कसैले बोक्दा ‘बोकिने’ र छोड्दा ‘छोडिने’ होइन राजसंस्था !

कसैले बोक्दा ‘बोकिने’ र छोड्दा ‘छोडिने’ होइन राजसंस्था !


जबसम्म सडकबाट आव्हान गरिँदैन तबसम्म राजा फर्कन्छन् भनेर कोही नतर्सिए हुन्छ, वा कोही खुशी पनि नभए हुन्छ । त्यसैले राजालाई फर्कन राष्ट्रिय मान्यता पनि गुमाएको दलभित्र कसैलाई उचाल्ने वा पछार्ने गर्नुपर्ने आवश्यकता छैन । झण्डै डेढ दशकमा पनि नेतृत्व सावित गर्न नसकेर कार्यकर्ताले नपत्याएका पात्रले छोड्दा छोडिने र बोक्दा बोकिने संस्था हैन राजसंस्था ।
  • स्वयम्भूनाथ कार्की

नेपाली जनतालाई एक गज्जबको नशाले गाँजेको छ । विदेशमा स्थायी वा अस्थाई बसोबास गर्नेहरूमा यो नशा धेरै चढेको छ । त्यसको देखासिकीले नेपालमा बसेकालाई पनि यसले आक्रान्त तुल्याउँदै छ । अरु बेलामा नेता र दलहरूको उछित्तो काढ्ने तर जब त्यही दल वा नेताको कुनै कार्यक्रम आयोजना हुन्छ त्यहाँ हात जोडेर हाजिरी बजाउने यो अनौठो रोग हो । अलि-अलि मान्छे जम्मा भएर सङ्गठनमाथि संगठन खोल्ने ! त्यसलाई प्रचारमा ल्याउन खेल आयोजन, खाना वितरण, दाउरा वितरण आदि तमासा गर्ने ! अनि राजाको विरोध र समर्थनमा गफ हाँकेर बुद्धिजीवी कहलाउने प्रयत्न गर्ने !

वर्तमानमा नेपाल साह्रै कठिन अवस्थामा छ, आफूमा नेपाली मन र मुटु भएको ठान्ने सबैको यसमा चासो हुनु स्वाभाविक नै हो । तर, के यस्ता अर्थ न बर्थका कामले नेपालको कठिन अवस्थामा सुधार हुन्छ त ? अझ त्योभन्दा ठूलो प्रश्न त के नेपालको वर्तमान स्थितिको निमित्त राजा, राजनैतिक दल वा नेता मात्र जिम्मेवार हुन् त ? जनताले केही भुल गरेकै छैनन् त ? ‘राजा आउ देश बचाउ’ भनेर राजाको सामुन्ने नारा लगाउने लाउकेहरू हुन् वा ‘राजा भनेको सामन्तवादका अवशेष हुन्’ भन्ने फतौरे हुन्- उनीहरूको भन्दा ठूलो गल्ती ती जनताको छ जो यस्ताको हो-हो अरे…मा कुद्ने गर्दछन् ।

आफूलाई उचित लागेको जुन कुरा मान्न पनि जनता हमेशा स्वतन्त्र थियो र छ पनि । तर केही सोचविचार नै नगरी जो आए पनि त्यसैको पछि झुण्ड लगाएर कुद्ने जनताले दु:ख नपाए कसले पाउने ? मतदान सकेर बाहिर निस्कने वित्तिकैदेखि आफूले मत दिएर आएको नेतालाई तथानाम गर्न शुरु गर्ने ! अर्कोपल्ट मतदान गर्न जाँदासम्म यो कायम राख्ने ! मत दिने मिनेटमा भने फेरि त्यसैलाई दिने काम पाखण्ड हो कि आफ्नो स्वतन्त्रता आफैंले बन्धकी राखेर स्विकारेको दासता ? संसद् विकास कोषबाट सहायता पाउने आशामा गरिएको संसद्को चरणवन्दनालाई कुन श्रेणीमा राख्ने ?

नेता र दलको चरणवन्दनालाई लोकतन्त्र, स्वतन्त्रता, अग्रगमन सम्झनेहरूकै कारणले मुलुकको आज यो बेहाल भएको हो । यसो गर्ने नेता वा दल हैनन् जनता नै हुन्, अनि आफूले कर्तव्यको स्थानमा अकर्तव्य गरेर अरुलाई गाली गर्नुको कुनै अर्थ छैन । विदेशमा बसेर नेपालको विषयमा टिप्पणी गर्नु अनुचित त हैन तर अधुरो जानकारीको भरमा, सत्यभन्दा हल्लाको व्यापार गर्ने अनलाइन समाचारहरूको आधारमा टीकाटिप्पणी गर्नु अपराध नै हो । विदेशमा स्थाइ वा अस्थाइ वसेकाहरूले आफूलाई नेपालमा बसेका भन्दा श्रेष्ठ ठान्नु अनुचित हो ।

पुर्खाको परम्परा धान्न राजाले भने- मैले नेपालको घरबार त्यागेको छैन, आधारको भार त्यागेको छैन ! यसको अर्थ उनी गद्दीमा फर्कन लालायित छन् भन्ने बिल्कुलै होइन । उनबाट त्यस्तो प्रयत्न पनि हुने छैन । कारण पनि त्यही सन्देशमा स्पष्ट छ, जनताले कसबाट के भूमिका खोजेको त्यो स्पष्ट गरिनु पर्दछ !

कारण चाहे जे होस् उनीहरू नेपालभित्रको राप र ताप खप्न नसकेर यो भन्दा सहज जीवन वा मौकाको खोजीमा बाहिरिएका हुन् । नेपालमै रही यहाँको हालतसँग लडेर बस्नेहरूभन्दा उनीहरू योग्य हुन सक्दैनन् । यो चुनौती पनि हो, स्विकार भए विदेश छोडेर नेपाल फर्केर दुई-चार वर्ष यहाँको परिस्थितिसँग पौँठाजोरी खेलेर देखाए हुन्छ । नेपालको हालत सुधार्न नेपालभित्र बसेकाहरूले पुऱ्याएको योगदानको सयकडा दस पनि योगदान पुऱ्याउन सक्दैनन् । अति नै गरे आफ्नो आस्थाको दलको निमित्त कोषको व्यवस्था गर्लान् वा आफ्ना नेता आए तिनीहरूको स्वागत गर्लान् ।

कोही ‘राजा फर्कन बल गर्दैछन्’ भन्ने हल्ला उडाउन तल्लिन छन् । यसै हल्लाको आधारमा अनेकौँ अड्कल र समाचारको नाममा कल्पनाको उडानको व्यापार राम्रै फष्टाएको छ । उनले किन फर्कन प्रयत्न गर्ने ? के उनले जनतालाई शान्ति र सुव्यवस्था दिन गरेको प्रयत्नको मुल्याङ्कन गरियो त ? बरु त्यसको स्थानमा अनेकौँ किसिमका फत्तुर र आधारहीन आरोप लगाइयो । आधारहीन भन्ने प्रष्ट कारण छ, दशकभन्दा ज्यादा समयदेखि आफूलाई लगाएको आरोप सावित गर्न चुनौती दिँदै गद्दी छोडेर बसेका उनलाई लगाइएको कुनै आरोप सावित भएन ।

हो, पुर्खाको परम्परा धान्न राजाले भने- मैले नेपालको घरबार त्यागेको छैन, आधारको भार त्यागेको छैन ! यसको अर्थ उनी गद्दीमा फर्कन लालायित छन् भन्ने बिल्कुलै होइन । उनबाट त्यस्तो प्रयत्न पनि हुने छैन । कारण पनि त्यही सन्देशमा स्पष्ट छ, जनताले कसबाट के भूमिका खोजेको त्यो स्पष्ट गरिनु पर्दछ ! सडकमा उत्रेका जनताले पाखा लगाएको भनेर भनिन्छ, त्यसैले उनको भूमिकाको अपेक्षा गरिएको हो भने त्यो पनि सडकबाटै भन्नु पर्दछ । जबसम्म सडकबाट आव्हान गरिँदैन तबसम्म उनी फर्कन्छन् भनेर कोही नतर्सिए हुन्छ, वा कोही खुशी पनि नभए हुन्छ । त्यसैले राजालाई फर्कन राष्ट्रिय मान्यता पनि गुमाएको दलभित्र कसैलाई उचाल्ने वा पछार्ने गर्नुपर्ने आवश्यकता छैन । झण्डै डेढ दशकमा पनि नेतृत्व सावित गर्न नसकेर कार्यकर्ताले नपत्याएका पात्रले छोड्दा छोडिने र बोक्दा बोकिने संस्था हैन राजसंस्था ।