तुलसीपुरका इँटा उद्योगमा बालश्रमिक

तुलसीपुरका इँटा उद्योगमा बालश्रमिक


दाङ तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ । उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा बालश्रमिक रहेको पाइएको हो । बेस संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको तथ्याङ्क सङ्कलनअनुसार ३४८ बालबालिका श्रममा रहेको खुलेको हो ।

बेस संस्थाका कार्यक्रम अधिकृत पिङ्की चौधरीका अनुसार तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका १७ वटामध्ये १५ इँटा उद्योगमा गरिएको अध्ययनले १८० बालक, १६८ बालिकालाई श्रममा लगाइएको देखाएको छ । संस्थाले उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा अनुगमन गर्दा, सुक्ष्मरूपमा त्यहाँको अवस्था पनि हेर्दा त्यहाँ धेरै बालबालिका श्रमिक रहेको पाइएको उनको भनाइ छ ।

अहिले इँटा उद्योगमा बालश्रमिक राखेको तथ्याङ्क सार्वजनिक गरेर उनीहरुलाई उद्धार गर्न सङ्घसंस्थाले चासो देखाएका छन् । उपमहानगरपालिकाले उद्योगमा बालश्रमिक राख्न नपाउने नीति–निर्माण भइसकेको र कार्यान्वयनको चरणमा रहेको सामाजिक विकास समिति संयोजक कुमार लामिछानेले जानकारी दिए ।

तर दाङ देउखुरी इँटा उद्योग व्यवसायी समितिका अध्यक्ष प्रेमनाथ योगीले भने अहिले इँटा उद्योगमा काम गर्ने बालबालिकाहरू नभइ आश्रित परिवारका रहेको जिकिर गरेका छन् ।