जापानले प्रवेशमा सबैलाई समान अवसर दिने

जापानले प्रवेशमा सबैलाई समान अवसर दिने


  • टोकियो प्रतिनिधि

जापानले मार्च १ तारिखदेखि सीमा खुकुलो पार्ने निर्णय गरेसँगै प्रवेशमा सबैलाई समान अवसर दिने भएको छ । विदेशी विद्यार्थी, व्यवसायी र कामदारका लागि सीमा खुकुलो बनाउने घोषणा गरेको जापानले प्रवेशमा सबैलाई समान अवसर दिने भएको हो ।

जापान आउन भिसा स्वीकृत भए पनि आउन नपाएर अड्किएका विदेशी विद्यार्थीहरूको सङ्ख्या १ लाख ५० हजार हाराहारीमा छ । महिनौँदेखि सीमा खुलाउन विद्यार्थीहरू मात्रै नभएर शैक्षिक संघसंस्थाहरुले समेत अनुरोध, नाराबाजी र प्रदर्शन गर्दै आएका थिए ।

विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर प्रवेश गराउनुपर्ने माग चर्किरहेकै समयमा शिक्षा मन्त्री शिनसुके सुमासुले भने प्रवेश गर्न चाहने सबैलाई समान नजरले हेर्नुपर्ने भन्दै विद्यार्थीलाई मात्रै त्यस्तो गर्न नसकिने बताएका छन् । हालसम्म जापानले करिब ६ लाख २६ हजार विदेशीको भिसा स्वीकृत गरिसकेको छ । तर सीमामा लगाइएको प्रतिबन्धका कारण यीमध्ये एक तिहाइ मात्रै जापान आउन पाएका छन् ।

प्रधानमन्त्री फुमिओ किशिदाले मार्च १ देखि नै लागु हुने गरी सरकारले हाल ३ हजार ५०० रहेको दैनिक आगन्तुकको सङ्ख्यामा लगाएको सीमा पनि बढाएर ५ हजारमा पुर्‍याउने निर्णय गरेको छ । यसमा विदेशी विद्यार्थीहरूलाई मात्रै नभएर व्यवसायी र प्राविधिक प्रशिक्षार्थीहरूलाई समेत समावेश गरिनेछ ।