सडकमा अधिकतम् भार भएका गाडीहरू दिनहुँ बढेपनि सडकको क्षमता नबढ्दा दुर्घटनाको जोखिम उच्च रहेको हो ।

जिल्ला सदरमुकामअन्तर्गत मुख्य बजार बागबजारदेखि कीर्तिपुरसम्मको तीन किलोमिटर महाकाली राजमार्ग सडकखण्डमा एकोहोरो रूपमा खाल्टाखुल्टी भएको लामो समय बितिसक्दा पनि सम्बन्धित निकायको ध्यान नजाँदा सडक प्रयोग गर्ने सवारीसाधन र पैदल यात्रुहरूलाई समेत सास्ती भएको हो ।

सुदूरपश्चिमको हिमाली जिल्ला दार्चुला र बझाङदेखि तराईलगायत सुदूरपश्चिम प्रदेशका नौ जिल्ला र सङ्घीय राजधानीसम्म गुड्ने गाडीलाई यो राजमार्गमा खाल्डाखुल्टीले साइड दिन र अगाडि बढ्न गतिरोध हुनुका साथै सडक दुर्घटनाको सम्भावना अत्यधिक बढाएको स्थानीय बासिन्दा नेत्रप्रसाद अवस्थीको गुनासोे छ ।

सुदूरपश्चिमको सुन्दर केन्द्र, पर्यटन गन्तव्यको हब भनिने डडेल्धुरा जिल्लाको सडकको दूरावस्थाले बिरामीको उद्दार गर्ने एम्बुलेन्स, सडक सुविधा उपयोग गर्ने विद्यार्थी बाहनलगायत सर्वसाधारणलाई पनि सहिनसक्नु भएको स्थानीय समाजसेवी वीरबहादुर देउवा बताउँछन् ।

सदरमुकाममा दिन-प्रतिदिन ठूला तथा साना गाडीसँगै मोटरसाइकलहरू थपिँदै गएका छन् । लामो रुटका गाडीहरू पनि त्यत्तिकै छन् । ठुला गाडीलाई त झन् साइड दिन पनि अत्यन्त समस्या पर्ने गरेको छ । त्यसैमा बजारमा ट्राफिक जाम नभएको दिन हँुदैन । बजार अस्तव्यस्त छ र सो बाटोमा मन्त्रीदेखि स्थानीय सरकारका प्रमुखहरू दिनहुँ पटकपटक ओहोरदोहर पनि गर्छन् र पनि कसैले चासो नराखेको भन्दै नागरिक अभियन्ता गोविन्द खडायतले गुनासो गरे ।

सडकमा निर्माण सामग्रीहरू अन्धाधुन्ध तरिकाले लछारेर अनुशासनविपरीत ढुवानी गर्दा र दिनहुँजसो सडकमा पानी बगिरहँदा सडक क्षतिग्रस्त भएको स्थानीय बताउँछन् । स्थानीय तह वा सडक डिभिजन कार्यालयले प्रभावकारी मापदण्ड नबनाउनु र नियमनमा पनि लापर्वाही रहेको स्थानीयको बुझाइ छ ।

आवश्यक समयमा मर्मतसम्भार गर्नेतर्फ वास्ता नहुँदा सडकको अवस्था जिर्ण र दयनीय बन्दै गएको छ । कुनै पनि निकायको गम्भीर रूपले ध्यान नदिँदा महाकाली राजमार्ग दिन-प्रतिदिन जोखिमपूर्ण बन्दै गइरहेको छ । स्थानीय सरोकारवाला निकायले उदासिनता दर्शाएको यस समस्या समाधानका लागि अब प्रधानमन्त्रीकै दृष्टि पुग्ने कहिले हो ?- स्थानीय जनता प्रतीक्षारत छन् ।