गुणस्तरहीन सगरमाथा सिमेन्टका कारण बिजुलीप्रसादको बिचल्ली

गुणस्तरहीन सगरमाथा सिमेन्टका कारण बिजुलीप्रसादको बिचल्ली


दुई पटक ढलान गर्दा पनि छत सेट भएन

एकपटकको ढलान पूरै भत्काएर फेरि अर्कोपटक घर ढलान गर्दा पनि घरको छत सेट नभएपछि तुलसीपुर उपमहानगरपालिका-११ उरहरी ठूला गाउँका ५० वर्षीय बिजुली चौधरी यतिखेर तनावमा छन् । ३२ फिट चौडाइ र लम्बाइ साढे ३५ फिटको चार कोठे भवन मंसिरदेखि निर्माण थालेका चौधरीले पहिलोपटक २५ पुसमा घरको छत ढलान गरेको बताए । दाङको घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा पिपिसी गोल्ड सिमेन्ट प्रयोग गरी उनले घर निर्माण गरिरहेका छन् ।

गुणस्तरहीन सिमेन्टकै कारण २३-२४ दिनसम्म पनि छत ढलान सेट नभई फुसफुस उक्किन थालेपछि चौधरीले हार्डवेयर कम्पनीलाई खबर गरेको बताए । प्रतिबोरा ५१० मूल्यमा उरहरी गाउँकै जैसी हार्डवेयरबाट सगरमाथा पिपीसी गोल्ड सिमेन्ट किनेको उनले बताए । हार्डवेयर सञ्चालक नन्दलाल जैसीलाई उनले छत सेट नभएको कुरा अवगत गराए । जैसी गएर अवलोकन गरे । छत हेरेपछि उनले घोराहीस्थित सगरमाथा सिमेन्टमा फोन सम्पर्क गरे । कम्पनीका कर्मचारी अमर सुवेदीलगायतका मानिस आएर अवलोकन गरे ।

कम्पनीका कर्मचारीहरूले अवलोकन गर्दा सिमेन्टमा खराबी देखिएको स्वीकार गर्दै छत भत्काउन आग्रह गरे । चौधरी परिवारले कम्पनीको आग्रहअनुसार पूरै छत भत्कायो । छतभन्दा माथि पिलरहरु उठाइसकिएको थियो । माथि झ्यालढोका पनि राखिसकेका थिए । ती सबै भत्काए ।कम्पनीका प्रतिनिधिले भत्काउँदा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने वाचा गरेका थिए । वाचाअनुसार कम्पनीले छत ढलानका लागि आवश्यक पर्ने एक सय बोरा सिमेन्ट चौधरी परिवारलाई उपलब्ध गरायो ।

तर, सर्तअनुसार मिक्स्चर, बालुवा, गिट्टी, मिस्त्री र लेबर भने कम्पनीले उपलब्ध गराएन । ‘मिक्स्चर माग्दा रोल्पा गएको छ, अझैं हप्ता दिन पर्खिनुस् कि आफै काम गर्नुस् भन्ने कुरा भएपछि हामी आफ्नै खर्चमा भत्काउन बाध्य भयौं,’ बिजुली चौधरीले भने, ‘बालुवा गिट्टी पनि कम्पनीबाटै पठाइदिने भन्ने थियो, त्यो पनि पछि आफैंले किनेर ल्याउनु पर्‍यो । गुणस्तरहीन सिमेन्टका कारण हामी डबल खर्चमा पर्‍यौं ।’

चौधरीले परिवारले चारजना मिस्त्री, चारजना लेबर र दुईजना घरकै मानिसले काममा खटिएर घर निर्माणको काम गर्दै आएको बताए । ‘पूरै ढलान भत्काउन मात्रै हामीलाई चार पाँच दिन लाग्यो,’ बिजुलीले भने ‘तैपनि ठिकै छ एक सय बोरा सिमेन्ट त निस्शुल्क पाएका छौं भनेर फेरि काम गरेका थियौ, तर अहिले फेरि त्यस्तै गुणस्तरहीन सिमेन्ट पठाएर हाम्रो ज्यानमाथि खेलवाड भयो ।’

बिजुलीका अनुसार ३ फागुनमा फेरि सगरमाथा सिमेन्ट कम्पनीबाटै राम्रो सिमेन्ट भनेर निस्शुल्क पठाइदिएको एक सय बोरा सिमेन्ट प्रयोग गरी चौधरीले दोस्रोपटक घर ढलान गरे । तर, फेरि ढलान गरेको छतको अवस्था त्यस्तै फुस फुसाउने भयो । ढलान सेट नै भएन । बिजुली चौधरीका अनुसार कम्पनीकै मानिसको सल्लाहअनुसार उनीहरूले बालुवा, गिट्टी सबै क्रेसरकै प्रयोग गरेका थिए । तैपनि अवस्था उस्तै भयो र फेरि हार्ववेयर सञ्चालक जैसीलाई छत सेट नभएको खबर गरे । जैसी फेरि हेर्न गए । फेरि उस्तै अवस्था देखेपछि जैसीले सगरमाथा सिमेन्ट कम्पनीका कर्मचारीलाई चौधरीको घरको छत फेरि पनि ढलान नभएको खबर गरे ।

५ फागुनमा फेरि कम्पनीका इञ्जिनियरलगायतका कर्मचारीको टोली अनुगमनमा आयो । छतको अवस्था नियाल्ना साथ उनीहरूले फेरि पनि केमिकल मिसावटमा समस्या भएको सिमेन्ट परेको भन्दै घोराहीस्थित कम्पनीमा सरसल्लाहका लागि आउन चौधरीलाई निम्तो दिएर गए ।

‘उहाँहरूले कम्पनीबाट फोन गरी सरसल्लाहका लागि तपाईलाई बोलाउँछौं नआत्तिनु होला । फेरि घर हामी पूरै बनाइदिन्छौं भनेर फर्किनुभएको हो,’ चौधरीले भने, ‘तर अहिलेसम्म पनि कम्पनीबाट हामीलाई फोन आएन । हामी गुणस्तरहीन सिमेन्टकै कारण अन्यायमा परेका छौं । न्याय कहाँबाट पाउने रु’ घरको छत ढलान सेट नभएपछि दुईपटक छत तोडफोड गर्दा घर बनाउने सपना तुहिने हो कि भन्ने चिन्ता भएको चौधरीले बताए ।

बिजुलीका जेठा छोरा एकराज रोजगारीको सिलसिलामा जापानमा छन् । कान्छा छोरा प्रकाश गाउँघरमै ट्रयाक्टर चलाउँछन् । यी दुई छोराले रातदिन मेहनत गरी आर्जन गरेको पैसाले पक्की घर बनाउने आँट आएको बिजुलीले बताए । जापानबाट छोरा एकराजले अब जगैदेखि घर भत्काएर फाल्न र सगरमाथा सिमेन्ट प्रयोग नगर्न आग्रह गरिरहेको बिजुलीप्रसादले बताए । नयाँ पक्की घर हाल्ने र त्यसमै बस्ने सपना संगालेका चौधरी परिवार यतिखेर अन्योलमा परेको छ ।

कान्छा छोरा प्रकाश चौधरीका अनुसार हालसम्म घरमा करिब ३० लाख बढी खर्च भइसकेको छ । सगरमाथा सिमेन्टकै कारण दाजु र आफ्नो दुःख-पसिना सबै खेर जाने अवस्था आएको भन्दै उनले आक्रोश पोखे । अहिलेसम्म लागेको सम्पूर्ण खर्च कम्पनीबाटै उपलब्ध हुनुपर्ने उनले माग गरे ।

हार्डवेयर सञ्चालक जैसीले ५ फागुनमा पुनः कम्पनीबाट इञ्जिनियरसहितको टोली अनुगमन गरेर फर्किएको जानकारी दिए । ‘मसँग उहाँहरूले केमिकल मिसावटमा समस्या भएको स्वीकार गर्नुभएको थियो,’ जैसीले भने, ‘कम्पनीले पीडित चौधरी परिववारलाई बोलाएर छलफल गर्ने मैले खबर पाएको छु ।’ कम्पनीका अमर सुवेदीले यसबारे प्रतिक्रिया दिन चाहेनन् ।

यसअघि गत असोजमा सगरमाथा सिमेन्ट प्रयोग गरेका घरहरूमा समस्या देखिएपछि पुनः भत्काएर निर्माण गरिएको थियो । तुलसीपुर(७ रानी जरुवाका ६६ वर्षीय पूर्णबहादुर थापा र तुलसीपुर-८ टिकरीका राजेश बिकले गुणस्तरहीन सिमेन्टका कारण ढलान नै सेट नभएपछि पुनः भत्काएर घर निर्माण गरेका थिए । उनीहरूलाई सगरमाथा सिमेन्टले कमजोरी स्वीकार गर्दै क्षतिपूर्ति उपलब्ध गराएको थियो ।

त्यस्तै तुलसीपुरमा निर्माण हुन थालेको एक पुलमा समेत सगरमाथा सिमेन्ट प्रयोग गरेकाले यस्तै समस्या भएको छ । एक निर्माण व्यवसायीका अनुसार एक पटक लगाएका वाल भत्काउनु परेको छ भने पिलरसमेत फोडेर नयाँ बनाउनुपर्ने अवस्था रहेको छ । उनले कम्पनीले त्यो निरीक्षणसमेत गरेर गइसकेको बताए । उनले सिमेन्टकै कारण खर्च भएको र काममा समेत अविश्वास बढ्ने अवस्था रहेको बताए । पटक पटक त्यस्तै समस्या देखिन थालेपछि सर्वसाधारणले सगरमाथा सिमेन्टको गुणस्तरमै प्रश्न उठाउन थालेका छन् ।