पासपोर्ट र भिसाविना कसरी आइपुगे बंग्लादेशी युवा नेपालमा ?

पासपोर्ट र भिसाविना कसरी आइपुगे बंग्लादेशी युवा नेपालमा ?


अनौपचारिक क्षेत्रमा काम गर्ने विदेशी श्रमिकबारे नेपाल सरकार बेखबर रहेको छ । श्रम इजाजतविना काम गर्ने विदेशी श्रमिक कति छन्- सरकारसँग तथ्याङ्क छैन । यस्ता प्रकारका घटनाले जोखिमको स्थिति सृजना गर्न सक्छ । यसविरुद्धमा सरकारले चाँडै ठोस कदम उठाउनुपर्छ ।

  • रसना ढकाल

‘पासपोर्ट र भिसाविना हामी नेपाल प्रवेश गऱ्यौँ । नेपाल र भारत प्रवेश गर्न सजिलो रहेछ म्याम ! हामी आरामपूर्वक नेपाल आइपुग्यौँ । भारतीय सीमामा सुरक्षाकर्मीले पनि सोधेनन्, न नेपाल छिर्ने बेलामा नै सोधपुछ गरियो…।’ अवैधानिक रूपमा नेपाल प्रवेश गरेर नेपालमै रहँदै आएका दुई बंग्लादेशी युवाको अभिव्यक्ति हो यो ।

केही दिनअघि एक कामविशेषले धापासीमा रहेको सामाजिक संस्थामा पङ्क्तिकार पुग्दा उनीहरूसँग भेट भयो । उनीहरू बंग्लादेशको नागरिक भए पनि हिन्दी अलिक कम बोल्न सक्ने रहेछन् । मैले दुई जनालाई पालैपालो ‘नेपाल कसरी आयौ ? के भनेर ल्याइयो ?’ लगायतका प्रश्न सोध्दै गएँ । उनीहरूको जवाफ थियो- ‘नेपालबाट युरोप जान सजिलो छ, जम्मा १ लाख २० हजार लाग्ने र नेपालमै घर बनाउने काम गर्ने हो भने पनि महिनाको ४० हजार टाका पाइन्छ भनेर हामीलाई बिचौलियाले भनेको थियो ।’

गत भदौ २० गते भारतको सिलगुडी हुँदै १० जना बंग्लादेशी युवा काँकरभिट्टाको नाका प्रयोग गर्दै नेपाल प्रवेश गरेका थिए । अब्दुल मातेम बंग्लादेशी बिचौलियामार्फत नेपाल प्रवेश गरेका उनीहरूलाई एक-एक जना गर्दै भारतको सिलिगुडीबाट खोला तरेर प्रवेश गराइएको थियो । बंग्लादेशको सिलेट नाम गरेको स्थानबाट नेपाल आइपुग्न करिब ४ दिन लागेको उनीहरू बताउँछन् । नेपालमा मजदुरीको काम गरेपछि ४० हजार टाका पाइन्छ र नेपालबाट युरोप जान सजिलो छ, जम्मा १ लाख २० हजार लाग्छ भनेर ल्याइएको उनीहरूले बताए ।

बंग्लादेशको सिलेट क्षेत्रका ती युवाहरू बडो नाटकीय पाराले नेपाल आइपुगेका रहेछन् । भारत र बंग्लादेश सीमानजिकका बासिन्दा रहेका ती युवाहरू मज्जाले हिन्दी बोल्न सक्ने रहेछन् । हिन्दी बोल्न सक्ने भएकोले बिचौलियालाई नेपाल प्रवेश गराउन सजिलो भएको खुलासा गर्छन् उनीहरू । भारततिरका सुरक्षाकर्मीले आफूहरूलाई भारतीय नै ठानेको उनीहरूको भनाइ छ ।

नेपाल आएपछिको अवस्था :

पङ्क्तिकारले भेटेको दुई बङ्लादेशी युवा १९ र २३ वर्षका छन् । उनीहरूको भनाइअनुसार भदौ २४ गते उनीहरू काँकरभिट्टाको नाका हुँदै सहज तरिकाले नेपाल प्रवेश गरे । त्यसपछि रात्रिकालीन सेवामा रहेको गाडीमा उनीहरूलाई काठमाडौं ल्याइयो । अब्दुल मातेम नाम गरेको एक बंग्लादेशी बिचौलियामार्फत नेपाल आएका ती युवाहरू भदौ २५ गते बिहान काठमाडौं आइपुगे र उनीहरूलाई नक्सालस्थित बालमन्दिरमा राखियो (बालमन्दिरमा यस घटनाबारे सोधपुछ गर्दा उक्त मितिमा अब्दुल्लाह थर भएको कोही व्यक्ति बसेको प्रमाण नभएको र बालमन्दिरमा बाहिरका कसैलाई आश्रय नदिइने एक अधिकारीले बताए ।) तर ती युवाहरूले आफूहरू बालमन्दिरमा तीन दिन बसेको दाबी गरे । तीन दिन बालमन्दिरमा बिताएपछि बिचौलियाले सिंहदरबारभित्र घर बनाउने काममा मजदूरको रूपमा प्रयोग गऱ्यो । बिचौलियाले ती युवाहरूलाई जुन-जुन ठाउँमा काम गर्न लैजान्थ्यो उनीहरूको मजदुरीवापत पाएको पैसा सबै आफैले लैजान्थ्यो । अर्थात्, ती केटाहरूको हातमा पैसा पर्दैनथ्यो । यसरी सिंहदरबार, पुरानो बानेश्वर हुँदै ललितपुरको धोविघाटसम्म घर बनाउने काममा ती युवाहरूलाई प्रयोग गरियो तर पैसा सबै बिचौलियाले लिएर गए । उनीहरूलाई खान र बस्न एक होटलमा बिचौलियाले भनेको थियो तर त्यो होटलको नाम उनीहरूले बताउन सकेनन् ।

आफूले पाएको ज्याला सबै बिचौलियाले लिएर गएको कारण एक दिन ती युवाहरू बिचौलिया माथि आक्रामक रूपमा प्रस्तुत भए । युवाहरूले आफ्नो पारिश्रमिक मागेपछि बिचौलिया र साथमा आएका ८ जना युवाहरू पनि फरार भए । तिनीहरू अहिले काँहा छन्, कुन अवस्थामा छन् केही थाहा नभएको उनीहरूको भनाइ छ । रोजगारीको आशा र तेस्रो मुलुक जाने प्रलोभनमा परेर गैरकानुनी रूपमा नेपाल प्रवेश गरेका ती बङ्गाली युवाहरू एक व्यक्तिमार्फत समाजिक संस्थाको आश्रय स्थलमा पुगे । हाल उनीहरू नेपाल आएको ६ महिना बितिसक्यो । उनीहरूलाई स्वदेश पठाउन पहल भइरहेको सम्बन्धित संस्थाका आवासगृह प्रमुख अभिमान सिंह लामाले जानकारी दिए ।

श्रमको चाहमा भौँतारिएको जीवन :

युवा अवस्था एक यस्तो अवस्था हो, जहाँ म केही गर्छु भन्ने आत्मविश्वास पलाएको हुन्छ । पारिवारिक अवस्थाको कारण रोजगारी पाउन भौँतारिएका जिन्दगी हामी अनेक देख्न सक्छौँ । माथि प्रस्तुत घटनाबाट नेपालको भूमिमा श्रमको प्रलोभन देखाइ अनाधिकृत रूपमा तेस्रो मुलुकबाट पनि ल्याइँदोरहेछ भन्ने बुझ्न सकिन्छ । वैदेशिक रोजगारको शिलशिलामा आफूले काम गर्ने स्थान, कामको प्रकृति वा अवस्थाबारे युवाहरूलाई जानकारी नहुँदा विदेशको भूमिमा बेचिएका/ठगिएका घटना प्रायःजसो दिनहुँ सुन्नमा आउँछ । तर नेपालमा पनि यसरी रोजगारीको प्रलोभन देखाएर बाह्य मुलुकबाट मानिस ल्याइँदोरहेछ भन्ने बुझ्न माथिको सन्दर्भ काफी छ । यसबारे सरकारले एक्सन लिन आवश्यक हुन्छ ।

गैरकानूनी रूपमा बस्न पाउने कि नपाउने ?

देशले आफ्नो नागरिकको जिउधनको सुरक्षा गर्न सकेन, नागरिकमाथि चरम याताना हुन थाल्यो भने नागरिक आफ्नो सुरक्षाको लागि परदेशको भूमिमा शरण या आश्रय लिन्छ जसलाई हामी शरणार्थी भन्छौँ । शरणार्थीहरूको लागि छुट्टै कानून नभएता पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार गाँस, बास र कपास जस्तो आधारभूत आवश्यकताबाट शरणार्थीहरूलाई वञ्चित गर्न नहुने र उनीहरू जुन देशमा प्रवेश गरेका छन् त्यस देशको कानून पालना गरी अनुशासनमा बस्नुपर्ने उल्लेख छ । र, उनीहरूले प्रयोग गरेको भूमिको राज्यले पनि तिनीहरूको सुरक्षाको जिम्मा लिनुपर्ने हुन्छ । तर गैरकानूनी रूपमा कोही पनि कहीँ बस्न पाउँदैन ।

सन् १९५० मा नेपाल र भारत दुइ देशविच द्धिपक्षीय मैत्री सन्धि भयो । फलस्वरुप दुवै देशका नागरिकले सीमानामा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने सम्झौता भयो । सोहीबमोजिम हालसम्म नेपाल भारतको सीमा खुला नै छ । नेपाल भारत जस्तो खुला सीमाना अन्यत्र कुनै मुलुकमा देख्न पाइँदैन । भारत र नेपाल प्रवेश गर्न पासपोर्ट र भिसाको प्रयोग हुँदैन तर तेस्रो मूलुकको लागि अनिवार्य रूपमा प्रवेशाज्ञा हुनुपर्छ । हरेक मूलुकको आफ्नो अन्तर्राष्ट्रिय नीति हुन्छ र, सोहीबमोजिम एक देशको नागरिक अर्को देशमा प्रवेश गर्न राहदानी र प्रवेश आज्ञा भिसा आवश्यक पर्छ । यदि कोही व्यक्ति अनाधिकृत रूपमा अर्को मुलुकमा प्रवेश गरेको छ भने स्थानीय प्रशासनदेखि सम्बन्धित नागरिकको राजदूतावास समेतलाई चासो हुन्छ । तर माथिको घटनामा बंग्लादेश राजदूतावासले खासै एक्सन लिएको देखिँदैन ।

आधिकारिक कागजपत्र नभएको विदेशी नागरिकलाई उसको देश फर्काउनमा अध्यागनम विभागको के भूमिका हुन सक्छ भन्ने जिज्ञासा राख्ने अध्यागमन विभागका प्रवक्ता शेखर पौडेल भन्छन्- ‘कोही पनि विदेशी नागरिकले आफनो स्थितिबारे वास्तविक कुरा के हो सही–सही बताउनुपर्ने हुन्छ, अनि मात्र प्रक्रिया अघि बढाउन सकिन्छ । यता मानव बेचविखन अनुसन्धान ब्युरोले बंग्लादेशी युवाहरू अनाधिकृत रूपमा नेपाल प्रवेश गरेको र आश्रय स्थलमा बसेको थाहा पाएपछि वास्तविकता थाहा पाउन अनुसन्धान गरिहेको छ ।

बाहिरी मूलुकमा श्रमको लागि जाँदा नेपाल सरकारबाट श्रम इजाजत लिनुपर्ने हुन्छ । श्रम विभागका अनुसार हालसम्म नेपालमा १९ मुलुकका नागरिकले श्रम इजाजत लिएका छन् भने १५ हजार जति विदेशी श्रमिकले नेपालमा श्रम इजाजत लिएका छन् । बाहिरी देशका नागरिकहरूमा अमेरिका, भारत, बेलायत, चीन भारत र अस्ट्रेलियाका श्रमिकहरू रहेका छन् । ती श्रमिकहरू उत्पादन तथा विशिष्ट निर्माण क्षेत्रमा प्रयोग भएको देखिन्छ, तर अनौपचारिक क्षेत्रमा काम गर्ने विदेशी श्रमिकबारे नेपाल सरकार बेखबर नै रहेको छ । श्रम इजाजतविना काम गर्ने विदेशी श्रमिक कति छन्- सरकारसँग तथ्याङ्क छैन । यस्ता प्रकारका घटनाले जोखिमको स्थिति सृजना गर्न सक्छ । यसविरुद्धमा सरकारले चाँडै ठोस कदम उठाउनुपर्छ ।