‘जुम्ला प्राङ्गारिक जिल्ला घोषणा’ कागजमा मात्र, कृषक विषादीतर्फ आकर्षित !

‘जुम्ला प्राङ्गारिक जिल्ला घोषणा’ कागजमा मात्र, कृषक विषादीतर्फ आकर्षित !


  • दिलमाया शाही, जुम्ला

२०६४ सालमा प्राङ्गारिक जिल्ला भनेर घोषणा गरिएको जुम्लामा २०७८ सालमा पनि जुम्लाका किसानले ब्युटाक्लोर भन्ने झारनाषक विषादी प्रयोग गर्न छोडेका छैनन् । प्राङ्गारिक जिल्ला घोषणा कागजमा मात्र सीमित हुँदा कृषकहरु भने विषादी तर्फ आकर्षित भएका छन् ।

जुम्लाका किसान रामकृष्ण बुढ्थापा भन्छन्, ‘साविकको जिल्ला कृषि विकास कार्यालय, एसएनभी नेपालको सहयोगमा संचालित एचभिए-आइबी पाइलट प्रोजेक्ट र वर्ल्ड भिजनको सहयोगमा यहाँको स्याउको अर्गानिक प्रमाणीकरणका लागि कृषक समूह गठन गरेर प्रक्रिया सुरु भएको छ ।’

‘१४ वर्ष पूरा भयो यस कुनै लोखाजोखा छैन । अहिले झारपात व्यवस्थापन गर्ने भन्दै कृषकहरुले ब्युटाक्लोर भन्ने झारनाषक विषादी प्रयोग गर्दै आएका पाइन्छ । त्यो कार्य रोकिएको छैन । नाम मात्रै प्राङ्गारिक जिल्ला भएर के गर्ने ? हाल कुनै पनि उपजको प्राङ्गारिक प्रमाणीकरण छैन’, किसान बुढथापाले भने, ‘जुम्ली काली मार्सी धानको आफ्नै ब्राण्ड छ । त्यस्तै स्याउ र सिमिको पनि छ, ब्राण्ड बनेको छ, तर यहाँको नाम बेचेर अरु जिल्लाले फाइदा लिइरहेका छन् ।’

गोडमेल गर्न सहज हुने भन्दै किसानले झारनाषक विषादी प्रयोग गर्दै आएका छन् ।

के फाइदा ?

जुम्लामा प्राङ्गारिक जिल्ला घोषणा गरेर कृषकहरुले के पाए ? उत्पादन गुणस्तरको नहुँदा जुम्ली स्याउको माग काठमाडौंमा मनाङ र मुस्ताङको जति पनि छैन। हिउँदमा कालीकोट, मुगु र नेपालगंजबाट विषादी प्रयोग गरेको तरकारी यहाँका प्राङ्गारिक कृषकहरुले उपभोग गरिरहेका जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले भने,’के यसैको लागि जुम्ला जिल्लालाई प्राङ्गारिक घोषणा गरिएको हो ? यो यथार्थ बुझेर प्राङ्गारिक कृषिको बहस गर्न आवश्यक छ’ उनले भने, ‘हामी अर्गानिक जिल्ला भन्छौ साउन महिनामै काँचो स्याउ टिप्छौँ । स्थानीय तह र सम्बन्धित निकायले पनी यस बिषयमा ध्यान दिन सकेको छैन ।’

जैविक विषादी र मल आवश्यक

जुम्लाको स्याउ नर्सरीमा विषादी प्रयोग नगर्ने हो भने कृषकहरु किरा तथा रोगबाट बिरुवा बचाउनै नसक्ने बताउँछन् । प्राङ्गारिकका नाममा रोगी बिरुवा उत्पादन र बिक्री गर्न नसकिने उनीहरुको भनाइ छ ।

जैविक विषादी जुम्लामा पाईँदैन । मानिसहरुले सर्भो तेल र निम जन्य विषादी प्रयोग गर्छन्, ती विषादीले कामै गरेको छैन। विषादीको प्रयोग बिना स्याउको स्वस्थ बिरुवा निकाल्न असम्भव भएको कृषि विज्ञहरुको भनाइ छ ।

बिरुवाको अन्य जिल्लामा माग हुँदाहुँदै पनि गुणस्तरकै कारणले प्रयाप्त मात्रामा निर्यात गर्न सकिएको छैन ।

कर्णाली प्रदेशको उच्च पहाडी जिल्लाहरुमा पाइने देवदारको तेल प्रयोग गर्दा अधिकांश किरा नियन्त्रण हुने उक्त तेल प्रयोग गर्दै आएका कृषकहरु बताउँछन् । त्यस्ता तेल उत्पादन गर्ने प्रशोधन केन्द्र स्थापना गर्न कृषकहरुलाई अनुदान सहयोग गर्न आवश्यक रहेको र यस्ता चिजहरु रासायनिक विषादीको विकल्प हुन सक्ने कृषि विज्ञहरुको भनाइ छ ।

प्राङ्गारिक कृषिका आधार स्तम्भहरु जस्तैः गोठेमल, कम्पोष्ट मल, गँड्यौली मल, हरियो मल, प्रभावकारी सूक्ष्म जिवाणु र जैविक विषादीहरुको सघन उत्पादन र प्रयोग गर्न कृषकहरुलाई सहजिकरण गरे जुम्लाको तरकारी, स्याउको लगायत अन्यबालीमा अर्गानिक उत्पादन गर्न आफूहरु तयार रहेको कृषकहरुले बताए ।

प्राङ्गारिक मलखाद कारखाना खोलौँ

जिल्लामा मध्यम खालका प्राङ्गारिक मलखाद कारखाना खोलेर कृषकलाई प्रेरित गर्न सकिए फाइदा पुग्ने गणेश अधिकारीले बताए ।

उनले भने, ‘अनुदान दिँदा पनि स्थानीय कारखानाबाट उत्पादन भएको मलखाद प्रयोग गर्नेलाई अनुदान दिने मापदण्ड बनाउन आवश्यक छ । अनि मात्र दिगो र कामकाजी प्राङ्गारिक जिल्ला बनाउन सकिन्छ ।’ यसो गर्न नसकिए दुर्गम क्षेत्रमा घोषणा गरिएका प्राङ्गारिक जिल्ला नाममै सिमित हुने उनलेब बताए ।

जुम्लामा अगार्निक जिल्ला र रैथाने बालीको संरक्षण गर्नेका लागि सबै अभियानकै रुपमा लाग्नु पर्ने देखिएको उनको भनाइ छ ।

प्राङ्गारिक जिल्ला बनाउ सबै किसानको हातमा मेसिनरी सामान र हरेक कृषकसंग वर्षमा २–३ टन कम्पोष्ट मल तयार गर्ने गरि सोही बमोजिमका पुँजीगत निर्माणमा सहुलियत दिनुपर्ने आवश्यक छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाइले भनिन्- ‘अबका दिनमा यो वर्गले मात्र कृषि उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउन सक्छ। तसर्थ, व्यवसायिक क्षेत्रहरुको पहिचान गरि समूचित मात्रामा रासायनिक मल र रासायनिक विषादी प्रयोग नगरी खेती गर्न प्रोत्साहन गर्ने खालका नीति तथा कार्यक्रम मात्रै भएर हुँदैन । यसको दिगो ब्यवस्थापनको लागी पनि अनुसन्धान गर्न आबश्यक छ ।’

प्राङ्गारिक मल र जैविक विषादीको उत्पादन भएको खण्डमा रासानियक बिसादीको प्रयोग न्यूनिकरण गर्न सकिने उनको भनाइ छ । ‘खेतीपाती गर्ने महिला मात्रै भएकाले महिलाको श्रमको विकल्पको रुपमा रासायनिक विषादी प्रयोग गर्ने गरिएको पाइयो’- उनले भनिन् ।

तातोपानीमा विषादी प्रतिबन्द

तातोपानी गाउँपालिकाले ब्युटाक्लोर भन्ने झारनाषक विषादी प्रयोगमा प्रतिबन्द लागाएको बताएको छ । तातोपानी गाउँपालिले ब्युटाक्लोर प्रयोगले महिलाको स्वाथ्यमा असरपार्ने भन्दै यसको प्रयोग प्रतिबन्ध गनएका लागी कार्यबिधि बनाएको गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताए । उनले भने, ‘यसले पार्ने दीर्घकालीन असरको बारेमा प्रशिक्षण दिँदै कोही कसैले प्रयोग गरेको भेटिएको खण्डमा १ हजार जरिवाना तोकिएको छ । रैथाने बालीको संरक्षण गर्न र विषादी रहित उत्पादन बढाउन हामी एकीकृत तरिकाले लागेका छौँ, अब जैविक मल र जैविक विषादी तयार पार्न पालिका लागि फरेको छ ।’

कर्णाली प्रदेश सरकारले प्रत्येक वर्षको फागुन ६ गतेलाई प्राङ्गारिक कृषि प्रवर्धन तथा रैथाने बाली संरक्षण दिवस मनाउँदै आएको छ । जसअन्तरगत सर्वोदय नेपालको समन्वय र कृषि विकास कार्यालयको आयोजनामा जुम्लामा कृषिको आधार तयार गर्दै रैथानी बालीको संरक्षण गरौँ भन्ने मुल नाराका साथ यो दिवस मनाइएको छ । जुम्ला जिल्लालाई २०६४ सालबाट प्राङ्गारिक जिल्ला भनेर घोषणा गरिएकाले सबै लागेर उत्पादन बढाउन आवश्यक रहेको सर्वोदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमल खत्रीले बताए । युवाहरुलाई कृषिमा यो तरिकाले आकर्षण गर्न सकेको खण्डमा जुम्ला आत्मनिर्भर हुने उनले बताए ।