आज संसदमा टेबुल होला एमसिसी ?

आज संसदमा टेबुल होला एमसिसी ?


त्यसअघि सत्ता-गठबन्धनबीच छलफल हुने, कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्ने

संसदबाट एमसीसी पारित गर्न अमेरिकाले पछिल्लो पटक दिएको समयसीमा समाप्त हुन १० दिन मात्र बाँकी छ । १६ फागुनभित्र एमसिसी पारित नभए थप कदम चाल्ने एमसिसी मुख्यालयले चेतावनी दिइसकेको छ ।

तर, सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसिसी संसदमा टेबुलसमेत हुन सकेको छैन । सत्तासिन नेपाली कांग्रेस जसरी पनि एमसिसी टेबुल गर्नुपर्ने पक्षमा भए पनि खासगरी माओवादी केन्द्र र एकीकृत समाजवादी अहिलेको अवस्थामामा अगाडि बढाउन नहुने अडानमा छन् भने प्रमुख प्रतिपक्षी एमाले पर्ख र हेरको अवस्थामा छ ।

यही तिगडमका कारण बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमसिसी टेबुल हुन सकेन, बरु सत्तासिन दल माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संस्था नै सडकमा उत्रिए । सहमति जुटाउने भन्दै बिहीबार बसेको सत्ता गठबन्धनको बैठक पनि निरर्थक नै बन्यो ।

यही अन्यौलका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भए पनि एमसिसी टेबुल हुने सम्भावना न्यून रहेको एक मन्त्रीले बताए ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा पनि एमसिसी उल्लेख छैन, बरु प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७/७८’ पेस हुने कार्यसूची छ ।

प्रतिनिधिसा बैठक अघि सभामुख अग्नि सापकोटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । यस्तै, पाँचदलीय सत्ता गठबन्धनको बैठक पनि आज बिहान बस्दैछ । एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता-गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेको हो ।