नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्याक्ट (एमसीसी)का विषयमा संसदमा मतदान गर्न सत्तारुढ दलहरुबीच सहमति नभएको बताएका छन् ।
सोमबार बत्तीसपुलतीस्थित अनुपम फुडल्यान्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हालसम्म एमसीसी संसदमा टेबल गर्न मात्र दलहरुबीच सहमति भएको स्पष्ट पारे ।
‘एमसीसी संसदमा टेबुल गर्ने सहमति भएको हो, संसदमा मत दिने विषयमा सांसद र दलहरुसँग सहमति भएको छैन,’ कांग्रेस प्रवक्ता महतले भने ।
एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्दै डा. महतले एमसीसीको सन्दर्भमा झुटको पर्दाफास भएको र सदनमा पास हुने जिकिर गरे । कांग्रेसले सत्तामा हुँदा एउटा र सत्तामा नहुँदा कांग्रेसले अर्को नबोल्ने महतको भनाइ थियो ।
उनले राजनीतिक स्वार्थका आधारमा एमसीसीको गलत प्रचार गरिएको दाबी पनि गरे । कांग्रेस सबैलाई एक साथ लिएर संसदबाट एमसीसी अनुमोदन गराउन केन्द्रित रहेको पनि बताए ।
एमसीसीलाई विवादित बनाउनु दुःखद भएको उल्लेख गर्दै उनले एउटै मापदण्डको आधारमा बिदेशी सहयोग लिने नीति बनाउनु पर्नेसमेत जनाए ।
ढिलो भए पनि दलहरूको सहमतिमा एमसीसी सदनमा टेबुल भएकोमा उनले सन्तोष प्रकट गरे । उनले गुण र दोषका आधारमा गठबन्धन टिक्ने बताउँदै भने, ‘टेबुल गर्न जस्तै अनुमोदन गर्न पनि सत्ता गठबन्धनले सहयोग गर्ने विश्वास छ ।’
एमसीसीलाई अन्य मुद्दासँग जोडेर राजनीति नगर्न उनले सम्बन्धित सबैलाई आग्रह गरे ।
प्रतिक्रिया