कांग्रेस महामन्त्री विश्वप्रकाश भन्छन्- ‘२० वर्षपछि एमसीसी राष्ट्रिय आम्दानीको दर्बिलो स्रोत बन्नेछ’

कांग्रेस महामन्त्री विश्वप्रकाश भन्छन्- ‘२० वर्षपछि एमसीसी राष्ट्रिय आम्दानीको दर्बिलो स्रोत बन्नेछ’


file ohoto

नबुझी प्रदर्शन नगर्न आग्रह

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे नबुझी विरोधमा नउत्रन आग्रह गरेका छन् । झापाको विर्तामोडमा सिके प्रसाईंको २८औँ स्मृति दिवसमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारमा हुँदा होस् वा नहुँदा पनि एमसिसीबारे स्पस्ट धारणा राख्दै आएको जिकिर गरे ।

सिके चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एमसीसीलाई अहिले राष्ट्रघातको रूपमा हेरिए पनि २० वर्षपछि राष्ट्रिय आम्दानीको दर्बिलो स्रोत हुने दाबी गर्दै शर्माले भने, ‘एमसीसीको सहयोगबाट बिजुली उत्पादन र ट्रान्समिसन लाइन बन्ने हो । ट्रान्समिसन लाइनबाट भारतलाई बिजुली बेच्ने हो । तसर्थ भारतको समर्थन खोजिएको हो ।’

उनले नेपाल चीन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने भन्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताए । सैन्य रणनीतिबाहेकका सबै मुलुकको सहयोग स्वीकार गर्ने उनको धारणा थियो ।

‘बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निवेदन हालेर एमसीसीको प्रक्रिया अघि बढेको हो, प्रक्रिया अघि बढाउँदा भीम रावल र नारायणकाजी श्रेष्ठ पनि सरकारमा थिए । अहिले त्यसको विरोध किन ? रावल र श्रेष्ठलाई म चुनौती दिन चाहन्छु, तपाईंहरू सरकारमा हुँदा प्रक्रिया अघि नबढेको भए म पद त्याग्न तयार छु, तपाईंहरू तयार हुनुहुन्छ ?’- शर्माले चुनौती दिँदै भने ।